Nahinda Hai Maskiyera – Komal Shrestha Malla

 

नहिंड है मस्किएर कहिले पनि तिमी हजुर
सम्हालेर मनलाई मुटुभरी फूल हजुर..

बरालिनु हैन राम्रो बन तिमी मेरै हजुर
अंगअंग नशा नशा माया छरी डुल हजुर

फकाउनु फसाउनु आफ्नीलाई मात्रै हजुर
दुनियाको के कुरा माया संगै खुल हजुर

बाचा कसम विश्वासमा बचाउदै प्यार हजुर
आफ्नो भन्नु आफ्नै हुन्छ अरुलाई भूल हजुर

Shahar Ko Nidrama – Tanka Subba

कोलाहलै कोलाहल पिएर
व्यथा बल्झाउछ
पहरेदारहरुसंग रातमा जाग्रम बस्छ
रङ्गीचङ्गी बेलुन भएर
आकासभरी रौनकतामा उड्छ
दिन र रात दुइपाउ भएर उभ्छ
तर यो सहर
आज गाढा निद्रामा परे झैं
छाएको छ सन्नाटामा
हराएको छ चहलपहलबाट
गलेको छ सहरवासीहरुको दुःखमा ।

निर्जन छ यो सहरको परिवेश
देखिन्नन् कुनै पदचिन्हहरु
ठिहीले रात जम्दा
अन्धकार हासे जस्तो
श्मशान जागे जस्तो
उज्यालो भागे जस्तो
क्षणहरुमा निदाएका छन् तमाम सहरवासीहरु
तर म एक्लै ब्युझे होला कसरी ?
अध्यारोको साम्राज्यलाई
चिरे होला कसरी ?

रात विथोल्ने कुनै आवाजहरु छैनन्
कुम्भकर्णका निद्राले छोपिरहेछ
सहरलाई
भाले डाक भैसक्यो
हटेको छैन अझै कालो चुक पोखिएको रात
औंसी परेछ कि कुन्नी
जून पनि लुकेको छ ।

उज्यालो बाचेको बेला
थिएन कुनै वेदना
थियो त केवल हजारौंको प्रेम
तर आज कथा जस्तै भएको छ
सहर अझैं ब्यूझेको छैन
चल्मलाएको छैन
आखा खोल्नै बिर्सने हो कि भनेर
झक्झकाउदै छु बारम्बार सहरलाई
संजीवनी भर्दैछु
बिहानीसंग ताजा भएर उठ्न सकोस् भनेर
तर अझै यो सहर गाढा निद्रामा परेको छ
ठिही परेको रातमा कठाङ्ग्रिएको छ ।

Shrawan Mukarung – Pirai Pir Ko Bhari Boki

पीरैपीरको भारी बोकी कता जाने तामाङ दाइ
उँभो लागे बिगु गुम्बा
उँधो लागे नीलो गङ्गा
जहाँ पुगे’नि सुख छैन सपना देख्ने मान्छेलाई

पहाड नाघ, जङ्घार तर भेटिने त उही सूर्य
बिसोनी हो यशोधरा तिम्रा लागि तिमी बुद्ध
पीरैपीरको भारी बोकी…

यो बाटोमा पसिनाको एकपछि अर्को हिमाल
जति आँसु बहे पनि आफ्ना लागि आफैँ रुमाल

Nabhana Ghaat Ka Kura – Prabha Acharya

नभन घातका कुरा
नगर जातका कुरा ।

कहिल्यै नपरोस् सुन्न
बैगुनी हातका कुरा।

जीवन बितेछ त्यसै
भनन रातका कुरा।

हरियो बन्नेछु सधैं
बुझन पातका कुरा ।

बोतल रित्याइ भन्छु
सुनन मातका कुरा ।

पीडामा डुबेकी छु म
नभन आहतका कुरा ।

मनमा बस्नेछौ तिमी
गरन राहतका कुरा ।

 

Khushi : Prapti Swikar – Gopal Upreti

हो त्यही क्षण, त्यही पलबाट

मैले जीवनलाई यस्तो सम्मोहनकारी,

आल्हाद्कारी रूपमा पाएँ ।

अब लाग्छ– जीवनप्रतिका तमाम गुनासाहरु

शनै: शनै: पखालिँदै छन्, धोइँदै छन्

वर्षातपछिको स्निग्ध बिहानीझैँ !

र, बदलामा उपहारस्वरूप प्राप्त गर्दै छु

एउटा नयाँ आलोक,

क्रमश: उद्भासित हुँदै गरेको नुतन स्वच्छता

उमंग, खुसी र अपरिमित शान्ति !

मृत्यु अब त्यस्तो निविड रहेन,

अँध्यारो, अनेकन डरलाग्दा रहस्यहरुको भण्डार !

त्यो पल, त्यो क्षण

जब जीवन वर्तमानको खुसी भएर आइदियो,

जब जीवन क्षणजीवी भएर आइदियो

जब जीवनले प्रत्येक पल, प्रत्येक क्षण;

जीवनका तमाम् रंगहरूले,

बाँच्नुको सार्थकता निथ्रुक्कै भिजाइदियो,

मृत्यु सपनामा मुस्कुराउँदै अनायास विस्मृत बनिदियो !

