Kavita – Sandhai Sandhai 

सधै–सधै मेरो सपनामा
असङ्ख्य युवती आमाहरु

मेरो अगाडि आउँछन्

र बहुलाई झैं

‘अब मेरो दूधको कुनै मूल्य छैन

अब मेरो मातृत्वको कुनै अर्थ छैन—’

भन्ने गीत गाउँछन्

र मलाई देखाई–देखाईकन

सुँगुरका भद्दा गन्दा बन्चाहरुलाई झैं

आफ्नो अतिशय दुधले गानिएको

स्तन चुसाउँछन्

अनि एक्कासि

छाती पिट्तै

कपाल लुछ्तै मसँग आफ्ना हराएका छोराहरु माग्न थाल्छन्

सधै–सधै मेरो सपनामा

असङ्ख्य जीवनद्वारा लत्याइएका

र मृत्युद्वारा नपत्याइएका

जीर्ण तन वृद्धहरु

र बिदीर्ण मन बृद्धाहरु

मेरो अगाडि आएर लम्पसार पर्छन्

र मसँग

आफ्m्नो अथाह भविष्यको सूत्र माग्छन्

आफ्m्नो हराएको एकमात्र पुत्र माग्छन्

सधै–सधै मेरो सपनामा

असङख्य युवती विधवाहरु मेरो अगाडि आएर

आफुलाई सम्पूर्ण रुपमा नङ्ग्याउँछन्

र आफ्नो हिउँजस्तो कोमल तनमा

दुनियाँको कामुक आँखाले पोलेका

काला–काला डामहरु देखाउँछन्

र मसँग आफ्नो जीवनको सहारा माग्दछन्

मसँग आफ्नो यात्राको किनारा माग्दछन्

सधै–सधै मेरो सपनामा

क्षयका कीटाणु बोकेका

असङ्ख्य टुहुरा केटा–केटीहरु

मेरो अगाडि आउँछन्

र मसँग स्कूलको फीस

पुस्तक किन्ने पैसा

क्रिकेटको बैट

र पिताको चुम्बन माग्छन्

र माग्छन् सुरक्षा

र मिठो निद्राले भरिएको रात

यसरी नै सधै–सधै मेरो सपनामा

मलायाका असङख्य–असङख्य मानिसहरुको

आँसुको एक ठूलो सागर बन्छ

जसको प्रत्येक लहरमा

एक लाश माथि उठछ

एक लाश तल डुब्छ

तर डुब्नुभन्दा अगाडि मलाई

प्रत्येक लासले घृणाले हेर्छ

आह, मेरो सपनामा मलाई

मेरो विपनाको इतिहासले घृणा गर्छ ।