Nepali Katha – Ratyauli

गगनेको विवाह हुने भयो नि । एकाबिहानै पँधेरामा भुन्टीले कान्छीको कानैमा गएर खुसुक्क भनी । ए हो र कहिले कहाँ मलाई त पत्तै थिएन त । कान्छीले पनि उत्सुकतापूर्वक सोधनी गरी । यही चौविस गते हो रे कहाँ हो त्यो त मलाई पनि थाहा छैन । तर जे होस् बिहे त गर्ने नै भएछन् । प्रतिउत्तरमा भुन्टीले भनी । यत्तिकैमा रमा पनि गाग्री लिएर पानी भर्न टुप्लुक्क आइपुगी । खासखुस गरिरहेका भुन्टी र कान्छी हठात् चूप भए । चूप लाग्नुको कारण रमा गगनेकी भाउजु थिई । कुरो झिकेर रमाबाट सबै गुह्य कुरा दुहुने मनसायले होला सायद कान्छी प्याच्च बोली । रत्यौली त मज्जासँग खेल्न पाइने भो यसपाला । यो गाउँको यसवर्षको पहिलो बिहे । कसको रत्यौली नै आच्या । अनभिज्ञता प्रकट गर्दै रमाले भनी । हेर न त्यहाँ स्वाङ पारेकी । बडो हामीलाई लुकाउन खोज्ने हो र कि खुसुक्कै दुलही भित्र्याउने सुर छ कि क्या हो रमा देवरको । यतिाजेल चुप भएकी भुन्टी कुरोको चुरो फेला पर्न थालेपछि खूब टाँठी भई । रमा आश्चर्यमा परी । पर्नु पनि स्वाभाविकै थियो । हिजो बेलुका मात्र केटीको घरबाट टीकाटाला गरेर फर्किएका हुन् उसका देवर र लोग्ने । उनीहरु केटी माग्न गएको पनि कसैलाई पत्तै थिएन । बिहेको कुरो न हो भुसको आगोझैं फैलन्छ । हुन त एकदिन थाहा हुनुपर्ने कुरो हो तर पनि थोरै वास्तविकतामा धेरै अस्वाभाविक कुराहरु थपेर कानकान फुक्दै हिँड्छन् मान्छेहरु । हो हो हिजो बेलुका मात्र बिहे आँटेर आए चौबिस गतेलाई । कसले भन्याहोला यिनीहरुलाई । घरमा थाहा नहुँदै गाउँलेलाई पत्तो । यस्तो पनि हुने । रमालाई वास्तविक कुरो खोल्न करै लाग्यो । त्यसबेलासम्म पँधेरामा सात, आठजना आइमाइहरु जम्मा भइसकेका थिए । रमाको कुरो सुनेर सबै हाँसे । आआफ्ना गाग्री भरेर सबै घरतिर लागे ।

गाउँघरका महिलाहरुलाई त्यति फुस्रद हुँदैन । बिहान उठेदेखि बेलुकी सुत्नेबेलासम्म उनीहरु काममै व्यस्त हुन्छन् । खेतीपाती गोठधन्दा आदि गाउँलेहरुका जिउने साधनहरु हुन् । हाम्रो समाजमा व्यवस्था जति परिवर्तन हुन्छ तर अवस्था भने जहाँको तहीं रहन्छ । पुरुषको तुलनामा महिलाहरु नै काममा बढी जोतिन्छन् । उनीहरुलाई न कसैसँग बोल्ने फुस्रद हुन्छ न त कसैसँग भेटघाट गर्न नै । त्यसैले त महिलाहरुको महत्वपूर्ण कुराहरु गर्ने ठाउँ नै बनेको हुन्छ पँधेरो । एकाबिहानै पँधेरामा महिलाहरुको जमघट हुन्छ । किनभने घरको कामधन्दाको सुरुवात नै उनीहरुबाट हुनेगर्छ । त्यसैले त आज गगनेको बिवाहको कुरो त्यही पँधेराबाट चारदिशा फैलियो । बिबाह हुने नै भयो गगनेको । धुमधामसँगै हुने भयो । बाजा बजाएरै हुने भयो । जन्त जान पाइने भो भनेर गाउँका लोग्नेमान्छेहरु हौसिएका छन् रत्यौली खेल्न पाइने भो भनेर आइमाइहरुका खुट्टा भुईंमै छैनन् । सबैसँग हाँसी बोल्ने गगने । कसैसँग कलह र झगडा नगर्ने गगने । आपत परेका बेला अरुलाई मद्दत गर्न तम्सने गगने । इमान्दार गगने । सोझो लपनछपन नजानेको गगने । सबैको प्यारो गगने आँखामा राखे पनि नबिझाउने स्वभाव । त्यसैले त उसको बिहेले यति छिटै चर्चा पायो । उसको बिहेले गावैं उचालेको छ । ए ! यता सुन् त बिहे त रातीकै रहेछ नि । उही पँधेरामा उही एकाबिहानै गौंथलीले सुन्तलीलाई भनी । केटीको गाउँ अलि टाढा भएर रातमा गर्ने भएका हुन् रे क्या । दिनमा नभ्याउने भएर । सुन्तलीले आफुले सुनेको कुरालाई ओकेली । अझ थप्दै गई । यसपालाको रत्यौली त बल्ल रत्यौली जस्तो हुने भो । रातमा कसैले पनि देख्दैन म त लुठो भएर नाच्ने हो ।