जन्म र मृत्युका नियमित आकस्मिकताहरू,

अवच्छिन्न छन्

सतत छन्

यो शुरुवात हैन

र, सायद अन्त्य पनि !

तिम्रो कथित मृत्युपश्चात् पनि सूर्यास्त हुन्छ,

सूर्योदय हुन्छ,

वर्षात त्यसैगरी रिमझिम सिमसिम गरिरहन्छ

फूलहरुले आफूलाई त्यसरी नै फुलाउनेछन्

मन्द-मन्द वतासका झोंकाहरू

त्यसरी नै नाच्दै लहराउनेछन्

जीवनका यी तमाम् आयामहरू

रोमाञ्च सिर्जना गर्दै जबदेखि

मेरो वरिपरि लडीबुडी गर्न लागे

हो, त्यहीँदेखि, त्यही क्षण

जीवनलाई यति आल्हाद्कारी

जादुयी रूपमा फेरि, पुन: प्राप्त गरेँ ।

 

Source – http://www.baahrakhari.com

विकास – बिम्मी शर्मा

म हुँ विकास !

गर्छन् सबैले ममाथि धेरै आश

सरकारले बजाउने बिगुल हुँ म

तर कठै !

‘बहिरा’ जनताले सुन्न पाउँदैनन्

संगीतमा चल्ने मेरो सास !

जब देशमा चुनावी लहर आउँछ,

मलाई दसैं आएझैं हुन्छ ।

सबै पार्टीका घोषणापत्रमा

म हिरो बनाइन्छु

हरेक वर्ष बजेटको झाँकीमा म सजिन्छु

र झुन्डिन्छु सबैको थुतुनोमा

कुनै नयाँ चलचित्रको गीतझैं !

तर, पिँजडाको सुगाझैं

मलाई फाइलभित्रै कुहाइन्छ

मुसा र साङ्लाले हरेक वर्ष

खान्छन् मलाई मुख मिठ्याएर

हरेक वर्ष पुल-पुलेसा, सडक

र, भवनको सपना देखाउँदै

मलाई नयाँ दुलहीझैं भित्र्याउने

योजना बनाइन्छ

तर, वर्षौंदेखि बाँझोपनको आरोप खेपेर

आफ्नो पेट अठ्याउँदै

अर्काको सन्तान हेरेर रुन बाध्य महिलाझैं

म पनि जनताको सपना र चाहनामै हराउँछु ।

हो ! असारको खहरे भेल हुँ म

सडकमा जताततै छताछुल्ल हुन्छु

बर्खा सकिनेबित्तिकै मरुभूमिमा

परिणत हुनुपर्ने मेरो नियति

र मृगतृष्णाझैं सुसेलिने मेरो चाहना

खोलाको बगर भएर सुक्दछ ।

म हुँ विकास

सबै गर्छन् मसँग आश

तर, छैन ममा कुनै उज्यालो प्रकाश !

Source – http://www.baahrakhari.com

Din – Tanka Subba

घाम बोकेर जन्मने दिन
पारिलो र न्यानो हुन्छ
उज्यालो र हर्षक हुन्छ
जसले जमेको तुषारो हटेर बग्छन् उत्साहको नदीहरु
छुन पुग्छन् व्योमलाई छातीबाट हाम्फालेका मनहरु
अनि साइनु गासेर दिन
सपना भएर फुल्छ मानिससंग
पीडाका कैयौं क्षणहरु भुलाएर
जतिसुकै घातक बनेर आए पनि
दिन
पारिलो र न्यानो हुन्छ
उज्यालो र हर्षक हुन्छ
तथाकथित बहकाइका पलहरु
उकाली ओरालीहरुमा समेटिंदा
जल्न पुग्छन् आशाहरु
अध्यारोमा डुब्न पुग्छन् पाइलाहरु
तसर्थ सन्त्रास फैलन्छ भावनाकासभरि
दिनहरु
फेरि आफन्त नबन्लान् कि भनेर
तर नित्य झैं उदाउदा
प्रफुल्लित हुन्छु
र हतारले धकेल्न थाल्छु जीवनरथ
स्वीटर बुनेझैं बुन्न थाल्छु आकांक्षाहरु
अनि सुम्सुम्याउन थाल्छु फराकिला पथहरु
बढ्दै आउने अधेरीले कुल्चन्छ कि भनेर
बाधाहरु पन्छाउदैं
हुइकिन थाल्छु बतास झैं
दिनसंग सहयात्री बन्न सकिन्छ कि भनेर
तर सधैं बिरानो बनिरह्यो
आफैसंग हातेमालो बनेका दिनहरु
सधैं उदाएर अस्ताइरह्यो पाहुना बनेर
पर्खाइमा , सेताम्मै केशराशी फुलाएर
सारा जीवन भुलाएर
उभ्याउन खोजें दिन
बचाउन खोजे दिन
कहिल्यै उभेनन् सामुन्ने
बगिरहे नदी झैं
पग्लिरहे हिउ झैं
थामिएनन् कहिल्यै
दिनमा सारा कुरा हुन्छ
थाहा छ सबलाई
त्यसैले घाम बोकेर जन्मने दिन
पारिलो र न्यानो हुन्छ
उज्यालो र हर्षक हुन्छ ।