Poem – Ughrera Bigreko Bihan

रोई रात, किटेर दन्त, पगली, झाँक्रो फिँजारी, झरी,
आत्मा तुल्य स्वदेशकी, दुःख परी, क्रन्दी, पुकारा गरी,
धच्की द्धार समस्त न्यायमुखरी घुँक्की, हुरी भै उडी
आयो क्रान्तिपछाडि शान्तिसरिको यौटा बिहानी घडी !
दुष्ट स्वप्न विनष्ट भो, तिमिर गो, गो काठिने शासन !
धोएको छ हवा, तथापि धनको यो व्योममा आसन !
टुक्रा धूर्त भए, वरिपरि रहे, चाँदी बनी फूलिए !
चूली–चञ्चल–हात बाल रविको पीछा गरी डम्मिए !
यौटा घोष भयो सुवर्ण–स्वरको उत्तुङ्ग है श्रृङ्गमा !
तान्थी जागृति आँग भूमितलमा, न्यानो पसी अङ्गमा !
बोले पङ्ख उडेर अल्प हुन गो आनन्द सारा तर !
छोप्यो बादलले, चिसो जगत भो, आगो निभ्यो सुन्दर !
रोगी हुन्छ बिहान, दुर्बल तथा रुन्चे, निकम्बा अब !
आँधी हो कि कराउने ? विफल भो विस्फोटको, गौरव !
काँपी थुर्थुरि घाम भाग्छु दुनियाँ आशा टुसैमा मरी !
आगो बाल्नुप¥यो घरैघर बसी, को खप्छ यो थुर्थुरी !