Lau Anjuli Tin Baar Jal Ko – Madhav Prasad Ghimire

सेलायो उनको चिता र दिनको ज्वाला निभ्यो पश्चिम
यो छाया–छविको डुब्यो दिन, डुब्यो रङ्गीन त्यो जीवन
थोत्रो देवल, शून्यसान दुनियाँ, सारा अँध्यारोतिर
जाऊ हे सखि ! साँझको शिखरको पारी उज्यालोतिर

बत्ती यो घरबाट बल्छ अहिले सङ्घारमा दख्खिन
बाल्थिन् यै घरभित्र बत्ति घरकी लक्ष्मी उनी क्वै दिन
हे वैवस्वत ! बत्ति यो शहरमा तिम्रो लगी जोडिद्यौ
उल्टीद्यौ सब अन्धकार उनको बाटो तिमी छोेडिद्यौ

छायारुप लिएर शून्य घरमा आई नच्याऊ अब
हाम्रा आँसु नहेर, निष्ठुर बनी माया चुँडाल्द्यौ सब
हल्का प्वाँख उचाल, झार भुइँमै धूलो र मैलो जति
जाऊ सुन्दर शान्त देश, पुतली ! हे ज्योतिकी सन्तति !

लाऊ अञ्जुलि तीन बार जलको, खाएर जाऊ सखी !
यौटा फुल चुँडेर दिन्छु दिलको लाएर जाउः सखी !
आँसू आज पुछेर दुःख सब यो बिर्सेर जाऊ सखी !
मान्छेको घर अन्धकार छ भनी सम्झेर जाऊ सखी !

आऊन् पुष्पविमान पुण्यबलले निस्केर आकाशमा
हाँसी क्यै वरदान द्यौ रहरको, जाऊ सखी ! बैँसमा
लैजाओ अमरावती शहरमा हे स्वर्गका देवता !
ताराका सँग हाँस है, अब तिमी नौ लाखमा एउटा

हाँस्यौ, प्यार गर्यो, बिगार गरिनौ कैल्यै कसैको यहाँ
यो चारै दिनमा पनी गरिसक्यौ जो गर्नुपर्ने यहाँ
केही बाँकि भए म गर्छु सँगिनी ! ज्यूँदै छु आधा अब
तिम्रो खेल समाप्त भो सब, तिमी विश्राम लेऊ अब

मट्टीलाइ फुकेर प्राण बिउँझ्यौ हे फुलकी वासना !
हाँस्यौ घाम र जूनको मनि यहाँ हे स्वर्गकी सिर्जना !
देवी ! जोबनमै गयौ, मलिन यो मट्टी बिसाईकन
हाम्रै जीत छ प्यार चार दिनको पायौ महापावन

टाढा निर्मल मौन शान्त गहिरो आनन्दले दीपित
तिम्रो शाश्वत धामभित्र भवको पर्दा खसाली सुत
एकै बार जहाँ सुतेर कहिल्यै पर्दैन है ब्यूँझन
बल्छन् बाहिर जून्किरीसित जहाँ नौलाख तारागण