Katha Dada Ko – Kamal Dixit

कमल दीक्षित – कथा दादाको
( हिमाल खबरपत्रिका)

‘दादा’ को पनि एउटा कथा छ । तर यो कथा– किस्सा कहानी होइन, विस्थापित या स्थापित हुँदाको व्यथा हो । एकैसासमा विस्थापित र स्थापित भएको भन्न पाइन्छ ? पाइने देखेँ मैले यही दादाको कथा हाल्दा । नेपालीमा दादा शब्द छ कि छैन ? भए कताबाट आयो ? कि कतैबाट नआएको रैथाने शब्द हो यो ? खोजिपस्ने काम विद्वान्हरूको हो । यहाँ त कुरा उप्काइदिएको मात्र हो, बसिबियाँलो । भए पनि; कुरा उप्काएपछि अलि बाटो पनि लगाइदिनुपर्छ, नत्र कसैले चाख लिँदैनन् । त्यसैले म अलिकति छामछाम छुमछुम गर्दैछु यस विषयमा ।

पुरानो नेपाली साहित्यमा त दादा शब्द प्रचलनमा आएको देखिएन; तर बोलीचोलीमा यो शब्द चल्थ्यो– १९८२ साल या त्यसको अलिपछिसम्म । नेपालमा करियाप्रथा उन्मूलन नहुञ्जेल, अर्थात् कमाराकमारीको किनबेच हुन नछाडुञ्जेल दादा शब्दलाई नेपाली भाषाले पचाएको थियो । घरमा पैलादेखि बसेका या आफूभन्दा जेठा कमाराहरूलाई मालिकहरूले दादा भन्थे– नाम जोडेर या नजोडीकनै । करियाप्रथा अन्त्य भएपछि यो शब्द पनि विलायो । विस्थापित भयो । तर फेरि यो स्थापित भयो अलिपछि, नेपालमा हिन्दी सिनेमा चल्न थालेपछि । पहिले पहिले त यसको स्वरुप राम्रै थियो– बाजे, हजुरबाको अर्थमा चलुन्जेल । पछि त्यही हिन्दी सिनेमामा बम्बईको प्रभाव परेर ‘दादा’ ले टोलको हुल्याहा, बद्मास, गुण्डा जनाउन थाल्यो । त्यसले शब्दको नै अवमूल्यन ग¥यो ।

यो म किन भन्न सक्छु भने– सन् १९१६ मा छापिएको बृहत् हिन्दी शब्दकोशमा ‘दादा’ शब्दको अर्थ– पितामह (भन्नाले बाजे) मात्र दिएको छ, गुण्डा या बद्मास दिएको छैन । पछिका कोशमा यी अर्थ पनि छन् । हिन्दीमा भन्दा बङ्गाली भाषामा ‘दादा’ शब्द बढी प्रचलित छ । त्यहाँ मुख्यतः दादा भन्ने शब्दले दाइ या दाजुलाई जनाउँछ । तर अचम्म लाग्छ बङ्गाली शब्दकोशमा दादा शब्दको “पितामह, मातामह, जेष्ठभ्राता” बाहेक “कनिष्ट भ्राता, पौत्र दौहित्र प्रभृति” लाई “स्नेह सम्बोधन” को समेत अर्थ दिइएको छ । अर्थात् के भने बङ्गाली भाषामा जल्लाई पनि आदर या माया गरेर “दादा” भन्न सकिने रहेछ । यस्तो मीठो शब्द पश्चिम भारत (बम्बईतिर) पुग्दा गुण्डा, बद्मास या मसहुर हुल्याहाको भागमा कसरी प¥यो, बुझन सकिँदैन । त्यतापट्टि नलागी हामी चाहिँ नेपाली ‘दादा’ तिरै फर्कूँ । नेपालमा पहिले छापिएको (१९९८) चक्रपाणि चालिसेको ‘नेपाली बगली कोश’मा दादा शब्द छैन । तर, त्यसभन्दा झ्ण्डै दश वर्षअघि छापिएको टर्नरको नेपाली डिक्स्नेरीमा भने यो शब्दको प्रविष्टि छ । अर्थ उही छ, कमाराका लागिको आदरार्थी शब्द । अनि पछिबाट दाजु भन्ने अर्थ पनि दिइएको छ, त्यहाँ । दादा त भयो नै, टर्नरले दादी पनि दिएका छन् । अर्थ छ, “ओल्ड स्लेभ उमन” (बूढी कमारी) । बालचन्द्र शर्माले पनि दादालाई प्रवेश गराएका छन् आफ्नो कोशमा, अर्थ दिइएको छ, “दाइ, दाजु (बालबोलीमा); कमाराका लागि आदरार्थी शब्द” भन्ने ।