ऊ कुत्कुतिएको देखेर त्यहाँ भएका अरु पनि गलल हाँसे । यस्तै पँधेरीबैठक हुँदाहुँदै बिहेको दिन पनि आयो । जीवनको त्यो महत्वपूर्ण घडीमा गगने पनि मख्ख छ । उसको घरमा बिहेको धूमधाम तयार छ । इष्टमित्र पाहुनापाछा सबै आइसकेका छन् । बिहेको दिन गगने सुटपाइन्ट र टाइमा चिटिक्क सजियो । टाउकाको ढाका टोपी र खुट्टाका टल्कने छालाका जुत्ताले उसलाई झन् लोभलाग्दो बनाइदिए । गाउँका बूढापाका तन्नेरीहरुदेखि लिएर दशपन्ध्र वर्षसम्मका अल्लारे केटाहरु जन्त हिँडे । साना भुन्टाहरुलाई ुबाटो लामो छ ु भनेर प्रतिबन्ध गरियो । त्यसमा पनि रातको बिहे साना केटाकेटीहरुको जिम्मा पनि कसले लिने उता हिँड्नका लागि लौरीको भर लिनेहरु जान सक्ने कुरै भएन । आखिर पाचेबाजा र जन्तीहरुको बीचमा रहेर गगने दुलही लिन घरबाट प्रस्थान गर् यो । यता आइमाइहरु बल्ल फुक्का भए । जन्ती घरबाट अलि पर के पुगेका थिए आँगनमा जमघट शुरु हुन थाल्यो । बाबै नि ! एकछिनमा त आँगन खचाखच भयो । मादलको तालमा आइमाइहरु रत्यौली सुरु गर्न थाले । जति जति रात छिप्पिन थाल्यो आइमाइहरुको रत्यौलीको रौनक पनि त्यति नै चरम सीमामा पुग्न थाल्यो । आमै नि ! लाजशरम सबै माटामुनि गाडेर उन्मत्त हुन थाले आइमाइहरु । त्यो उनीहरुको पनि दोष थिएन । किनकि उनीहरु सँधैं स्वतन्त्र छैनन् । आफ्ना इच्छा र चाहनाहरु सामाजिक संस्कारभित्र थुनिएर रहेका छन् । पशुलाई त बाँधेर राखिराख्दा अनि कुनैबेला फुकाउँदा त्यसलाई थाम्न गाह्रो हुन्छ । उनीहरु त मानिसहरु हुन् । समाजले र परिवारले उनीहरुलाई बाँधेर राखिराखेको फल हो त्यो । जे होस् रत्यौलीको माध्यमबाट आफ्ना भावहरु उनीहरु पोखिरहेका छन् ।

