Shahar Ko Nidrama – Tanka Subba

कोलाहलै कोलाहल पिएर
व्यथा बल्झाउछ
पहरेदारहरुसंग रातमा जाग्रम बस्छ
रङ्गीचङ्गी बेलुन भएर
आकासभरी रौनकतामा उड्छ
दिन र रात दुइपाउ भएर उभ्छ
तर यो सहर
आज गाढा निद्रामा परे झैं
छाएको छ सन्नाटामा
हराएको छ चहलपहलबाट
गलेको छ सहरवासीहरुको दुःखमा ।

निर्जन छ यो सहरको परिवेश
देखिन्नन् कुनै पदचिन्हहरु
ठिहीले रात जम्दा
अन्धकार हासे जस्तो
श्मशान जागे जस्तो
उज्यालो भागे जस्तो
क्षणहरुमा निदाएका छन् तमाम सहरवासीहरु
तर म एक्लै ब्युझे होला कसरी ?
अध्यारोको साम्राज्यलाई
चिरे होला कसरी ?

रात विथोल्ने कुनै आवाजहरु छैनन्
कुम्भकर्णका निद्राले छोपिरहेछ
सहरलाई
भाले डाक भैसक्यो
हटेको छैन अझै कालो चुक पोखिएको रात
औंसी परेछ कि कुन्नी
जून पनि लुकेको छ ।

उज्यालो बाचेको बेला
थिएन कुनै वेदना
थियो त केवल हजारौंको प्रेम
तर आज कथा जस्तै भएको छ
सहर अझैं ब्यूझेको छैन
चल्मलाएको छैन
आखा खोल्नै बिर्सने हो कि भनेर
झक्झकाउदै छु बारम्बार सहरलाई
संजीवनी भर्दैछु
बिहानीसंग ताजा भएर उठ्न सकोस् भनेर
तर अझै यो सहर गाढा निद्रामा परेको छ
ठिही परेको रातमा कठाङ्ग्रिएको छ ।