Lali Gurans – Tanka Subba

लालीगुरास
तिमी नफुले
फुल्दैनन् सुनगाभा र सयपत्री फूलहरु
हास्दैनन् वनपाखा र भीरपखेराहरु
किनकी सेता सेता हिमालका फेदीमा छौ
अग्ला अग्ला पहाडको टाकुरीमा छौ
छौ, सुशोभित सुनाखरी जस्तै
छौ हर्षित लालुपाते जस्तै
र नाच्छौ डाफे मुनालसंग गुञ्जदा लोकलहरी
त्यसैले फुलाएका छौ देशलाई मुहारभरी

लालीगुरास
खिलिएकी छौ तिमी हरियाली चुल्ठोभरी
वैंशालु युवतीको चुल्ठोमा खिलिएको फूल झैं
मुस्कुराइरहेकी हुन्छौ झरिवादल र ठिहीमा पनि
वैंशको सहरमा मुस्कुराएको मान्छे जस्तै
सारा क्षण लजाइरहेछ ति म्रो लालीमा देखेर
फुलेका छन् सुनाखरी र सयपत्री ति म्रै आभाष पाएर
त्यसैले जगमगाइ रहेछौ प्रतिष्ठा बनेर
फूलहरुको प्रतिनिधित्वमा फुलेका राष्ट्रियता जगाएर
कहिल्यै नअघाइने ति म्रो रङ्ग
चहार्छ मुटु बनेर धड्किन्छ सारा अङ्ग

लालीगुरास
तिमी नफुले पालुवा मौसममा कोइली बोल्दैन
तिमी नफुले नदीनाला सुसाउदैन
तिमी नफुले दुःखका क्षणहरु भुलिदैन
तिमी नफुले नेपालीको मन फुल्दैन
तिमी नफुले खुशियालीमा देश झुम्दैन
त्यसैले ओइलिएका मनहरुमा ताजा फूल भएर फुल
हरेकको आखामा रोशनी भरेर फुल
हरेक वर्षको चहलपहलसंगै युगौं युग फुल
लालीगुरास
तिमी सबैको मिठो सपना भएर फुल

Sahi Bato – Yuddha Prasad Mishra

संकीर्णताको परखाल नाघी
यथार्थ वैज्ञानिक पन्थ लागी
पीडितमा जागृति बत्ति बाल
भगाइद्यौ भारतका दलाल

प्रगति भो अब व्यापक जाज्वल
परिसके प्रतिगामीहरू तल
उठिसक्यो भई व्यापक जागृति
उदित भै जनमानसको स्थिति

विजयको भई दर्पण शानमा
प्रवल भै मनको बलिदानमा
जनजागृत भै उठदै गयो
परपीडनता टुट्दै गयो

असही शोषण जागृति हो सही
जनयथार्थ कुरो बीचमा नरही
फगत नित्य रुचाइ विलासता
रहन संभव छैन कतै यता

Lau Anjuli Tin Baar Jal Ko – Madhav Prasad Ghimire

सेलायो उनको चिता र दिनको ज्वाला निभ्यो पश्चिम
यो छाया–छविको डुब्यो दिन, डुब्यो रङ्गीन त्यो जीवन
थोत्रो देवल, शून्यसान दुनियाँ, सारा अँध्यारोतिर
जाऊ हे सखि ! साँझको शिखरको पारी उज्यालोतिर

बत्ती यो घरबाट बल्छ अहिले सङ्घारमा दख्खिन
बाल्थिन् यै घरभित्र बत्ति घरकी लक्ष्मी उनी क्वै दिन
हे वैवस्वत ! बत्ति यो शहरमा तिम्रो लगी जोडिद्यौ
उल्टीद्यौ सब अन्धकार उनको बाटो तिमी छोेडिद्यौ

छायारुप लिएर शून्य घरमा आई नच्याऊ अब
हाम्रा आँसु नहेर, निष्ठुर बनी माया चुँडाल्द्यौ सब
हल्का प्वाँख उचाल, झार भुइँमै धूलो र मैलो जति
जाऊ सुन्दर शान्त देश, पुतली ! हे ज्योतिकी सन्तति !

लाऊ अञ्जुलि तीन बार जलको, खाएर जाऊ सखी !
यौटा फुल चुँडेर दिन्छु दिलको लाएर जाउः सखी !
आँसू आज पुछेर दुःख सब यो बिर्सेर जाऊ सखी !
मान्छेको घर अन्धकार छ भनी सम्झेर जाऊ सखी !

