kavita – jaado

एक्लै छु म
र दिल्लीको सडकमा गर्मी पस्दैन
म बसेको
पाँचतारे होटेलको
दुई सय चौध नम्बरको कोठामा ।
झुग्गीका मानिसहरुको
जाँड खाने भट्टी होईन
एक्लो छु
एक्लै
टेलिभिजनको पर्दा
टेबुल—लाईट
पङ्खा, एअरकुलर
रक्सीका बोलत
हट डग र ह्याम्बर्गर
सबैसँग आनन्द गर्न सक्छु,
लबी म्यानेजर सुन्दरीका आँखामा
अल्झन सक्छु
खै मेरा ओछयानका उपियाँहरु ?
खै मेरो गर्मी ?
खै मेरो जाडो ?
र र्खै उदास आँखा लगाएर
हिजोदेखि भोकै बसेको मेरो भाइ ?
खै मेरा प्रिय मित्रहरु
जससँग हल्लँदा पनि
अनुभव हुन्छ —म बाँचेको छु ।
बाँचेको छु
तिनै हल्ला र काठमाडौका गल्लीहरुमा
बसेको छु एक्लंै तपस्यारत बुद्धझै
समाधि कसेर दिल्लीको पाँचतारे होटेलमा
र सोच्दैछु
किस्ने छेत्रीले किन माग्यो
मेरो भिजिटिङ कार्ड ?
बाथ टवमा नुहाउँछु
र मलाई सम्झना हुन्छ भक्केमुलाको
लिफ्बाट घरी उक्लेको छु
घरी ओर्लेको छु
र मलाई सम्झना हुन्छ
मेरो घरको लिस्नुको
जसबाट कति पटक पछारिएको छु भुइँमा
बोलेको छु अङ्गेजीमा सिगार च्यापेका ओठले
मलाई कलकत्ते तमाखु राखेर
माइली मैयाँले दिएको
बुट्टेदार सुल्पाको सम्झना हुन्छ ।
बाहिर मानिसहरु मर्दै छन्
तातो हावाको लहरले
र भित्र जाडो छ ।

kavita – antim yuddha

चमेराहरू झुन्डिइराखुन् रूखका हाँगाहरूमा
आकाशलाई पाताल र पाताललाई आकाश बनाइरहुन्
ढोईलाई लगाएर अघि–अघि
अभयारण्यमा लम्किरहोस् मत्त हात्ती
बघिनीहरू घुमफिर गरून् आफ्नो प्रिय जङ्गलमा
र स्नेह गरून् आ–आफ्ना डमरुलाई
हिउँदको चिसोमा
माटाको न्यानो गर्भमा
गुप्त बास बसुन्
या घाम ताप्न निस्कुन् सर्पहरू
स्यालहरू कुदून् बेतोडले
म्याराथुन धावकझैँे
पण्डितहरू मन्दिर जाऊन् या पादरीहरू चर्चतिर
प्रार्थना गरून् वा वर मागुन् आ–आफ्नो ईश्वरसँग
मलाई आपत्ति छैन शासकहरू हो !
यो संसार सबैको हो ।
तर राति झ्यालबाट पसेर चोरझैँ
मेरा जुँगा चाट्न हुन्न चमेराहरूले
मन्त्रीको आदेशमा डाँकाले झैँ
सुकुम्बासी गाउँ नउजाडुन् हात्तीहरूले
खोरका घारहरू फुकालेर
सुत्केरी बाख्राको कल्चौँडो खान हुन्न बघिनीहरूले
सानो दुधे शिशुलाई आँगनमा सुताएर
काममा गएकी छ उसकी आमा
फर्केपछि देख्नु नपरोस्
आफ्नो प्रिय शिशुको छातीमा
सर्पदंशका डोबहरू
कुनै किसानले पालेको कुखुरा
सुटुक्क चोरेर
खोल्सामा लगेर आफ्नो भोक तृप्त गर्न पाइँदैन स्यालहरूले
पण्डितहरू पनि बुझून्—मानिसको बलि दिनु हुन्न
पादरी वा मौलवीहरू पनि बुझून्—
अर्काको आयु ताछेर
आफ्नो आयुमा थप्न पाइन्न
यो संसार सबैको हो ।
संसार सबैको हो भने
मेरो पनि हो संसार
तर मेरो भाग खोसेर कसैले खायो भने
म तयार छु अन्तिम युद्घ गर्न
अन्तिम युद्घ अर्थात निर्णायक युद्घ
जसले फैसला गर्नेछ हारजितको
ए जङ्गल शासक र शिकारी शासकहरू हो !
मेरो सबैभन्दा तीखो हतियार
नैतिकता हो ।

