Mero Hajur Lai Ke – Kali Prasad Rijal

मेरो हजुरलाई के दिऊँ नि भेट
तारा दिऊँ कि जून दिऊँ इन्द्रेणीको सेट

मगमग बास्ना दिऊँ कि फूलै फूलले बेरेर
हिउँचुली नै चढाऊँ कि, लालीमाले घेरेर

पखेरीको छायाँ दिऊँ कि, झलझलाउने शीत
सारङ्गीको सुरमा दिऊँ कि, एकै चरण गीत

शब्द – कालीप्रसाद रिजाल
स्वर – शर्मिला बर्देवा
संगीत – आलोकश्री
एल्बम – छायाँ

Nahinda Hai Maskiyera – Komal Shrestha Malla

 

नहिंड है मस्किएर कहिले पनि तिमी हजुर
सम्हालेर मनलाई मुटुभरी फूल हजुर..

बरालिनु हैन राम्रो बन तिमी मेरै हजुर
अंगअंग नशा नशा माया छरी डुल हजुर

फकाउनु फसाउनु आफ्नीलाई मात्रै हजुर
दुनियाको के कुरा माया संगै खुल हजुर

बाचा कसम विश्वासमा बचाउदै प्यार हजुर
आफ्नो भन्नु आफ्नै हुन्छ अरुलाई भूल हजुर

Shrawan Mukarung – Surya Grahan

तिम्रो सिउँदो भर्न मैले
यसरी हत्केला चिरेजस्तै
पृथिवीको सिउँदो भर्न
सूर्य–
आकाश चिर्दै–चिर्दै आउने गर्छ

यसरी निधारै भरिएर रगत
तिम्रो पाउभरि खसेजस्तै
हिउँखोलाहरू
नदी हुँदै–
समुद्रमा खस्ने गर्छन्

मेरो छातीको सिरानी लगाएर तिमी–मैले
अनेक सपना देखेजस्तै
या मन्दिर छोएर हर्षले बरबरी रोएजस्तै
सूर्य कति रोयो होला–
सूर्यग्रहणमा….।
तर, एक्कासि तिमीले झैँ पृथिवीले
सूर्यलाई छोडेर गयो– दुःखमा !
अहिले पृथिवीको सिउँदो भर्न
चन्द्रमा आकाश चिर्दै–चिर्दै आइरहेछ
मसित त न चक्कु छ न त्रिशूल !

Nepali Poem – Bainsh

घोप्टे काँडाबीच फुलेको
एउटा
नाजुक फुल
जसको मनमोहक सुगन्धले
हरेक बैँसालु मन पग्लन्छ
र फुल टिप्ने चटारोमा
पटक पटक दर्फरिन्छ ।

Nepali Poem – Roti

यो कुनै प्रतिष्ठित बिम्व होइन
जसलाई
न घाम झैँ कवितामा सजाउँन पाउँ
न जून झैँ गीतमा गाउँन पाउँ
यो कुनै गुराँस होइन
यो कुनै पलाँस पनि होइन
न मन्दीर पुज्नै पाउँ
न प्रेमीकाको हातमै थमाउँ ।

Kavita : Sarpako Khojima

काठमाडौँ
अझ भनौँ
यो सिङ्गै देश नै
दिन पर दिन
कालो–नीलो हुँदै गैरहेको छ
सर्पदंशित मान्छेझैँ

म सर्पको खोजीमा छु
हो, म ती विषालु सर्पहरूको खोजीमा
धेरै अघिदेखि हिँडिरेहछु
असन पसेर जसले
नुन–चामलका बोरा
र तेलका टिनलाई डसे
बजार घुमेर मोटा कपडा
र इँटा सिमेन्ट–सिमेन्ट–छड र कर्कटपातालाई डसे
स्लाइनको नली भएर थुपै्र बिरामीलाई
बालबालिकाका दूधका डब्बालाई डसे
विद्यालय पसेर देशका भविष्यलाई डसे
हाकिमको कलमको निब भएर असंख्य कर्मचारीलाई डसे
मलाई खोजी छ
हो, मलाई खोजी छ
ती काला विषालु सर्पहरूको
एक युग वित्यो
म हातमा लौरो बोकी
गल्ली गल्ली
चोक चोक
वन जङ्गल
र बाटाघाटामा ती सर्पको खोजीमा हिँडेको
तर सर्पका साटामा मैले बरु
गल्ली, चोक, वन, जङगल र बाटाघाटाहरू पो दंशित पाएँ
अब म बढी सतर्कताको साथ खोज्दैछु
पछ्याउँदैछु
ती छदमभेषी सर्प
जसले सभ्य रूपमा सभ्यतालाई र
पुजारी भई देवतालाई डसे
मलाई खोजी छ
जसले भिडियो भित्र पसी
नीला सर्प भई हाम्रो संस्कृतिलाई डसे
नदेखिएका पनि होइनन् ती अँध्यारामा
तर तर मेरो प्रहारभन्दा अघि
दुलोभित्र पस्थे
तिनलाई पनि नभत्काएको होइन मैल
तर मैले पछ्याउँदा पछ्याउँदै पनि
ती भागेर पर्खाल भित्र पसे
पर्खाल भत्त्काएँ
तर अफशोच !
ती यति अग्ला पर्खालभित्र पसे
जसलाई म
न त उक्लिन सक्छु
न भित्र पस्न सक्छु
मलाई थाहा छ
व्यर्थ छ मेरो अभियान
सर्प मार्नु ता परै जाओस
बरु कुनै पनि क्षण
म आफै डसिन सक्छु
तै पनि बसेको छु म पर्खाल कुरेर
पर्खाल घुरेर
कारण मालई खोजी छ ती सर्पको
जसले यो सुन्दर देशलाई बारम्बार डसिरहेछ
डसिरहेछ ।

 

कविता – सेतो लुगामा कालो

अरूका लागि भोकै बस्न
कठिन रहेछ !

सुनेर पनि नसुनेझैं गरिरहेछन्
भोगेर पनि नभोगेझैं गरिरहेछन्
देखेर पनि नदेखेझैं गरिरहेछन्
हात बाँधेर आफ्नो
केवल हेरिरहेछन् कतै 
र खोजिरहेछन्
आफ्नै नाभिको कस्तूरी !

चारैतिर शून्यता चलेका बेला
आवाज निकाल्न
ठूलै शाहस चाहिने रहेछ !

सानो हुँदा सिकाए–

सज्जन हुनू
ठूलो भएपछि पनि भनिरहे–
पेसामा निष्ठावान् हुनू
तिनका लागि लड्नू, जसलाई साँच्चै जरूरी छ !

सपथ लिएको पनि एकै हो–
सेतो लुगामा कहिल्यै कालो लगाउने छैनौं ।

मलाई कहिल्यै थाहा भएन
निष्ठाको परिभाषा कसरी फरक-फरक हुन्छ ?
कालो र सेतोको अनुहार उस्तै-उस्तै कसरी बन्छ ?

आफ्नै लडाइँ लड्न किन डराउँछन् मान्छे ?
किन हराउँछन् देशलाई चाहिएको बेला ?

लड्दा–लड्दै बेथितिविरूद्ध
म पागल भएँ
तर,
सज्जनहरूको बहुमतमा
पागल हुन त झनै कठिन रहेछ ।

अब एउटै डर छ-
मेरो मृ्त्युपछि
यी म्युट चेतनाहरूले
मलाई सहिद भनिदेलान् !

 

Source – http://baahrakhari.com