Raja Kewal Ek Kalam – Laxmi Prasad Devkota

क.
राजा, केवल एक कलम देऊ !

सावनमा !

क¥याङकुरुङको प्वाँखको डन्डी,

हिमाली बादल छोएको,

मानसरोवर सलिल उछाली,

धोएको !

निर्जन–बासा, एकलासी,

प्रेमको बिन्दु रोएको,

जीवनमा !
ख.
राजा, केवल एक कलम देऊ !

सावनमा !

घामछायाको विशाल वनमा,

इन्द्रेणीको लच्कनमा,

किरण–कणीको सुन्दर, सुन्दर,

मिश्रणमा !

सुन्दरताको मिश्रणले बरबर, बरबर,

क्वै भावुकको रोदनमा,

मुजूरहरुको नर्तनमा,

कमलको भाउ कीचडका,

रमरममा
ग.
तित्रा बादल

तित्रा बादल

तीन–तारे तितिरबितिरमा

बोलिरहेको पक्रन्छु

थोपल पङ्खी गगनमा,

बेच्छु जुगान्जुग जनजनमा

बोलुन् बराबर क्षणमा !

विजय धनुष तब लच्केला

कालउपर !

कुवेर दीन हुन्, इन्द्र डाहामा,

हाँस तिमी

भर्दै उर, हे भर्दै उर !
घ.
अमरत्वको ली झम्के परेली

कविता

बोल्ली मलाई, “श्रृगार किन्दिनोस्

बाबा सविता ! ”
ङ.
धाई बनाउँछु त्यल्लाई

तालिम नरमले

काँढा मरुन् सब पृथिवीका

शीतल मलमले !

तीन–तारे तित्रा मर्दैनन्

बोल्छन् जगजुग

मर्दछ काल शरमले !

साँची राख्दछु आजको ढुकढुक,

आजको बरबर,

राजा !

कवि भै साउनचरी

केवल एक कलमले !