kavita – waripari

देशे बेचेर आफ्नो छोरालाई घडेरी किन्नेहरु छन् वरिपरि
अर्काको काँधमा चढेर सगरमाथा आरोहण गर्नेहरु छन् वरिपरि
जोताएर तमाम मानिसहरुलाई किसान बन्नेहरु छन् वरिपरि
भोक्दै छु एकनाससँग
मलाई लुछ्दै गइरहेका किर्ना, जुम्रा र बिच्छीहरु झैं
केही बाबुहरु छन् वरिपरि ।
हावामा झुलिरहेछन् प्लाष्टिकका रङ्गीन फूलहरु
र जबरजस्ती चुँडिएर
पूजाकोठाको मूर्तिमा चढाइएका छन् सृष्टिका सुन्दर शिशुहरु
परन्तु निःशब्द मानिसहरुको लाटो भीड छ वरिपरि
निहत्था आमाहरुको जमात छ वरिपरि
र ग्रह घुमिरहेका उपग्रहहरु छन् वरिपरि
केही बाबुहरु छन् वरिपरि ।
यो कहाँ हो ?
कहाँ छु म ?
र कहाँ छ यहाँको मानवबस्ती ?
कतिहजार कोष टाढा फैलिएको छ यो अँध्यारो जङ्गल ?
को सँग सोधूँ, कहिले पुगिन्छ मानिसहरुको बस्तीमा ?
यहाँ त केही ताजमहलहरु छन्
जो बनाउँदा काटिए हातहरु कर्मीका
केवल ठुटा हात भएका कलाकारहरु छन् वरिपरि
इतिहास बन्दै गएका केही मानवकृतिहरु छन् वरिपरि
अकुत सम्पत्तिको समुद्रमा पौडिरहेका केही बाबुहरु छन् वरिपरि ।
छद्म समाजसेवीहरु छन् वरिपरि
मृत्यु—घण्टाको रालो अँठयाएर
जबरजस्ती बाँचिरहेका सिकारी चितुवाहरु छन् वरिपरि
सधै घातक खेलमा व्यस्त
व्यूह रचना गरिरहेका केही दुष्टहरु छन् वरिपरि
आगो चोरेको आरोपमा मानिसलाई सजाय दिन सधै उत्सुक
सिकारी द्यौताहरु छन् वरिपरि
केही बाबुहरु र उनका
प्रिय नातेदारहरु छन् वरिपरि ।

kavita – maag

मैले सारिसकें आफूलाई तिमीमा
मेरो प्रिय छोरा
अब म जन्मिसकें तिमी भएर
फेरि पलाइसके केशहरु मेरा
फेरि तिखारिएको छ आवाज मेरो
म फेरि खोज्न थालेको छु
मलाई खेल्न चाहिने
पर्याप्त मैदान ।
पुनर्जन्मको खोजमा डुल्दाडुल्दै
भेटिएकी थिइन् तिम्री आमा
उस्तै त हुन्छन् हरेक आमाहरु
मेरी आमा कलावतीजस्तै
तिम्री आमा शारदा जस्तै
स्नेह, करुणा र ममताले परिपूर्ण
तर तिम्री आमाजस्तै किताबहरु
जब तिमी खोज्छौ
र भेटिन्नन् कतै पनि
त्यस बेला
म फेरि खोज्न थाल्छु
तिम्रो लागि किताबहरु ।
ओह । म चञ्चल हुन फेरि उदाइसकें
उफ्रिन, कुदन र जुलुसमा नारा लगाउन
र केही वर्षपछि
म फेरि प्रेम गर्नेछु
कुनै प्रेमवती किशोरीसँग
त्यति बेला तिमी सार्नेछौ आफूलाई
आफ्नो नवजात शिशुसँग
र म अर्को पटक
समाहित भइसक्नेछु उसमा ।
तर अझैं
जब म हेर्छु तिमीलाई
दगुर्न नपुग्ने यस साँघुरो कोठामा
घरी यता, घरी उता गरिरहँदा
चुरचुर भएर खस्छ
मेरो अमरताको अभिमान,
तसर्थ म माग गर्दछु
यस महान् प्रजातन्त्रमा
आफ्ना निम्ति पर्याप्त मैदान ।