कान्छी भुन्टी सुन्तली गौंथली देखि गाउँका सबै सासुबुहारी चेलीबेटी लगायत घरैका सासुबुहारी रत्यौलीमा खूब मात्तिन थाले । चकमन्न रातको त्यो समयमा डरत्रास केही थिएन । केही आइमाइहरु आफ्ना पतिदेवका दौरासुरुवाल कमिज इष्टकोट जे मिल्छन् त्यही पहिरिएर लुठो बनेर लोग्नेमान्छेको नक्कल गरिरहेका छन् । बसेका आइमाइहरुलाई एकएक उठाएर आफ्नो जोडी बनाएर नचाउँदै गरेका छन् । लाजसरम पचिसकेको छ । आफ्ना श्रीमानसँग हुने कि्रयाकलापहरुको नक्कली प्रदर्शन भइ नै रहेका छन् । रमा आफ्नो पतिको सर्ट पाइन्टमा लुठो बनेर नाचिरहेकी थिइ । ऊ सुन्दर थिई । बाटुलो अनुहार बदामरुपी आँखा सुडोल शरीर गहुँगोरी कालो र लामो केश चिटिक्कै परेकी । पतिदेवका कपडा निकै सुहाएको थियो उसलाई । त्यत्तिकैमा एउटी आइमाइले उसलाई पाखुरामा च्याप्प समाती अनि उसको गालामा च्वाप्प म्वाइ खाइ । रमा पनि के कम थिई र ऊ त झन् पुरुष बनेकी थिई मर्दको संज्ञा पाएको पुरुष । त्यस आइमाइको गालैमा टोकिदिई । आइमाइ झन् उत्तेजित भई । रमालाई तानेर पिँढीतिर उकाली । आँगनका लुठा र आइमाइहरु आगनमै रौसिइरहे । मानौं अन्धकार रातले सबैलाई निलिरह्यो । यता आइमाइले रमालाई जाँतो भएको कुनामा पुर् याई । दुबै मात्तिएका थिए । आइमाइ तल परी रमा माथि । एकैछिनमा रमा तल आइमाइ माथि अनि त्यसपछि । रमा त्यसबेला मात्र झसङ्ग भई । जुनबेला उसले वास्तविक रुपमै पुरुषको संसर्गको अनुभव गरी । ऊ खग्रास भई । झटपट उठेर हेरी आइमाइ त्यहाँ थिइन । हँ के भयो यस्तो को हो त्यो आइमाइरुपी पुरुष रमा खूब आत्तिई । बल्ल ऊ पूर्ण रुपमा सचेत भई । तर के गर्नु रत्यौलीले उसको नारी अस्तित्वलाई लुटिसकेको थियो ।

Nepali Katha – Ghodchadhi

नयाँ सरकार बनेपछि गाउँ पुग्ने इच्छा, उत्सुकता र आवश्यकताबोध गरेर एक जना पत्रकार सहरबाट गाउँतिर लाग्यो । गाडीबाट झरेपछि उसले एक जना गाउँलेलाई पनि साथमा लियो ।

दिनभरिको हिँडाइपछि गोधुलीमा ऊ एउटा भञ्झ्याङ अर्थात् नेटोमा पुग्यो । चौतारी थियो, पसिना ओभाउन , सुस्ताउन चाह्यो । त्यति नै बेला दुई जना कुद्दै र पसिना पनि पुछ्दै स्याँस्याँ र फ्याँफ्याँ गर्दै त्यतैतिर आउँदै थिए । पत्रकार अलि डराए जस्तो पनि भयो- बन्दुक बोकेका ती दुई जना देखेर । उसले पुलुक्क हेर्‍यो गाउँलेतिर ।

“सेनाका मान्छे हुन्”- गाउँलेले विश्वस्त पार्‍यो ।

ती दुई बन्दुकधारीले पनि चौतारामा बस्नेहरूलाई पुलुक्क हेरे र फेरि कुदे ।

पत्रकार र गाउँले पनि ओरालो लागे । दस मिनेट तल जति गाउँ थियो । गाउँको मुखमै पुगे । त्यहाँ पनि बन्दुक बोकेको एउटा मान्छे कुद्दै अघिअघि आउँदै थियो र अलिकति पर चार पाँच जना घोडचढीहरू त्यतै आउँदै थिए । उनीहरू तल झर्दै गए, घोडचढीहरूसितको दूरी कम हुँदै गयो । पत्रकारमा केही मात्रामा भय पनि थियो र कौतुहलता पनि । घोडचढी र पत्रकारबीचको दूरी झन् कम भयो ।