नेपाली बृहत् शब्दकोश (प्रज्ञा–प्रतिष्ठान) ले पनि दादालाई छाड्न सकेन । अर्थ उही दियो तर ‘दादागिरी’ भन्ने शब्द थपेर जसलाई बलप्रयोग गर्ने बद्माससँग जोडिदिएको छ । प्रज्ञाले दाइ पनि दादा पनि दुवैलाई संस्कृतको ‘दायाद’ (अंशियार) ले जन्माएको भनेको छ । महानन्द सापकोटाले पनि यी दुई शब्दलाई ‘दायाद’ कै सन्तान मानेका छन् । तर दाजु, दाइ, दाजीलाई माने पनि दादालाई उनले आफ्नो ‘नेपाली शब्द परिचय’ (२०३४) मा भिœयाएका छैनन् । समुद्रपारका नेपाली विद्वान् फादर विल्यम बर्कले आफ्नो ‘सही शब्द’ (१९९४ ई.) (पर्यायवाची शब्दकोश) मा दाज्युको दाइ, दाज्यैका साथ दादालाई पनि पर्यायवाची मानेर हालेका छन् । नेपालीमा दाजु र दाजी सँगसँगै भेटिन्छन् । तर नेपाली घरहरूमा ‘दाजी’ भन्ने शब्द अचेल उति सुनिँदैन । केही कालअघिसम्म नेपाली अभिजात्य वर्ग (राणा, शाह) हरूमा चल्थ्यो यो शब्द । उनीहरू दाजुलाई दाजी भन्थे, सर्वसाधारणले दाइ भने जस्तो । त्यो दाजी दाइजीको अपभ्रंश हो कि भन्नलाई आर.डी. चटौतको ‘डोट्याली शब्दकोश’ले बाटो छेक्छ । भन्छ, डोटीमा दाजी, दाजि, त्यहाँ पैलेदेखि नै चलेको हो रे !

दाजिलाई छाडेर हामी फेरि दादामै आऊँ । दादा बङ्गालीमा बढी चलेको छ, भनियो माथि । त्यसो हो भने त्यहाँ (कोशमा) यसका व्युत्पत्तिमा के दिएको रहेछ भनेर हेरेँ मैले । सन् १९४० भन्दा पहिले आशुतोष देवले निकालेको ‘नूतन बाङ्ला अभिधान’ भन्ने कोश छ । त्यहाँ दादाको तल ‘फार्सी’ भनेर लेखिएको छ । त्यसको माने उनका हिसाबले ‘दादा’ शब्द फार्सीबाट आएको हो भन्ने भयो । फार्सीमा आफ्नो गति नभएकाले मैले फार्सीको सन्तान उर्दूको लुगात (कोश) पल्टाएँ । तर उर्दूमा दादा भन्ने शब्द नै छैन ! हिन्दीमा छ, यो शब्द उर्दूमा छैन भनेपछि हिन्दीमा यो कसरी आयो त भनी खोजी हेर्नु पर्यो मैले । काशी नागरी प्रचारिणी सभाले १९१६ ई.मा प्रकाशन गरेको (४ भाग भएको) ‘हिन्दी शब्दसागर’ मा सम्पादक श्यामसुन्दर दासले दादाको जन्म संस्कृतको ‘तात’ बाट भएको भनी मानेको देखियो । तर हामी यस्तो विद्वत्ताको झ्मेलामा नपसूँ । दादालाई हामीले राख्ने कि फाल्ने भन्ने मात्र हेरुँ ।

