Nepali Katha – Ghodchadhi

नयाँ सरकार बनेपछि गाउँ पुग्ने इच्छा, उत्सुकता र आवश्यकताबोध गरेर एक जना पत्रकार सहरबाट गाउँतिर लाग्यो । गाडीबाट झरेपछि उसले एक जना गाउँलेलाई पनि साथमा लियो ।

दिनभरिको हिँडाइपछि गोधुलीमा ऊ एउटा भञ्झ्याङ अर्थात् नेटोमा पुग्यो । चौतारी थियो, पसिना ओभाउन , सुस्ताउन चाह्यो । त्यति नै बेला दुई जना कुद्दै र पसिना पनि पुछ्दै स्याँस्याँ र फ्याँफ्याँ गर्दै त्यतैतिर आउँदै थिए । पत्रकार अलि डराए जस्तो पनि भयो- बन्दुक बोकेका ती दुई जना देखेर । उसले पुलुक्क हेर्‍यो गाउँलेतिर ।

“सेनाका मान्छे हुन्”- गाउँलेले विश्वस्त पार्‍यो ।

ती दुई बन्दुकधारीले पनि चौतारामा बस्नेहरूलाई पुलुक्क हेरे र फेरि कुदे ।

पत्रकार र गाउँले पनि ओरालो लागे । दस मिनेट तल जति गाउँ थियो । गाउँको मुखमै पुगे । त्यहाँ पनि बन्दुक बोकेको एउटा मान्छे कुद्दै अघिअघि आउँदै थियो र अलिकति पर चार पाँच जना घोडचढीहरू त्यतै आउँदै थिए । उनीहरू तल झर्दै गए, घोडचढीहरूसितको दूरी कम हुँदै गयो । पत्रकारमा केही मात्रामा भय पनि थियो र कौतुहलता पनि । घोडचढी र पत्रकारबीचको दूरी झन् कम भयो ।

बन्दुक बोकेर अघिअघि कुदेको मान्छेले आफ्नो गति बढायो ।

सबैभन्दा अगाडि कालो घोडा थियो । यस्यल्आर् बोकेको सेनाको मान्छे त्यहाँ थियो । त्यसपछि सेतो घोडा थियो, युवा कामरेड त्यसमा थियो । त्यसपछि थियो- रातो घोडा । त्यसमा केही अग्लो, मोटो, भुँडीवाल, खाइलाग्दो, जीउडाल र अनुहार परेको मान्छे चढेको थियो, त्यसको पछाडि खैरो घोडा थियो । त्यसमा एक जना अधबैंसे थियो र घोडाहरूको पछाडि यस्एल्आर बोकेका दुई जना , घोडालाई पछ्याउँदै कुद्दै थिए ।

घोडाहरू एउटा घरको आँगनबाट धुलो उडाउँदै कुदे, मान्छेलाई मिच्तै कुदे । कुखुराका चल्लाहरू यताउति कुदे, केटाकेटी छेउ-किनारा लागे । एक जना बूढीआमै घरको पिँढीमा बसेकी थिइन्, डरले भित्र कुदिन् । जान्न मन लाग्यो र सोधिन् ।

“फेरि बडाहाकिमहरू आउन थाले कि क्या हो गाउँमा ?”

”कस्तो नचिन्नु भा’को हाम्रा नयाँ मन्त्री होइनन्” – नातिनीले उत्तर दिई ।

उनले हावामा हात हल्लाइन्, हात हल्लाइको भाव अनुहारमा झल्कियो ।

त्यसको लगत्तैजसो एक जना गाउँलेले डोकोमा, मोर्चामा घाइते भएर दुवै खुट्टा गुमाएको जनमुक्ति सेनालाई बोकेर ल्याउँदै थियो ।

पत्रकारले पछाडि फर्केर हेर्‍यो । घोडचढीहरू पर पुगिसकेका थिए । बाटोमा धुलो उडेर कुइरिमन्डल भएको थियो ।

घाइतेलाई बोक्ने गाउँलेले भिन्नै अनुहारका साथ घोडचढीहरूलाई हेर्‍यो र लामो सास फेर्‍यो ।

पत्रकारको मुखबाट अनायास लामो उच्छवास निस्कियो ।

हिमालको चुचुरोबाट बाफ निस्किरहेको थियो ।