आऊन् पुष्पविमान पुण्यबलले निस्केर आकाशमा
हाँसी क्यै वरदान द्यौ रहरको, जाऊ सखी ! बैँसमा
लैजाओ अमरावती शहरमा हे स्वर्गका देवता !
ताराका सँग हाँस है, अब तिमी नौ लाखमा एउटा

हाँस्यौ, प्यार गर्यो, बिगार गरिनौ कैल्यै कसैको यहाँ
यो चारै दिनमा पनी गरिसक्यौ जो गर्नुपर्ने यहाँ
केही बाँकि भए म गर्छु सँगिनी ! ज्यूँदै छु आधा अब
तिम्रो खेल समाप्त भो सब, तिमी विश्राम लेऊ अब

मट्टीलाइ फुकेर प्राण बिउँझ्यौ हे फुलकी वासना !
हाँस्यौ घाम र जूनको मनि यहाँ हे स्वर्गकी सिर्जना !
देवी ! जोबनमै गयौ, मलिन यो मट्टी बिसाईकन
हाम्रै जीत छ प्यार चार दिनको पायौ महापावन

टाढा निर्मल मौन शान्त गहिरो आनन्दले दीपित
तिम्रो शाश्वत धामभित्र भवको पर्दा खसाली सुत
एकै बार जहाँ सुतेर कहिल्यै पर्दैन है ब्यूँझन
बल्छन् बाहिर जून्किरीसित जहाँ नौलाख तारागण

Ye Naulo Manchhe – Shrawan Mukarung

ए नौलो मान्छे सुन यो सहरमा तिमी एक्लो छैनौ
बाटो हराएका
माटो गुमाएका
यो ठूलो संसारमा तिमी एक होइनौ

कति छन् यहाँ आफ्नो नाम खोज्दा बेनाम भएका
कति छन् यहाँ अनुहार खोज्दा पग्ली झरेका
ए नौलो मान्छे…

यहाँ छन् हजारौँ दुःखले गलेका मानिसका आँखा
यहीँ छन् हजारौँ मान्छे अटाउने देवताको काख
ए नौलो मान्छे…

तिमीले टेकेको गोलो यो पृथिवी तिम्रो पनि हो
यो धर्ती, यो आकाश अहँ हुँदैहोइन बिर्ता

Samundra Heri – Bhupin Byakul

बग्दै गरेको
कुनै समुद्रझैं देखिन्छ मानिस
जब ऊ समुद्रअघि उभिन्छ !

हिमपहिरोबाट बग्दैबग्दै
पग्लदै आएको बरफको ढिक्काजस्तो
मानिस जब समुद्रमा हामफाल्छ
बिलाउँछ ऊ
असिनाहरु बिलाएझैं माटोमा
यात्रीहरु बिलाएझैँ बाटोमा

फुट्न तयार
हजारौं ज्वालामुखीहरु छन् समुद्रसँग
खलपात्र सन्तानको पेट बोकेकी आमाको गर्भझैं
लाखौंको ज्यान लिने
सुनामीहरु छन् समुद्रको गर्भमा
मान्छे निल्ने साइक्लोनहरु छन्
ढुंगा काट्ने छालहरु छन्
र पृथ्वी नै हल्लाउने
भयङ्कर हलचल छ समुद्रसंग

समुद्रअघि उभिएको मानिससंग पनी
यी सबै छन्
सीमाहीन सीमाहरू छन्
जहाँ कोह कोलम्बस पुगेको छैन अझसम्म
जीवनभरी हिंडेर नसकिने
अन्नत बाटाहरु छन्
दुर्घटित
इतिहासका किम्बदन्तीहरु छन्
अभेद्य प्रश्नहरु छन्

समुद्र बोकेर पिठ्युँमा
प्रकाश छिरेझें झ्यालबाट चोटामा
मानिस घरभित्र छिर्छ
अफिस जान्छ
बैठकको निर्णयमा हस्ताक्षर गर्छ
पहाड चढ्छ र ओर्लन्छ
उसको मुटुले छाती बझाएझैँ
मन्दिर गएर घन्ट बजाउँछ
मौन बस्छ
कविता लेख्छ
र समुद्रझैँ
जीवन र मृत्युका सीमनाहरुमा बगिरहन्छ !

समुद्रअघि उभिएको मानिस
समुद्रमा मिसिएको पानीजस्तो देखिन्छ !