नेपालीमा हामी बाजेलाई दादा भन्दैनौँ । गुण्डासुण्डाका लागि पनि हामीसँग आफ्नै हुल्याहा शब्द छँदैछ, हिन्दी फिल्मका दादा हामीलाई किन चाहियो ? अब हाम्रामा कमारा या करिया पनि रहेनन्, माया गरेर हामीले दादालाई पाली राख्नाको औचित्य छैन । दाजुलाई दादा भन्दा रहेछौँ हामी कतै कतै तर अत्यल्प सङ्ख्यामा । भनेपछि हामीलाई दादा चाहिएन भनी घोषणा किन नगर्ने ? गर्न हुन्थ्यो । तर मलाई ड्याग पर्छ । मलाई रातो बङ्गला स्कूलका विद्यार्थी, गुरु, गुरुआमाहरू र निकै जना अभिभावकहरू समेत दादा या दादाजी भन्छन् । उनीहरूको भोक्याबुलरी (शब्दभण्डार) बाट यो शब्द झिकी दिने हो भने म कहाँ रहुँला ? त्यही द्विविधा भो !

यसलाई अलि अथ्र्याऔँ । म दादा नै कसरी भएँ त्यो भनूँ । हाम्रो घर पहिलेदेखि नै हिन्दी भन्दा बङ्गाली भाषाको नजिक थियो । त्यसैले बङ्गालीको सिको गरेर मेरा भाइबहिनीले मलाई दादा भने । काकाफुपूहरूले दादा भनेकाले मेरा छोराछोरी र दाजुभाइका छोराछोरीको पनि म दादा नै भएँ । हुँदाहुँदा बुहारीहरू, ज्वाईँहरू र नातिनातिना, भाञ्जाभाञ्जीको पनि म दादा हुनपुगेँ । यस्तैमा रातो बङ्गला स्कूल खुल्यो । म त्यहाँ शिक्षक भएँ । प्रिन्सिपलहरूले मलाई दादा भनेको सुनेर गुरुगुरुआमाले पनि नाम काढेर ‘कमल सर’ भन्न सकेनन् । बरु प्रिन्सिपल र डाइरेक्टरहरूले भन्ने दादामा ‘जी’ थपे उनीहरूले । अनि म दादाजी भएँ । यो दादाजीलाई अब म फाल्न सक्तिनँ । म त फाल्न सक्तिनँ यो ‘दादाजी’ भैहाल्यो । तर आमापट्टिको मामा न बाबुपट्टिको काका यो, नेपाली भाषाले फालिदिए हुन्न यो शब्द– ‘दादा’ ?

२०६१ असोज १८

कथा – सल्लेरी बजारको

सल्लेरीको माथितिर पातलो दमै बस्ती छ । १५–२० घर होलान् दमैहरू । बजार छेउछाउमा भने बाहुनहरूको बाक्लो बस्ती छ । सल्लेरी पुरानो बजार हैन । भर्खर विस्तार हुँदै गरेको बजार हो । विदेशी सहयोगमा मोटर बाटो खुलेपछि सल्लेरी गाउँले बजारको रूप लिएको हो । त्यसले सल्लेरी बजारको अनुहार नै फेरिदियो ।

बाटोको छेउतिर टक्राकटुक्रुक दोकान उभिए । बजार खुलेपछि नजिकैका बाहुनहरूले बाटोछेउ घर बनाउन थाले । बजारभन्दा केही माथि रहेका दमैहरूको घर–घडेरी बाटो छेउमा नपरेकाले उनीहरू जहाँकोत्यहीँ भए ।
पैसा हुने बाहुनहरूले बाटोछेउमा पिल्लर ठड्याउन थाले । पैसा नहुनेहरूले जसोतसो माटोकै भए पनि घर बनाउने सुर कसे ।

पण्डित हरिद्वारले पनि बाटोछेवैको घडेरीमा पिल्लरसहितको तीनतले घर उभ्याए । पण्डित हरिद्वारको खास नाम कृष्णप्रसाद हो । उनले हरिद्वारबाट आचार्य गरेका थिए । उनका हरेक गफमा हरिद्वारको कुरो आउँथ्यो । गफले दिक्क स्थानीयहरूले उनको नामै हरिद्वार राखिदिए । त्यसपछि सल्लेरी बजारमा उनको नाम हरिद्वारले प्रख्यात भयो ।

