Antya Ki Suruwat – Pradeep Chapagain

लास

मुर्दा

गयो,बित्यो

सकियो

कानेखुसीहरु

एक हुल

सयौं आँखाहरु

फूलका गुच्छाहरु

अनि अबिर

गोबर,अनी लिपिएको भुईँ

चित्कार अनि रोदन

सम्झनाहरु

यस्तै माहोलबिच

सेतो कात्रोभित्र

चिर निद्रामा निदाएको

एउटा प्राणी

म !!
एकनाले बाँस

घाटको पर्खाई

चिता

आगो

ब्रम्हनाल

चिसो बतास

खोलाको सुसेली

अनि

राप रापमा जलेर

केही क्षणमै

खरानी हुने

सजिवता सकिएको

एउटा वस्तु

म !!
आकाश

हजारौं मान्छेहरुका

हजारौं अड्कलहरु

स्वर्ग, नर्क

त्यै एउटै थलो

चन्द्रमा

सुर्य

ग्रह

अनि ताराहरु

वायुमण्डल

सबैको घर

त्यही घरको बाटो हुँदै

अनन्त यात्रामा निस्किएको

एउटा शान्त यात्री

म !!
अनि

एउटा अनुत्तरित प्रश्न

यो एउटा घटना

अन्त्य,कि सुरुवात ? ?