बन्दुक बोकेर अघिअघि कुदेको मान्छेले आफ्नो गति बढायो ।

सबैभन्दा अगाडि कालो घोडा थियो । यस्यल्आर् बोकेको सेनाको मान्छे त्यहाँ थियो । त्यसपछि सेतो घोडा थियो, युवा कामरेड त्यसमा थियो । त्यसपछि थियो- रातो घोडा । त्यसमा केही अग्लो, मोटो, भुँडीवाल, खाइलाग्दो, जीउडाल र अनुहार परेको मान्छे चढेको थियो, त्यसको पछाडि खैरो घोडा थियो । त्यसमा एक जना अधबैंसे थियो र घोडाहरूको पछाडि यस्एल्आर बोकेका दुई जना , घोडालाई पछ्याउँदै कुद्दै थिए ।

घोडाहरू एउटा घरको आँगनबाट धुलो उडाउँदै कुदे, मान्छेलाई मिच्तै कुदे । कुखुराका चल्लाहरू यताउति कुदे, केटाकेटी छेउ-किनारा लागे । एक जना बूढीआमै घरको पिँढीमा बसेकी थिइन्, डरले भित्र कुदिन् । जान्न मन लाग्यो र सोधिन् ।

“फेरि बडाहाकिमहरू आउन थाले कि क्या हो गाउँमा ?”

”कस्तो नचिन्नु भा’को हाम्रा नयाँ मन्त्री होइनन्” – नातिनीले उत्तर दिई ।

उनले हावामा हात हल्लाइन्, हात हल्लाइको भाव अनुहारमा झल्कियो ।

त्यसको लगत्तैजसो एक जना गाउँलेले डोकोमा, मोर्चामा घाइते भएर दुवै खुट्टा गुमाएको जनमुक्ति सेनालाई बोकेर ल्याउँदै थियो ।

पत्रकारले पछाडि फर्केर हेर्‍यो । घोडचढीहरू पर पुगिसकेका थिए । बाटोमा धुलो उडेर कुइरिमन्डल भएको थियो ।

घाइतेलाई बोक्ने गाउँलेले भिन्नै अनुहारका साथ घोडचढीहरूलाई हेर्‍यो र लामो सास फेर्‍यो ।

पत्रकारको मुखबाट अनायास लामो उच्छवास निस्कियो ।

हिमालको चुचुरोबाट बाफ निस्किरहेको थियो ।

Nepali Katha – Dashain Ra Abodh Fuchhe

दशैं आउँने बेलाको मौसम साँच्चीकै रमाईलो हुन्छ । भौगोलिक हिसाबले पनि नेपालमा दशैं मान्नकै लागि प्रकृतिले सबै कुरा जुराई दिएको हो कि जस्तो लाग्छ । तर…. तर…. त्यहींका धेरै जसो जनताका लागि प्रत्यक बर्ष दशैं, दशैं हैन दशा बन्ने गरेको छ ।

फुच्चे ! पोहर, परारतिर त सानै भएकोले हामी गरिब छौ भन्ने थाहा पनि थिएन र उस्लाई के दशैं, के तिहार मतलब पनि थिएन । आमाको बाबुले अटम भर्दै आएको फुच्चेले यो पालीदेखि आमालाई कल्पनै नगरेका प्रश्नहरू एक पछि अर्को गर्दै सोध्न थालेको छ । पुच्चेले अरु सबै सोधे पनि हाम्रो बाबा खोई ? भनेर नसोधे हुँदो हो भन्ने उसको आमालाई ठूलो जलतराश थियो अर्थात चिन्ता लागिरहेको थियो ।

सुख र खुसी कुन चराको नाम हो ? भन्ने थाहा नै नभएको फुच्चेकी आमाले दशैं र तिहार त झन मान्नै बिर्सेकी थिई । बिहान के खाउँ, बेलुकी के खाउँ भईरहने फुच्चेकी आमा साहुहरूको खेतबारीमा काम नजुरेको दिन त व्रत बसेर दिन काट्दै आएकी थिई । अब त छोरोलाई पनि त्यो गुन्युको भोटो सानो हुदै आएको थियो । फुच्चेलाई गतिलो कमिज र जाँघेको जोह गर्न नपाउँदै दशैं नजिकिएको मार फुच्चेकी आमालाई पर्नु परेको थियो ।