हरिद्वारका दाजु थिए । उनी बजारछेउ सरे पनि दाजुले पैसा कमाउन नसकेकाले जहाँको त्यहीँ बस्नुप¥यो । घर नभए पनि भाइको सँगै जोडिएको घडेरी थियो । अंश भागमा पाएको । खासमा पैसा भएको भए पनि भाइको घरछेउ उनलाई बस्ने मनै थिएन । अंश मुद्दामा ठाकठुक परेपछि बोलचाल बन्द भएको थियो ।

बोलचाल नभएको भाइको घरछेउको घडेरी राखिराख्न मन लागेन । भाइको मेख मार्नकै लागि बेचिदिए– कान्छो दमैलाई । चलनचल्तीको भन्दा झन्डै दोब्बर मूल्यमा । कान्छो दमै घडेरीको दोब्बर मूल्य तिर्नुपर्दा पनि दुःखी थिएन । खुसी थियो । उसलाई वरपरका बाहुनहरूले छिमेकमा दमै आउने भयो भनेर घडेरी नै दिँदैनथे । दाजुभाइको झगडाले गर्दा घडेरी पाएको उसलाई राम्रोसँग थाहा थियो ।

घडेरी किनेको छ महिनापछि कान्छो दमैले सटर राखेर एक तले पिल्लरवाला घर बनायो । बजारभरिमा सटर भएको पहिलो घर उसकै भयो । कान्छो दमै अरुभन्दा गरिखाने दमै थियो । साहै्र मेहनेती । हातमा सीप थियो, घरको सटरमा टेलर खोल्यो । आफ्नै घरको सटरमा टेलर खोलेपछि भने कान्छो दमैप्रति वरिपरिका बाहुनहरूले टाउको दुखाए– छिमेकमा अछुत जात आयो भनेर । सबैभन्दा बढी पण्डित हरिद्वारको टाउको रन्कियो । रिस फेर्न छिमेकमा अछुत दमै हुलेकोमा दाजुप्रति रिस देखाए । झिँगाको सरापले डिँगो मर्दैन भनेझैं दाजुले वास्तै गरेनन् ।
कान्छो दमैको टेलर भने खाली भएन । दिनहुँ व्यस्त भयो । घडेरी किनेपछि पटक–पटक ‘बाहुनको बीचमा बस्न सक्दैनस् बेच्’ भनेका थिए, पण्डित हरिद्वारले । बल्लबल्ल पाएको घडेरी बेचेन । अहिले टेलर चल्दा कान्छो मख्ख छ ।

० ० ०

पण्डित हरिद्वारकी जेठी छोरी माइतै बस्थी । उसको नाम थियो सावित्री । बिहे गरेको छ महिना नपुग्दै लोग्नेले छाडिदिएछ । पण्डितसँग रिस उठेकाहरूले उसको चरित्रमा शंका गर्थे । पण्डितसँग राम्रो भएकाहरूले केटो नै उस्तो भन्थे । खास के हो, अरु कसैलाई थाहा थिएन । कि सावित्रीलाई थाहा थियो कि दैवलाई । एक साँझ, सावित्री कुर्था सिलाउन कान्छो दमैको टेलरमा पुगी । कान्छो लुगा सिलाउँदै थियो । उठेर सावित्रीको चोलाको नाप लिन थाल्यो । कान्छोले पाखुराको लम्बाइको नाप लिएपछि कम्बरको नाप लियो । छातीको नाप लिने बेला सावित्रीले कान्छाको गाला चिमोटिदिई । कान्छो झसंग भयो र सावित्रीको अनुहारमा हे¥यो ।

