kavita – waripari

देशे बेचेर आफ्नो छोरालाई घडेरी किन्नेहरु छन् वरिपरि
अर्काको काँधमा चढेर सगरमाथा आरोहण गर्नेहरु छन् वरिपरि
जोताएर तमाम मानिसहरुलाई किसान बन्नेहरु छन् वरिपरि
भोक्दै छु एकनाससँग
मलाई लुछ्दै गइरहेका किर्ना, जुम्रा र बिच्छीहरु झैं
केही बाबुहरु छन् वरिपरि ।
हावामा झुलिरहेछन् प्लाष्टिकका रङ्गीन फूलहरु
र जबरजस्ती चुँडिएर
पूजाकोठाको मूर्तिमा चढाइएका छन् सृष्टिका सुन्दर शिशुहरु
परन्तु निःशब्द मानिसहरुको लाटो भीड छ वरिपरि
निहत्था आमाहरुको जमात छ वरिपरि
र ग्रह घुमिरहेका उपग्रहहरु छन् वरिपरि
केही बाबुहरु छन् वरिपरि ।
यो कहाँ हो ?
कहाँ छु म ?
र कहाँ छ यहाँको मानवबस्ती ?
कतिहजार कोष टाढा फैलिएको छ यो अँध्यारो जङ्गल ?
को सँग सोधूँ, कहिले पुगिन्छ मानिसहरुको बस्तीमा ?
यहाँ त केही ताजमहलहरु छन्
जो बनाउँदा काटिए हातहरु कर्मीका
केवल ठुटा हात भएका कलाकारहरु छन् वरिपरि
इतिहास बन्दै गएका केही मानवकृतिहरु छन् वरिपरि
अकुत सम्पत्तिको समुद्रमा पौडिरहेका केही बाबुहरु छन् वरिपरि ।
छद्म समाजसेवीहरु छन् वरिपरि
मृत्यु—घण्टाको रालो अँठयाएर
जबरजस्ती बाँचिरहेका सिकारी चितुवाहरु छन् वरिपरि
सधै घातक खेलमा व्यस्त
व्यूह रचना गरिरहेका केही दुष्टहरु छन् वरिपरि
आगो चोरेको आरोपमा मानिसलाई सजाय दिन सधै उत्सुक
सिकारी द्यौताहरु छन् वरिपरि
केही बाबुहरु र उनका
प्रिय नातेदारहरु छन् वरिपरि ।

kavita – maag

मैले सारिसकें आफूलाई तिमीमा
मेरो प्रिय छोरा
अब म जन्मिसकें तिमी भएर
फेरि पलाइसके केशहरु मेरा
फेरि तिखारिएको छ आवाज मेरो
म फेरि खोज्न थालेको छु
मलाई खेल्न चाहिने
पर्याप्त मैदान ।
पुनर्जन्मको खोजमा डुल्दाडुल्दै
भेटिएकी थिइन् तिम्री आमा
उस्तै त हुन्छन् हरेक आमाहरु
मेरी आमा कलावतीजस्तै
तिम्री आमा शारदा जस्तै
स्नेह, करुणा र ममताले परिपूर्ण
तर तिम्री आमाजस्तै किताबहरु
जब तिमी खोज्छौ
र भेटिन्नन् कतै पनि
त्यस बेला
म फेरि खोज्न थाल्छु
तिम्रो लागि किताबहरु ।
ओह । म चञ्चल हुन फेरि उदाइसकें
उफ्रिन, कुदन र जुलुसमा नारा लगाउन
र केही वर्षपछि
म फेरि प्रेम गर्नेछु
कुनै प्रेमवती किशोरीसँग
त्यति बेला तिमी सार्नेछौ आफूलाई
आफ्नो नवजात शिशुसँग
र म अर्को पटक
समाहित भइसक्नेछु उसमा ।
तर अझैं
जब म हेर्छु तिमीलाई
दगुर्न नपुग्ने यस साँघुरो कोठामा
घरी यता, घरी उता गरिरहँदा
चुरचुर भएर खस्छ
मेरो अमरताको अभिमान,
तसर्थ म माग गर्दछु
यस महान् प्रजातन्त्रमा
आफ्ना निम्ति पर्याप्त मैदान ।

