Shrawan Mukarung – Surya Grahan

तिम्रो सिउँदो भर्न मैले
यसरी हत्केला चिरेजस्तै
पृथिवीको सिउँदो भर्न
सूर्य–
आकाश चिर्दै–चिर्दै आउने गर्छ

यसरी निधारै भरिएर रगत
तिम्रो पाउभरि खसेजस्तै
हिउँखोलाहरू
नदी हुँदै–
समुद्रमा खस्ने गर्छन्

मेरो छातीको सिरानी लगाएर तिमी–मैले
अनेक सपना देखेजस्तै
या मन्दिर छोएर हर्षले बरबरी रोएजस्तै
सूर्य कति रोयो होला–
सूर्यग्रहणमा….।
तर, एक्कासि तिमीले झैँ पृथिवीले
सूर्यलाई छोडेर गयो– दुःखमा !
अहिले पृथिवीको सिउँदो भर्न
चन्द्रमा आकाश चिर्दै–चिर्दै आइरहेछ
मसित त न चक्कु छ न त्रिशूल !