कान्छोकी स्वास्नी त्यही दिन माइत गएकी थिई । के भन्ने कसो गर्ने, कान्छो आत्तियो । कुर्थाको नाप लिँदालिँदै रोकिएको कान्छोलाई च्याप्पै समाई सावित्रीले । कान्छो हल न चल भयो । गँगटोले च्यापेको माछाको भुराजस्तो । ऊ असिनपसिन भयो । के बोल्नु, के बोल्नु– अलमलियो । चाहेर पनि बोल्न सकेन । सावित्री भने हनहनी ज्वरो आएझैं तातेकी थिई । “छि ! छाडिदेऊ बजै !!” ओठ–मुख सुकेको कान्छो बल्लतल्ल बोल्न सक्यो । साँझ परेकाले कान्छाको टेलरभित्र अँध्यारो बढ्दै गएको थियो । घुर्मैलो उज्यालो थियो । पण्डित हरिद्वारले बाहिरैबाट देखेछन् । ढोकासम्म आएर ठम्याए । कुरो प्रस्ट भएपछि बाहिर निस्केर कराउन थाले ।
“गुहार ! गुहार !!”
“ए ! गुहार ! गुहार !!”
वरपरबाट दौडादौड गरेर केही मान्छे भेला भए । सल्लेरी बजार कान्छाको टेलरअगाडि जम्मा भयो । त्यतिबेलासम्म सावित्री टेलरबाट बाहिर निस्किसकेकी थिई । कान्छो भने डर र लाजले चाउरिएर भित्रको भित्रै थियो । जम्मा भएकाहरूलाई पण्डितले सरासर भने, “मेरी छोरीलाई कान्छोले समायो ।” “के बलात्कार ….?” सावित्रीलाई परेको आपतमा स्याल ठिटाहरू झन्डै बाघ भएर गर्जिए, जो सावित्रीलाई असाध्यै माया गर्थे । बाबुको अगाडि आफैं समाएको कसरी भनोस्, सावित्रीले कान्छोले समाएकै हो भनिदिई । लाज र डरले भन्दा चोखो बन्न ऊ रुन थालेकी थिई ।

हुल्याहा केटाहरू सटरभित्र छिरेर कान्छोलाई घिसार्दै बाहिर ल्याए । रिसको झोंकमा पाक्कपुक्क हाने । कसैले लात्तले, कसैले मुड्कीले । कान्छाको नाथ्री फुटेर रगत बग्यो । रगत देखेपछि सबै रोकिए । कान्छाले लगाएको कपडा च्यातचुत भएछ । हुलिया केटाहरूले टेलरभित्रको सामान बाहिर ल्याएर मिल्काइदिएछन् । त्यो देखेर उसलाई पिटेभन्दा बढी दुख्यो । कसलाई के पो भन्नु ! आफ्नो कन्तबिजोक शरीर जता छोए पनि दुख्ने भएको थियो । त्यतिबेलासम्म झमक्क साँझ परिसकेको थियो । निसाफ भोलि छिन्ने निष्कर्षमा सबै आ–आफ्नो बाटो लागे । घाइते भएको कान्छो भने डरले थर्रर काँप्दै थियो । बोल्न सकेको थिएन ।

० ० ०

भोलिपल्ट सल्लेरी बजार ढाकेर समाज बस्यो । घाइते कान्छाको मुख गहुँको रोटीझैं भुक्क उक्सिएछ । त्यो बजारले कान्छाको चिनामा बलात्कारी लेखिसकेको थियो । कान्छालाई कसैले कठै भनेनन् । उसको आफ्नै दाँतले जिब्रो टोकेर बोली लर्बरिने भएछ । बिचरो नाके डाँडी स्टिलको भाँडोझैं कुच्चिएछ । निलै भएछ । कसैले सोधेन यो हालत कसरी भयो भनेर । सबैले उही सोधे, “सावित्रीलाई किन बलात्कार गरिस् ?” उसले धुरुधुरु रोएर भन्यो, “म परिबन्दमा परें ।” तर, उसको त्यो बोली कसैले सुनेन । बरु उसैले सुन्यो, कसैले पाता फर्काउनुपर्छ भनेको, कसैले डाँडो कटाउनुपर्छ भनेको, कसैले जेल कोच्नुपर्छ भनेको । कान्छोले स्पष्टीकरण दिने मौकै पाएन । सबैले होहल्लामात्र गरे । ठोक्नुपर्छ, त्यतिकै छाड्नु हुँदैन भने । कसलाई भनोस् आफ्नो यथार्थ ?