कविता – सीमामा असीम

हे असीम ! सीमामा पनि तिम्रो स्वर ध्वनित भइरहे छ ! मेरो
अन्तःकरणमा पनि तिम्रो मायाले प्रकाश छ !
हे रपरहित ! मति रङ्ग, गन्ध, संगीत, छन्दहरुमा तिम्रो रुप,र तिम्रो
लीलाका बयान मेरो ह्दयमा भरिएको छ !
यसकारण मेरो अन्तःकरणमा तिम्रो शोभा यति आकर्षक छ !
जब तिम्रो–मेरो मिलन होला त्यस वेला सबै समस्याहरु हराउनेछन् ।
संसार–सागरका तरंगका ज्वार उठ्नेछन् अनि पृथ्वी हल्लिनेछ !
तिम्रो उज्वलतामा छाया छैन : मेरो अन्तःकरणमा नै उसले
काया पाउँछ !
मेरा आँसुहरुमा नै उ संतप्त, र सुन्दर हुन्छ,
मेरो ह्दयले गर्दा यसकारण तिम्रो शोभा यस्तो आकर्षक छ !

Ma – Bhupi Sherchan


म एक पुत्र
एक पति
र एक पिता हुँ


एक न्वारान
एक विवाह
र एक चिता हुँ


म एक होटल
एक बोतल
र एक प्याला हुँ


म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ


म एक इन्टरभ्यु
एक लामो क्यु
र एक क्यान्डिडेट् हुँ


म एक खाली बिल
एक खाली विभाग
र एक खाली पेट हुँ


म एक सभा
एक श्रोता
एक वाह
र एक ताली हुँ


म नेताजीको एक गीत
एक भाषण
र एक गाली हुँ


म एक जुलूस
ए उफ्र्याइँ
एक नारा
र एक झण्डा हुँ

Galat Lagchha Malai – Bhupi Sherchan

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास

यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर

ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधै
बाटो-दोबाटोमा,
गल्ली-गल्लीमा,
देश-विदेशमा,
यूक्लिप्टसका रुखझै नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझै
दुबै हात तल झारेर
तब मलाई गरुँ-गरुँ झै लाग्छ
आफ्नो रगतको उपहास

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु क-दुइ दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छु अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छु तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छु बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु अर्निकोको कलाले विश्व-मन हरेको कुरा
सुन्छु सधै सुन्छु र केवल सुन्छु
तर मलाइ हुँदैन विश्वास

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक-दुइ दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।

Maani Nabhayeko Jindgani – Bhupi Sherchan

आउँछन् जब किरण भोरका
झ्यालभित्र ज्वरको रापझैं
उठ्छु चूपचाप ओछ्यानबाट
घाममा सुकाएको गीलो कपडाको बाफझैं
हराउँछु दिन–दिनभरि घरबाहिर
रक्सी पिएर बिर्सेको पापझै
रातको साथमा घर फर्कन्छु
नशा उत्रेपछिको पश्चात्तापझैं
आह ! यसरी बितिरहेछ जीवन
सन्निपातको रोगीको प्रलापझैं ।

Dui Tukra – Bhupi Sherchan

जहिले पनि भर्खरकी किशोरीजस्ती
साँच्चिकै तिमी हिमालकी छोरीजस्ती
कुन्नि के छ तिमीमा, जो अरुमा छैन
कि तिमीलाई जति पाए पनि थोरैजस्ती

एकलास तिम्रो बाटोमा रमाइलो दिन सक्तिनँ म
तिमी थाकेर ढल्दा सहाराको हात दिन सक्तिनँ म
बर्सनै नपाई डाँडा काटेको बादल मेरो यौवन
चाहेर पनि ए ओइलाउँदी कली ! वर्षाद दिन सक्तिनँ म ।