Poem – Sandhe

मेरो नाम छ साँढे !
वैज्ञानिक पटु शक्तितन्त्रले
मन्त्र गरीकन छाडे !
पशुबल पाँडे !
क्षेत्र क्या फाँडे !
पन्ना पृथिवी उजाडेँ !
“हा ! हा !” गर्दछ तर्सी दुनियाँ,
डुक्री, हाँकी–हपारेँ !
मेरो नाम छ साँढे !
मानिस जाति थिचियोस्, मिचियोस्,
के पर्वा ?
बलको सुराले लाल छ आँखा,
मेरा मगजमा रिसका ज्वलनका
अणु अर्वा !
विस्फोटक छन् ध्वनिहरु ध्वुंसक,
शठ–गर्वा !
जवाफदेही दुनियाँप्रति के !
तृणचर वा !
अङ्गाररङ्गा हूँ ढाडे !
मेरो नाम छ साँढे !
दया भनेको कमजोरी हो,
गर्जी ड्वाँ !
बालक जन्मनसम्मन् तर्सून् !
पृथिवी झ्वाँ !
आगो डकार्दछु ! सभ्यता खार्दछु,
भुट्दछु च्वाँ !
किनकि म साँढे, साँढे नै हुँ !
भाले ह्वाँ !
वरपर हेरन, तर्सन छाडेँ
मेरो नाम छ साँढे !
सभ्यता सब अट्ने उदर यो,
शस्त्र शिङ्गार !
फलाप मशल् औ विश्व निडर यो,
वंव्–हुङ्कार !
तोपहरुको मुहरी मुख यो
ड्वाँ ओडार !
प्रलयकालको हुँ पटु पाँडे !
मेरो नाम छ साँढे !