कुटाइले उसका आँखा सुनिनमात्र बाँकी थियो । त्यो पनि सुनियो । लुगा सिलाउन जानेजस्तो कुरा सिलाउन जानेको भए बिचरोले यो दुःख पाउँदैनथ्यो । तर, जानेन । रडाको नसकिँदै माइत गएकी कान्छाकी स्वास्नी आइपुगी । कुरो बुझेर ऊ झन्डै बेहोस भइन । उसले रुँदै पण्डित हरिद्वारका खुट्टामा टाउको बिसाएर भनी, “पण्डित बा ! एकपटकलाई माफी पाऊँ । यो लाटाले जे गर्नु गरिगो ।” कान्छो दमैकी स्वास्नीको नाम हो हीरा दमिनी । नामले मात्र हीरा हैन, अनुहार र शरीरले पनि ऊ हीरा नै हो । दमिनी भएरमात्रै घाटामा परी नत्र धनीकी बुहारी हुन्थी ।

हिराको कुरो पण्डितले पटक्कै सुनेनन् । ऊ धरधरी रोएकी थिई खुट्टा समाएर । पण्डितले वास्ता गरेनन् । कुरो टुंगोमा नपुगी सल्लेरी बजारको रमिता अन्त्य भयो । यसमा सबैको एउटै मत थियो । कान्छालाई कारबाही दह्रो हुनैपर्छ । गाउँमा चेलीबेटी जोगाउन गाह्रो भो । त्यो दिन त्यसै बित्यो ।

भोलिपल्ट पण्डित हरिद्वारले कान्छो दमैलाई अदालतमा मुद्दा लाएर आए । यो कुरो खरबारीको डढेलोझैं सल्लेरी बजार फैलियो । जता गयो, उही कुरा । बलात्कारीलाई त्यत्तिकै छोड्नु हुँदैन– सबैको मत एउटै भयो ।
कान्छोले पढेको थिएन । ८ कक्षा पढ्दापढ्दै छाडेको थियो । पण्डित हरिद्वारले मुद्दा दिएपछि ऊ आत्तिएर अब के हुने हो, धेरैलाई सोध्यो । कोहीले के भने, कोहीले के । सबैको एउटा कुरोचाहिँ मिल्यो, कानुनका नौ सिङ हुन्छन् । सबैले उही कुरो भन्दा कान्छो सोच्थ्यो– नौ सिङ भएको कानुनले हानेरै मार्ने भो !

कान्छो दुई–तीन दिनसम्म के–के सोचेर तड्पिँदै बस्यो । भेट्ने जति सबैले एउटै भाका भन्थे, “बेकार झेलखानामा कोचिने भइस् । बलात्कारको मुद्दाले त मान्छे त झेलखाना पर्छपर्छ, सम्पत्ति पनि स्वाहा हुन्छ ।” हितैषी दमैहरूले पनि उसका अगाडि दया देखाउन थाले । “बज्जे सोझो थिइस् । जाली बाहुनको फेला परिस् । कोखमा दाँत हुनेको केही भर हुँदैन । अब के पो हुने हो ! जान्नेहरू जीवनभर जेल बस्नुपर्छ भन्छन् ।”
केही दिनपछि कान्छो कसैको कुरा सुन्न नसक्ने भयो । बिहान पीपलको बोटमा पासो लगाएर झुन्डिएको भेटियो ।

० ० ०

सल्लेरी बजारको पूर्वपट्टि टिनले छाएको निम्न माध्यमिक विद्यालय छ । विद्यालयका हेडसर हुन् रामहरि शर्मा । रामहरि शर्मा सहयोगी थिए । सबैलाई सहयोग गर्थे । आपत परेकाहरूलाई सहयोग गर्नु उनी आफ्नो धर्म सम्झिन्थे । गाउँको विकास र प्रगतिका निम्ति रामहरि शर्मा जिउज्यानले लागिपर्थे । उनको सहयोग नभएको भए आजसम्म सल्लेरीको बाटोमा मोटर चल्दैनथ्यो । उनी विद्यालयका मास्टरमात्र थिएनन्, सामाजिक कार्यकर्तासमेत थिए । कान्छो दमैलाई परेको आपतमा एक–दुईले साथ दिएका थिए । त्यसमध्ये उनी एक थिए, जसले गर्दा बजारका धेरैले उनको कुरो काटे ।

