Ragat – Bikram Subba

रगतको आफ्नै मगज हुँदैन
दिमागका हरेक रेसामा रगत नपुगे
गिदी मर्ला र समाज बदल्ने
संघर्षको मार्गचित्र कसले सोच्ने?

रगतको आफ्नो आँखा हुँदैन
आँखाको नानीले रगत खान नपाए
दृष्टीहरू मर्लान्
र, स्वतन्त्र मानिसका अनुहार केले हेर्ने?

रगतको छुट्टै कान हुँदैन
कानका सबै अबयबमा रगत नपुगे
श्रव्यशक्ती मर्ला
र, मानिसको विजयी गीत केले सुन्ने?

आफ्नो ओठ पनि हुँदैन रगतको
आधरका हरेक सिरामा रगत नपसे
आमाका चुम्बनलाई
केले ममतामयी, ज्युँदो र न्यानो बनाउँने?

रगतको आफ्नो गला हुँदैन
पुग्दो रगत कण्ठमा सिंचित नभए
निर्जीव गलाले
मुलुकको मायामा
गर्विलो गीत कसरी गाउला?

रगतको आफ्नो हात पनि हुँदैन
देशबासीका सहस्र हातहरूमा रगत नपुगे
हातहरू पनि मर्लान्
र ठूठाजस्ता हातले हतियार समाउँदैनन्
अनि सिमानाका प्रत्येक गौँडामा
देशको रखवारी कसरी गर्ने?

कुनै किसिमको मुटु पनि हुँदैन रगतको
मुटुका अणुअणुमा रक्तकण नपुगे
मुटु पनि मर्ला
र आर्यघाट पुगेको मुटुले
सारा नेपालीको ढुकढुकी कसरी बोलिदेला?

फोक्सो पनि हुँदैन रगतको आफ्नो
फोक्सोका दुबै फप्लेटामा हर्दम् रगत नपुगे
फोक्सो मर्ला र मृत फोक्सोले
जातजातका मानिसले कसरी सास फेर्ने?

पाठेघर पनि हुँदैन रगतको
हरेक जवान युवतीका गर्भाशयमा
नित्य स्वच्छ रगत नपुगे
सृष्ठीको मुहान मर्ला
र क्रन्तीवीर जन्माउँने
मातृसपना कसरी पुरा होला?

रगतको हिँड्ने खुट्टा पनि हुँदैन
खुट्टाका हड्डी, नसा र मांसपेसीहरूमा
मनग्गे रगत नपुगे
खुट्टहरू मर्लान्
त्यसपछि त,
परिवर्तनको नयाँ क्षितिज टेक्न
इन्क्लाबी जुलुसमा कुन पाइला हिँड्लान् ?

Dui Shahar – Bikram Subba

उता चिडियाखाना छ
र्सपहरु छन, गोहीहरु छन्
स्याल र भालूहरु छन्
गिद्धहरु छन्

यता मन्त्रालयहरु छन, संसद र क्याविनेट छ
प्रधानमन्त्री,
मन्त्री,
अध्यक्ष र सांसदहरु छन्
वाग्मतीको पुलले
यी दुबै शहरहरुलाई
चुपचाप जोडिदिएको छ

Pilo – Bikram Subba

युगौँदेखि उत्तानो आँ…खोलेर बसेको
कान्तिपुर
कहिल्यै नअघाउँने खञ्चुवा मुख
जसको अनुहारबाट सर्वत्र पीपैपीप खस्या’छ
किनभने पीलोझैँ पाकेर निधारमै
ढ्याक्क सिंहदरबार बस्या’छ ।

Haat Haru – Bikram Subba

जसै कुमबाट प्रथमपल्ट हातहरू पलाए
मनुष्यहरू दङ्ग परे
त्यस उप्रान्त यही हतियारले
सभ्यतालाई यो चुचुरासम्म पु-याए ।

हातहरूलेले थरि-थरिका हतियार चलाएपछि
हरप्पा, महेन्जोदाडो र सिन्धुघाटीको सभ्यता टुसाए
हो, यिनै हातले औजारहरू अर्जापेपछि
ताजमहल उभियो, मोनालिसा मुस्कुरायो
हातका औँलाहरू बिथोवन र मोजार्टका छातीमा नाचेपछि
सिम्फोनी-सागरहरू उर्लिए
मुलुकका गुन्द्रुक सुकाउँदाझैँ
बाङ्गाटिङ्गा सिमाना र इतिहासका घुम्तीतिर
हातहरूले तीर-भाला र खुँडा-खुकुरीका धारले
हावामा केही काटे
अन्तमा प्रहारगरे बैरीका गर्धनहरूमा छपाछप्
र त मुलुक आफ्नै चारकिल्लाभित्र कायम छ
र त हामी आफ्नै मुलुकका नागरिक कायम छौँ

हातहरू, जसले प्रेमपत्र लेखे…सिउँदोमा सिँदुर हाले
हातहरू, जसले कोक्रो हल्लाउँदै लोरी गाए…
आशिर्वादको टिका लगाइदिए
हातहरू, जसले सपनाको छेउछाउ फूल उमारे…बस्ति बसाए…
हातहरू, जसले पहाड-मधेशमा जात-जातका मानिस
र तिनका इन्द्रेणी-सपनाहरू जोडेर एउटा सिङ्गो देश बनाए
हो तिनै हातहरू अचेल
केटाकेटीका सपनाको सुरक्षामा व्यस्त छन् ।