Sapana Ra Shiva – Sarubhakta

यातना घर
इरेजरले मेटिएका अनुहारहरू
स्वयम्भू माफियादेवहरूको अर्चना गर्छन्
यो युग नरभक्षी बाघहरूको युग होइन
नरभक्षी नरहरूको युग हो !
वेवारिसे लासहरू
गाउँ छोड्ने सपनाका लस्कर चलेका छन्
भोकाएका अजिङ्गरहरू
छुचुन्द्राहरूका जुलुसमा सामेल छन्
ए ! यो देशबाट देवताहरू विस्थापित भइसके ?
त्यसो भए मन्दिरहरूको होइन
भ्रष्टाचारहरूको जीर्णोद्धार गरौँ
लोपोन्मुख गिद्धहरू
आमाहरूलाई सोध, प्रत्येक गर्भ घाइते छ !
मृगमरिचिका
देशका लागि सर्वत्र देश विस्फोटित छ
दोर्जेलाक्पा हिमालको कसम
यो देशमा अब खतराहरू मात्र सुरक्षित छन् !
ˆयाउराहरूको आत्मकथा
ध्रुवीय भालुहरूको डरयुक्त भर छ
कस्ले कस्को स्थिति सार्वजनिक गर्ने ?
जीवन सधैँ भुइँचालो र्फकने प्रतीक्षामा व्यतीत छ !
अलिनो भान्सा
दरबारमार्गका झडपहरू
एम्बुस जडान जिन्दगीका जिजीविषाहरूसँगै
सपना भुलाई गएका शिव अधिकारीहरू कता लागे ?
बन्दका हल्लाले बन्द देश
सावधान, तोडा चलेको छ
डबलीमा कात्तिक नाचहरू हेर्दै
ऊ लास परेका जुलुसहरू जीवनको अभिनय गर्दैछन् !
आङमा लुगा छैन ?
त्यसो भए निःशुल्क केटि्रमोक्साजोल खाऔं
कठ्याङ्गि्रने जाडो याम
मनहरूको अकुपन्चर चलेको छ !
अन्धोयुग
के ब्रेल छाम्ने औँंलाहरू पनि लोप भई सके ?

 

Tamagai Deshko Manchitra – Bhupin Byakul

शहरले अपहरण गरेको छ, तिम्रो आत्मा
र अचानो माथि राखेको छ, तिम्रो ढुकढुकी
देश, म त्यही आस्था र ढुकढुकी खोज्दै
यस्तो गाउंमा आईपुगेको छुं
जहां मान्छेहरु भन्दा बढी घरहरु छन्
जहां सुरक्षाहरु भन्दा बढी डरहरु छन्

मेरो अनुहारनै
एउटा प्रश्न भएर अगाडि उभिए पछि
गाउंका बृद्ध मुखिया ओतेले भने –
“युवतीहरु सपना खोज्न शहर पसेका छन्
युवाहरु जिवन खोज्न बिदेश पसेका छन्
र प्राण थामि रहेका बुढा बुढीहरु
आंगनमा काल पर्खेर बसेका छन्
यो गाउंको तातो पसिना
बिदेशको माटोमा बगेको छ
यो गाउंको तातो रगत
बिदेशको पानीमा बगेको छ ।”

मैले सोधें –
“कसले रोपेर गए
लाहुरे फुलका यि उदास बोटहरु ?
कसले गोडेर गए
फुलबारी, करेसाबारी र खेतबारीहरु ?
खोई बिहान जगाउन
भालेहरु बासेको यो गाउंमा ?
खोई गाउं ब्युंझाउन
हिमालहरु हांसेको यो गाउंमा ?”

गाउंको जम्मै उज्यालो बिदेश लैजाने
छोरा छोरीहरु सम्झदै
बृद्ध मुखिया आतेले रुंदै भने –
“लाहुरे फुलहरु नओईलाउंदै
र बिहान ब्युंझाउन भालेहरु नबास्दै
उनीहरु आएनन् भने
मृत्यु आउने छ हाम्रा ओछ्यानहरुमा
हामीहरु सबै यसरी मर्नेछौंकी
मलामी जान पनि कोही बांकी रहने छैनन् !”

मैले देखि रहेको थिएं –
शहरमा एक रात पनि बास नपाएर
संवेदनामा संस्कृतिहरु गाउं पस्दै थिए
र यहि क्रममा
तामागी
देशको मानचित्रबाट मेटिदैं थियो !

kabita – baadal

कहिले बन्ने हात्ती घोडा, कहिले बन्ने रूख
लहराउँछौ जताततै कति ठुलो मुख

गर्जिन्छौ मेघ बनी, बनी दिन्छौ वर्षा
उफ्रिन्छौं बालकहरू, हामी हुन्छौ हर्ष

जताजता हावा चल्छ, त्यतै बहि दिन्छौ
चम्किदिन्छौ बिजुली भै हाम्रो सातो लिन्छौ

कहिले बन्छौ सेतो हात्ती, कहिले बन्छौ कालो
लुकमारी खेल खेल्ने, अब हाम्रो पालो

गर्मीमा शीतल दिन्छौ, छेकी घामलाई
अन्नवाली स्वाहा पार्छौ असिना पो भई

harayeko mero manchhe – shrawan mukarung

हराएको मेरो मान्छे
तिमी एकदिन जरुर आउँछौ
पिरतीको अर्थ के हो ?
त्यही बेला थाहा पाउँछौ ।