डुम हेड सर !
नामै फेरिदिए ।
उनले त्यस्ता आलोचनाको मतलबै नगरी कान्छोलाई सहयोग गर्छु भनेका थिए । ‘नडरा, म छु’ भनेथे । तर, कान्छोले उनको कुरा पत्याइदिएन । पत्याओस् पनि कसरी ! सबै ‘कानुनका नौ सिङ हुन्छन्, तँ फन्दामा परिस्’ भनेर अत्याउँथे । जीवनभर जेल बस्नुपर्छ भने । सहन नसकेर आत्महत्या ग¥यो । रामहरि शर्मा निडर थिए । द्वन्द्वकालमा पनि उनी कसैसँग डराउँदैनथे । गल्ती हुनेहरूलाई ठाडै तेरो गल्ती हो भनिदिन्थे । उनका अगाडि गल्ती गर्ने हिम्मत कसैले गर्दैनथ्यो ।

सामान्यभन्दा केही अग्ला कदका रामहरि शर्मा केही पर्दा प्रस्ट विचार राख्थे । त्यसैले होला– सल्लेरी बजारमा उनको नाम छुट्नु सम्भव थिएन । त्यस्ता असल व्यक्ति रामहरि शर्मा अचानक हराए । सामान्य बिरामी भएर अस्पताल गएका फर्किएनन् । कता गए, कहाँ गए– घरपरिवारमा कसैलाई थाहा भएन । एक बिहान उनी सल्लेरी बजारको पीपलको बोटमा झुन्डिरहेको अवस्थामा फेला परे । उनको मृत्यमा सल्लेरी बजारले आँसु झा¥यो । केही महिनासम्म सल्लेरी बजारमा उनको मृत्युबारे विभिन्न टीकाटिप्पणी चले । हेडसर रामहरि शर्माको मृत्युबारे सबैले आ–आफ्नै अड्कल लगाउँथे तर सत्य कसैलाई थाहा थिएन । सल्लेरी बजार आफैं अड्कल काट्थ्यो र आफैं हैन भन्थ्यो ।

० ० ०

सल्लेरी बजारका अर्का हर्ताकर्ता व्यक्ति हुन्, रामदेव पाण्डे । उनी स्थानीय नेता थिए । उनको पहुँच केन्द्रीय राजनीतिसम्म थियो । मन्त्री÷प्रधानमन्त्रीसँग सिधै भेट्न सक्ने हैसियतका थिए उनी । गरिबहरूको सत्ता ल्याउनुपर्छ भन्ने रामदेव पाण्डे गरिबहरूको हितका लागि जे पनि गर्छु भन्थे । गरेका पनि थिए । कान्छो दमैको आत्महत्यापछि उनले पण्डित हरिद्वारलाई कारबाही गर्नुपर्छ भन्दै हिँडे । यो कुरो सल्लेरी बजारको तात्तातो समाचार बन्यो । साँझ सल्लेरी बजारमा चिया खाएर गफ गर्नेहरूका लागि यो विषय गफको मेलो थियो । चिया खाएर उग्राउने मेलो ।

रामदेव पाण्डेले मुद्दा हाल्छु भनेर हो या केही कारणले पण्डित हरिद्वार बिरामी परे । मेडिकलको औषधिले उनको व्यथा निको भएन । सधैं रुघाखोकी लाग्ने । त्यसमाथि दम बढ्दै गएपछि उनी सदरमुकाम पुगे, स्वास्थ्य जाँच गर्न । पण्डित हरिद्वार स्वाथ्य जाँच गर्न सदरमुकाम गए पनि सल्लेरी बजारले कुरो अर्कै बुझ्यो । नेता रामदेव पाण्डेले मुद्दा हालेकाले तारिख धाउन गएको हल्ला चल्यो । नेता रामदेव पाण्डेले मुद्दा हाले/हालेनन् कसैलाई थाहा थिएन । पण्डित हरिद्वार सदरमुकामबाट स्वाथ्य जाँच गरेर फर्किएको भोलिपल्ट सल्लेरी बजारमा अर्को अचम्म भयो ! पण्डित हरिद्वारले सल्लेरी बजारको नजीकमा रहेको पीपलको बोटमा झुन्डिएर आत्महत्या गरेछन् ।