Sarta – Shyamal 

जबसम्म नारी बलात्कृत भइरहन्छे
र आकास धुजा धुजा पार्ने गरी

महासागर सुक्ने गरी चिच्याइरहनेछ

जबसम्म चरा कैद गरिएको हुन्छ पिँजडामा

उसले आफ्ना स—साना चुच्चाले

फलामको पिंजडा भत्काउन छाड्ने छैन

परन्तु जीवित नै हुनेछ करुणा र कोमलता

प्रेमीहरूले छिनाल्नेछन् आफुलाई बाँध्ने सिक्रीहरू

प्रेम चलिरहनेछ ।
जबसम्म हत्याराको मुठीमा छटपटिएको हुन्छ न्याय

र पैसा हुन्छ डाँकाको ब्रिफकेशमा

जबसम्म आलमारीका किताबमा बन्द हुन्छ इज्जत

र शिक्षा बेरिएको हुन्छ

काँजो बेरिएजस्तै मास्टरको लट्ठीमा

जबसम्म बसिरहनेछ हत्यारा आरामदायी मेचमा

र मानिसहरु हुनेछन् त्यसभन्दा तल भुईंमा

धर्ती कम्पायमान भइरहनेछ ।
त्यतिन्जेलसम्म जन्मिरहनेछन् स्पार्टाकसहरू

जबसम्म चराहरुले गीत गाउन छाड्ने छैनन्

जबसम्म जमीन बाँझो हुन्छ र

कोदालीले विना काम

कुनामा झोक्राइरहनुपर्छ

किसानले जबसम्म हातमा लाठी लिएर

जमीन जोगाइरहनुपर्छ

क्रोध बढिरहनेछ ।
पानी भएसम्म नदी बगिरहनेछ

चेत भएसम्म मानिस छट्पटाइरहनेछ

विश्वास भएसम्म मानिस विश्वास गरिरहनेछ

आशा भएसम्म हौसला भइरहनेछ

बाजा भएसम्म सुनिइरहनेछ ताल, सुर र नाद

यो मन झंकृत भइरहनेछ ।
यी निराशा, क्रोध र हो—हल्लाका बीच

शिशुहरु जन्मिइरहनेछन्

र तिनकी आमाका पवित्र स्तनबाट

जीवन रसाइरहनेछ

मानिस आफ्नै देवताबाट मुक्त नभएसम्म

दासमोचन भएको मानिने छैन

त्यसपछि पनि अनन्तकालसम्म

मानिसहरुको आवाजले हावा कम्पित भइरहनेछ

जीवन चलिरहनेछ ।

Aba Kaha Jane – Shyamal 

अब कहाँ जाने ?
केश बनाइसकिएको छ

र दलिसकिएको छ अनुहारमा क्रिम

कपडामा छरिएको छ सेन्ट

र ऐनामा सयौँ पल्ट जुधेका छन्

आफ्नै आँखाहरू

शृङ्गार सकिएको छ

सुन्दरी, अब कहाँ जाने ?

सडकमा

सलबलाइरहेछन् युवाहरू

सिकारको खोजमा

तिम्रो शरीरको आरोपित सुगन्धको

विषालु उन्माद

छरिनेछ हावामा

र पुग्नेछ उनीहरूको नाकसम्म

शृङ्गार सकिएको छ

सुन्दरी, अब कहाँ जाने ?

जताततै फोहोर छ

भोकै छन् मानिसहरू

र तिम्रा बहिनीहरू सस्तोमा बेच्छन्

आफ्नो जवानी

मानिसहरू पछारिएका छन्

सडकमा

र झन्डा उठ्दै छ सहिदको

निर्जीव हातबाट

जताततै फोहोर छ

तिमी जति छर्क

आयातित पफ्र्युम अनुहारमा

जतिसुकै छर्क

झन्– झन् कुरूप हुँदै गइरहेको देख्दै छु म

भित्रभित्र धमिराले खाएको

काठको सुन्दर मूर्तिझैँ तिमी र यो देश

दुवै छन् यहाँ

तिम्रो शृङ्गार सकिएको छ

सुन्दरी, अब कहाँ जाने ?

Rajdhanima Truck – Shyamal 

इँटा बोक्छ
सिमेन्ट र फलामका छडहरु बोक्छ

ढुङ्गा, बालुवा र काठ बोक्छ

बोक्छ झ्यालका लागि सिसा

र बोक्छ उज्यालोका लागि

मैनबत्तीको बाकस पनि

ओलम्पिकको तेज धावक झैं

राजमार्गमा दुर्गुछ ट्रक

कहाँ जान्छ ?

थाक्छ

लामो—लामो सुस्केर हालेर

विश्राम गर्छ,

सडक छेउ

थकाल्नीको पसलमा घुसेर माग्छ डिजेल

निस्पट्ट अँध्यारोमा

हेडलाइट बालेर दगुर्छ मात्तिदै

पिसाब गर्न रोकिन्छ झाडीनिर

र दुगर्छ फेरि गति बदल्दै

सयौं घुम्तीहरुको राजमार्गमा

आृहोरदोहोर सधंैको

यो ट्रक कहाँ जान्छ ?

ओसारेका

थुप्रै सामानहरु जोडेर

घर बनाउँछ उ

र शीतमा निथ्रुक्क भिजेर

बिताउँछ केही छिन रात

र पुनः बेपत्ता हुन्छ बाक्लो हुस्सूमा

दुइटा आँखा बालेर,

यसरी सधैँको ओहोरदोहोर

ओहोरदोहोर हुन्छ

पेट्रोल पम्प राखेर बसेका

राजमार्ग छेउका मानिसहरु हो ।

यो ट्रक कहाँ जान्छ ?