कति भाग्यो चन्द्रमा यो
पृथिवीलाई रुवाएर
तर साँझ आउँछ फेरि
लाखौँ दीप जलाएर
एकान्तमा वेदनाको
माला जब तिमी लाउँछौ
पिरतीको अर्थ के हो
त्यही बेला थाहा पाउँछौ

जहाँ जाऊ जता पुग
भेटिने त उही मान्छे
मानिसकै अनुरोगले
बाँधिएको हुन्छ मान्छे
सम्झनाको कुनै मोडमा
जतिखेर तिमी धाउँछौ
पिरतीको अर्थ के हो
त्यहीबेला थाहा पाउँछौ ।

उ आइरहेको छ – रबिन्द्र नाथ ठाकुर

उआइरहेको छ, आइरहेको छ, आइरहेको छ !
उसको पदध्वनि तिमीले सुनेका छैनौ ?
युग, पल–पल, दिनोदिन रातरात :
उ आइरहेको छ, आइरहेको छ, आइरहेको छ !
ह्दयको तरंगमा उसको कति गीत गाइसकेँ,
ती सब गीतको स्वरमा यही आवाज निस्कन्छ :
उ आइरहेको छ : आइरहेको छ : आइरहेको छ !
बसन्तको रमाइलो दिन, उ वनको बाटो भएर आउँछ,
साउनको अँध्यारो रातमा मेघको गर्जिरहेका रथमाथि चढेर
उ आउँदछ ।
जब दुःखमाथि दुःख आउँछ, सो दुःख होइन उसको चरण,
मनलाई छुन्छ ,
नब सुखको भान हुन्छ, त्यसैका चरणको स्पर्शले मन आनन्दित पार्छ,
त्यही चरण–ध्वनि नै मनको स्पन्दन हो !
उ आइरहेको छ, आइरहेको छ, आइरहेको छ !

रबिन्द्र नाथ ठाकुर
ravindranath-tagor

पूर्ण आशा – रबिन्द्र नाथ ठाकुर

यहाँ म जुन गीत गाउन आएको छु, त्यसलाई गाउन सकिनँ ।
आज केवल वीणाको तारका स्वर मिलाइरहेछु,
गाउने लहड मनमा नै रह्यो ।
मेरो स्वरमा समता आएको छै्रन, मेरा शब्द लरबर हुन्छन् ।

केवल प्राणमा गीत गाउने व्याकुलता रहेको छ ।
आज यमि फुलहरु फक्रेका छै्रनन्, केवल हावासँग नाचिरहेछन् !
मैले उसको दर्शन गरेको छैन, उसको बोली सुनेको छैन,
केवल उसको पदध्वनि मात्र क्षण–क्षणमा सुनिरहेछु :
यही मानिस मेरो ढोकाको अगाडी आउँछ अनि जान्छ,
मेरो सारा दिन उसको सत्कारका लागि आसन तयार पार्दा नै
बितिसक्यो,

घरमा पाला पनि बलिसक्यो,
अब उसलाई कसरी पुकारुँ ?
उसँग मेरो भेटघाट भएको छैन,
तैपनि उ आउँछ, भेट हुन्छ, यो पूर्ण आशा मेरो प्राणमा रहेको छ ।
मैले उसको स्वर सुनिनँ, क्षण–क्षणमा उसको पदध्वनि सुन्दछु ।

Rabindra Nath Thakur
Rabindranath_Tagore_-_A_Poet_like_no_Other

मन्दिर – रबिन्द्र नाथ ठाकुर

पुजारी ! भजन, पूजन, साधन, प्रार्थना यमि
सबैलाई एकातिर राखिदेऊ ।
ढोका बन्द गरेर मन्दिरको कुनामा किन बसिरहेछौ ?
आङ्खनो मनको अन्धकारलाई लुकाएर बसिरहेछौ, तिमी कस्तो
पूजामा एकचित छौ ?
आँखा खोलेर एकपल्ट हेर, तिम्रो मन्दिरमा देवता छैन !

जुन रुखा जमीनलाई नरम पारेर कृषकहरुले खेतीपाती गरिरहेछन्,
जुन ठाउँमा रोजगरीहरुले पत्थर फोरेर बाटा बनाइरहेछन्,
तिम्रो देवता त्यहीं गएको छ !

उ घाम–पानीमा सधैँ एकै रहन्छ,
उसका दुव हात माटोले पूर्ण छन्,
उसको नगीचमा जानुछ भने सुन्दर वस्त्र त्यागेर माटोले भरिएका
बाटाबाट जाऊ !
तिम्रो देवता मन्दिरमा छैन, भजन, पूजन, साधन एकातिर
राखिदेऊ !