Lagdachha Malai Ramailo – Madhav Prasad Ghimire

लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो

लेकै हेर्यौ लाली गुराँस बेंसी हेर्यो प्याउली
पिरती बास्ने परेवा बिरह बोल्ने न्याउली
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछु गाउँदा गाउँदै साथीले

सम्झन्छु म हिउँचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन माया बसाली
वनमा घाम नलागे जगत सारा अँधेरो
नौडाँडाको पारीमा प्रीतिको देश छ मेरो

मेरो कान्ले लेकैलाई पाकेर जाने बादल
हातले मैले नछोए पनि छ कति कोमल
डर लाग्छ मलाई यही बादलु छायाँले
पार्दछ जहाँ इन्द्रेणी पाइला भिज्ने मायाले

Timra Saath Hindne Lai – Sagar Saud

तिम्रा साथ हिड्नेलाई धेरै पछि देखे आज
त्यसैले त सम्झनामा एउटा गीत लेखे आज ।।

तिमीलाई देखे पछि उस्कै याद आयो मलाई
वेदनाले झर्ने आँशु गहभित्रै रोके आज ।।

उनी संग बोल्न नपाई विछोड मेरो भ’को थियो
उनी सम्झि तिम्रैसाथ सबै पीडा पोखे आज ।।

तिम्री साथी देखेपछि तिम्लाई भेटे जस्तै लाग्यो
अस्ताएको माया फेरि उदाएर बोके आज ।।

सम्झिएरै तिम्रो खेल्ने त्यही सुन्दर आँगनीलाई
तिम्रै नाममा एउटा सुन्दर फुल मैले रोपे आज ।।

Sirjana Lai Khoji Khoji – Komal Bhatta

सिर्जनालाई खोजी खोजी चोर्न थाले अचेल भरी
लुटाहारले लुट्दा जस्तै सोर्न थाले अचेल भरी

प्रस्तोता लाई हटाएर लाज र शरम पचाउँदै
आफ्नै नाम र ठेगाना पो कोर्न थाले अचेल भरी

दुनियाँका आँखा भित्र छारो हाल्दै पित्तलमा
सुनको जलप लगाएर मोर्न थाले अचेल भरी

नभन्दानि अचाक्लीभो भन्दा रिसले भुत्भुताउँदै
मित्रतालाई झर्ल्यामझुर्लुम फोर्न थाले अचेल भरी

नैतिकता र इमान्दारी रछान माथि मिर्काएर
सच्चा होइन झुट्टा नाता जोर्न थाले अचेल भरी

Fohor – Bhupin Byakul

के प्राण बाँकी हुन्छ र ती घरहरुमा
जहाँ कुनु फोहोर हुँदैन !

जीवन केवल
नमेटिने तृष्णा हो सौन्दर्यको
फोहोरको नदी किनारमा
फोहोर त त्यहाँ पनि हुन्छ
जहाँ पुग्छन सपनै सपनामा
उचाइ टेकेरफर्किरहेका जाँगरिला खुट्टाहरु
जहाँ छिर्छन रहरको बन्द ढोकाबाट
गहिराइ छोएर उत्रिएका सुन्दर आँखाहरु
फोहोर त्यहीं हुन्छ
जहाँ फुल्छन अदृश्य सम्भावनाहरु

असमर्थ छन् फोहोर गर्न
मुखियाको लौरिलाई झैं
समयको जी-हजुरी गरिरहेका अमुक गाउँहरु
श्रमिकका आवाजहरु निल्ने हृदयविहीन सहरहरु
कोठाभित्र अचेत पल्टिएका रोगि हावा
र मानिसको स्पर्श पर्खिरहेका किताबहरु !