त्यस दिनदेखि सल्लेरी बजार झन्–झन् रहस्यमय बन्दै गयो । सल्लेरी बजारकामात्र हैन, यो खबर सुनेकाहरूले पनि सल्लेरी बजारको पीपलको रुख हेर्न सकेनन् । सल्लेरी बजारका स्थानीयहरूले सल्लाह गरे । यो अचम्म के भयो ? तर, कसैले पनि यसै भयो भन्न सकेनन् । कान्छो दमै मरेको सात महिना नपुग्दै पण्डित हरिद्वारले त्यही रुखमा झुन्डिएर आत्महत्या गरेपछि धार्मिकहरूले देवी–देउता बौलाएको शंका गरे । धूपधुवार गरे ।

० ० ०

करिब दुई वर्षपछि ! सल्लेरी बजारमा नेता रामदेव पाण्डेको पहलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । त्यो विशाल स्वाथ्य शिविरमा सल्लेरी बजारका सम्पूर्णले स्वाथ्य परीक्षण गराए । बच्चादेखि वृद्धसम्म । स्वास्थ्य परीक्षणको रिपोर्ट हप्तादिनपछि आउने भयो । त्यसको जिम्मा लिए नेता रामदेव पाण्डेले । तर, हप्ता दिनपछि सल्लेरीमा चमत्कार भयो ! सल्लेरी बजार नजिकैको पीपलको रुखमुनि जम्मा भयो । पीपलको रुखमा स्थानीय नेता रामदेव पाण्डेले पासो लगाएर आत्महत्या गरेछन् !

प्रभावशाली नेताको आत्महत्या सानो कुरा थिएन । डरले सल्लेरी बजार काम्यो । उनको पार्टी प्रतिपक्षमा थियो । पार्टीले स्वतन्त्र छानबिन गर्न सरकारसमक्ष जोडदार माग ग¥यो । जनता जोगाउन नसक्ने प्रधानमन्त्रीको राजीनामा मागियो । गृहमन्त्रीविरुद्ध चर्का नारा लागे ।
विपक्षीको मागअनुसार सरकारले छानबिन गर्न प्रहरी प्रशासनलाई पठायो । प्रहरी प्रशासनले नेताको मृत शरीरलाई पीपल रुखबाट झा¥यो र मृत नेताको शरीर जाँच ग¥यो ।

मृत नेताको गोजीमा एउटा रिपोर्ट रहेछ, जुन रिपोर्ट हप्ता दिनअघि भएको स्वास्थ्य शिविरमा स्वाथ्य परीक्षण गराएकाहरूको थियो । प्रहरीहरूले खोलेर हेरे । रिपोर्टअनुसार सल्लेरी बजारका स्थानीयमध्ये आधाभन्दा बढीलाई एड्स रहेछ ! रिपोर्टको पुछारमा अर्को अचम्मको कुरा के थियो भने हीरा दमिनी गर्भवती थिई । प्रहरी प्रशासनले हीरालाई सोधपुछ सुरु ग¥यो । हीराले धेरै झन्झट दिइन । उसले सजिलैसँग आफ्नो गर्भमा रहेको शिशुको बाबु चिनाइदिई । नाम लिँदा पण्डित हरिद्वार, हेडसर रामहरि शर्मा, नेता रामदेव पाण्डेको नाम छुटाइन । हतारमा अन्य १५–२० जनाको नाम सम्झिन भ्याई । त्यस दिनदेखि त्यो अनाम सल्लेरी बजार मसानघाटजस्तै भयो ।

(यो कथा नेपालको गत शनिबार प्रकाशित ‘रित्तो आकाश’ कथा संग्रहबाट लिइएको हो ।)