Poem – Badal Ko Swagat

ओहो पङ्खे मोती–पोल्टी सागर–चेली चाँदी छाल !
वाष्पिल सिंहमा वायुपङ्खी, हिउँचुलीमा छहरी याल !
भूतल शीतल पारी सियाली, कलिली निलाई पर्वत ढाल,
बुरबुर डाली कुइरो चीनी, सल्ला सियामा मर्मर जाल,
कृषियुगका सब आदिम गाना गर्छन् छहरी मोती कमाल !
बिजुली नागिनी सँगमा चम्के,
स्वर नगवेली लहरा फन्के,
वाफन फोही गिरी गडराए,
कुइरी झरीले छोयो ढाल !
धर्ती दुहौँला, छाती फुहौँला धानी असारे कुर्ली टाल !
बर्खा, बिजुली, धूप सहौँला,
धूमका मुनितिर रोप्न नुहौँला, पोषन भूका भोका बाल !
जबतक हाम्रो हात कोदाली, टर्ला जगमा रे अनिकाल !
स्वर्ग नहोला नित मुख नीलो,
जगत्को छाना बुट्टिन ढिलो ! चल्ला सागर छाल !
रत्नाकरको याद नटुट्ला जनवन माथि तप्त विशाल !
सङ्घर्ष ध्वनि छ आज गगनमा,
प्रगति छ मिठो आज पवनमा,
सातरङ्गी विजयपताका चम्किरहेको हेर ! कमाल !