फुच्चे गर्भमा छ भन्ने थाहै नपाई बिदेश लागेका दिलको मालिक आज सम्म अत्तो पत्तो छैन । बेजातीसँग बिहे गरिस भनेर न माईतीले हेरे, न घरकाले स्वीकारे । न घरकी न घाटकी भएको बेला झन गाउँबाटै निकाला गरियो । गाउँ-गाउँतिर डुल्दै जाँदा गाई भैसीको शरणमा एउटा साहुको गोठमा ओट लागेकी थिई । एकातिर भुँडीमा पापको डल्लो हुर्कदै थियो । छोरी जन्मियोस भन्ने कामना गर्दा गदै दुर्भाग्य बस भैंसी गोठमा छोरोको जन्म भयो । न्वारन नै नभएको छोरोको नाम वरपरका सबैले ए…फुच्चे भनेर बोलाउन थाले । आफू पनि छाती माथी ढुंगा राखी आफ्नो मुटुमा फलेको छोरालाई फुच्चे भनेर बोलाउन बाध्य हुन्थी ।

अब त फुच्चेले पनि दशैंको बेला अरुको आमाले घर, आगन र चौका सिंगार पटार गरेको देख्न थाल्यो । अरुको बाबाले “भ्या….भ्या …” गर्दै खसी ल्याएको पनि सुन्यो । अनि त्यस्तै अरुको बाबा बिदेशबाट बाकस टल्काउदै चरप्पै चाचा, पापा ल्याएको बुझ्यो । उसका सबै दौंतारीहरूले नयाँ-नयाँ लुगा लगाएको र मिठा-मिठा खाएको महसुस गर्न थाल्यो । त्यसैले होला अरुको लैलैमा फुच्चे पनि अन्यासै खुसी हुँदै थियो । अवश्य फुच्चेको अबोध मानस्पातलभरि अरुको घरमा जस्तै आफ्नो घरमा पनि धुमधामका साथ दशै भित्रिने आशा गरेको थियो । तर फुच्चेको आशा निराशामा परिणत हुँदै थियो । ऊ आमालाई प्रश्नमाथि प्रश्न थुपार्दै थियो । गर्दा गर्दा उस्का अबोध धेरै जिज्ञासाहरू उस्को आमाको मौन र अमिलो अनुहार अनि बलिनधारा आँशुसँगै नाजवाफमै टुङ्गिन बाध्य भएको थियो । बिचरा ! अबोध फुच्चेको के दोष ????

 

Nepali Katha – Nari Akarshan

“होस्टेलको कोठा हो यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटे पछि वार्डेन सरलाइ उसको च्यावनप्रासे चाला देखेर झ्वाँक चल्नु पनि स्वाभाबिक थियो । एक चड्कन हानेर वार्डेन सर एक्लै भुतभुताए “छ कक्षा पास भाछैन के सारो बैश अाको हँ यो टिपुरे केटालाइ” । अाइन्दा “यस्तो हरकत” कायम रहे स्कुलबाट निकाल्ने धम्की पनि दिए । उसको ति नायिका प्रतिको लगाव एक इन्च पनि घटेको देखिएन, पढाइ भने दिन प्रतिदिन खस्किदो थियो ।
दश एघार बर्षको फुच्चै ब्यावसायिक फिल्मकी एउटी नायिका प्रतिको यो लगाबको खवर पत्रिकाको “निकै मनोरञ्जक समाचार” बन्यो, बजारको यस समाचारलाइ “शालीन (?)” गृहिणीहरूले टिप्पणी गरे “अचेलका बच्चा उम्रिदै तिनपात !”। समाजका जेठा बाठाहरू भने अहिलेका केटाकेटीहरूलाइ “अस्लील चलचित्रले बिगारेको” निस्कर्षमा पुगे । “केटी भने पछि केटाहरूको जातै यस्तो” क्याम्पस पढ्ने युवतिहरूले अाफ्नो थेसीस अगाडी सारे । “पाठ-यपुस्तकमा नैतिक शिक्षाको कमी भएको” ठोकुवा गरे भरखर नयाँ पार्टीमा पसेर अाफ्नै पुरानो राजावादी पार्टीलाइ सराप्दै हिड्ने “क्रान्तिकारी” नेताले ।