गरिबीलाई झैं
चरम असफलतालाई झैं
र मेरा अभावका अनन्त परतहरुलाई झैं
फोहोरलाइ घृणा गर्ने मेरो सभ्य मित्रहरु
म कसरी सम्झाउँ तिमीहरुलाई
कि फोहोरको क्षितिजबाट उदाउँछ
कानुन र राज्यसत्ताको नयाँ घाम
फोहोरकै आकाशमा टिम्टिमाउँछन
कला र समस्त सौन्दर्यका जुनतारहरु
कसरी सम्झाउँ
कि फोहोरकै कडा आवरण फुटालेर
चल्लाझैं निस्कन्छ स्वयम् सफा पनि !

फोहोर रुमालले अनुहार पुछने पृथ्वीमा
फोहोर गरेरै जन्मिन्छ मानिस पनि !

निरपेक्ष कहाँ हुन्छ र स्वच्छता
बाँच्नको लागि फोहोर गर्नु जरूरी हुन्छ … … !

Birsi Birsi – Madhav Prasad Ghimire

लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्यो
आमाको ममता भुलेर कसरी माया मलाई गर्यो

छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ

हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ
‘ख्वै छोरीहरु छन् कता, म त गएँ, ख्वै माइती छन् कहाँ !

प्यारा ! यति रहेछ भेट, टुहुरी हेरेर बस्नु यहाँ !’

धोको यत्ति कहेर के हृदयले उल्टीरहेकी थियौ

हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ
मैले सोधिनँ, अन्त्यकाल कुनमा धोको अडेको थियो

मैले रोइनँ, प्राण जान कतिको बाधा परेको थियो

हेरेँ टुल्टुल खाली, दीन मुखमा हेरीरहेकी थियौ

हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ
आँसू झर्न सकेन खालि रसिला आँखा लिएकी थियौ

बाक्लो फुट्न सकेन खालि दिलको भाषा भनेकी थियौ

मेरो ध्यान गरी मभित्र कसरी आत्मा मिलाईदियौ

हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ
गथ्र्यौँ दम्पति मृत्युका पनि कुरा माया र सन्तोषमा

भन्थ्यौ– मैँ पहिले मरुँ हजुरको प्यारो यही काखमा !

साँच्चै भाग्यवती सती हृदयकी सच्चा ! मलाई जित्यौ

हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ
तिम्रो पाप थिएन, चार दिनको चोला थियो कञ्चन

तिम्रो धर्म थियो, सुन्यौ दिनभरी श्रीकृष्णको कीर्तन

राती शीतल मेघको मनि महानिद्रा सजीलै लियौ

हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ
तिम्रो रुप र माधुरी धमिलिँदै जाला कुनै कालमा

जानेछन् अनि बिर्र्सदै गुन पनी यो बैगुनी विश्वमा

बिर्सि बिर्सिसकिन्न किन्तु कहिल्यै जो यो अनौठो गर्यो

हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

Muglan ko Tithi – Rabindra Nath Thakur

सोच्दछु, यो कुरो कहिले भयो ?
तिम्रो गीत गाउँदा–गाउँदा म कहिले बाहिर आएँ ? : कहिले आएँ

यो कुरो आजको होइन, आजको होइन !

आज मैले तिमीलाई पाउन आएको थिएँ,

कहिले आएको थिएँ : यो पनि भुलेँ ।

यो कुरो आजको होइन, आजको होइन !
जसरी कोही कोही ढीलो बाहिर आयो,

अनि कोसित भेट्नुछ, यही भूल भुल्यो,

यसरी नै मेरो जीवन–प्रवाह बाहिर निस्केको थियो,
तर, यो कुरो आजको होइन, आजको होइन !

मैले तिमीलाई कति नाउँले आह्वान गरेँ मतिपय चित्रहरुमा तिम्रो

ध्वनि भरेँ, तिम्रो ठेगान पाइनँ ।

तर, यो कुरो आजको होइन, आजको होइन !

Ma Lahara Bhayen – Laxmi Prasad Devkota 

अहा ! म लहरा भए मनहरा हरा भू जरा
चुसी रस फुलाउँथे कुसुम वासका सुन्दर,

रमी हृदय आउँथे चिरबिराउँदा स्वर्चरा,

स्वदेश रस बन्न गो तर कवित्व यो वर्वर !