मनोचिकित्सकको टोलीले गम्भिर अध्ययन पछि “शिशिरकी दिबङ्गत अामाको अनुहार उक्त नायिका सङ्ग मिल्ने हुनाले नायिका प्रति यस्तो लगाव देखिएको” निस्कर्ष निकाल्यो ।

Nepali Katha – Ganatantra Ko Sanskirti

लालपुरमा संविधान सभाको परिणामले गणतन्त्र घोषणा भयो । देशबाट सामन्तवाद अन्त भएको विधिवत घोषणा भयो । दरवारको वारेमा जीवनभरि अध्ययन गर्दागर्दै दशकौं विताएको बलबहादुर अत्यन्त उत्साहित भयो । जीवनभर दरवारको अपमान, अत्याचार र भेदभावले आजित भएको बलबहादुरले साँचो अर्थमा मुक्तिको अनुभव गर्‍यो ।

लालपुरको भू.पु. राजा निर्वासित भएर पलाएन भईसकेका थिए । अफ्रिकी महादेशको एउटा टापु नै किनेर बसेको खबर बलबहादुरले पनि पढेको थियो । बलबहादुर गणतन्त्र प्राप्तीको आन्दोलनमा अग्रणी मोर्चामा उभिएको आन्दोलनकारी पनि थियो । दरवारकै सेरोफेरोमा अध्ययन केन्द्रीत गर्ने व्यक्ति पनि यसरी गणतन्त्रको आन्दोलनमा सकृय भएर जेल नेल खेपेकाले गणतन्त्र प्राप्ती पछि उसलाई एकदुई सभामा दोसल्ला पनि ओडाइएको थियो । बलबहादुरलाई प्राप्त सम्मान र उत्प्रेरणाले प्रखर गणतान्त्रिक पनि बनाएको हो ।

वैदेशिक भ्रमणको सिलसिलामा अफ्रिका जाँदा भू.पु. राजालाई भेटेर बलबहादुरले आफ्नो अपमानको बद्ला लिने निधो गर्‍यो -“मैले पनि अब त्यस भू.पु.राजालाई “तँ” भनेर सम्बोधन गर्छु । त्यसले मलाई जीवनभर तँ भन्यो, मैले अपमान सहनु पर्‍यो । म अव अवश्य वदला लिन्छु ” ।

रेल, पानीजहाज चढेर सयौं किलोमिटर परको टापुसम्म पुग्यो । टापुमा भव्य दरवार थियो । दरवारको गेटमा बसेको पालेलाई आफू लालपुर भन्ने देशबाट आएको र आफू सोही भु.पु.राजाको नजिकको भएको बतायो । गेटको पालेले भित्र “बिन्ति” चढायो । प्रवेश गर्न “अनुमति निगाहा” भएको जानकारी पाएपछि बलबहादुर गेट भित्र पस्यो ।

त्यत्रो अजंग र भव्य दरवार उसले कहिलै देखेको थिएन । एकातर्फतरवारका चमकिला धारहरुका ताती एकापट्टी र अर्कोतर्फआधुनिक हतियार बन्दुक, एल.यम.जी., जि.पि.एम.जी. र रकेट मोटारहरु लस्करै सजाइएको थियो । ऊ एकतमाससँग हेरी रहेको थियो यत्तिकैमा अटाली माथीबाट रवाफका साथ आवाज आयो । “ए बले किन आईस यहाँ” । बलबहादुर खङग्रङ्ग तस्र्यो । तक्षण बलबहादुरले आफू त्यहाँ किन आएको थियो भन्ने कुरा विर्सियो र हतार हतार विन्ति चढायो -“मौसुफको पाऊमा दर्शन गर्न महाराज !” बलबहादुरको जीऊ एक्कासी चीसो भयो ।