Baanar – Yuddha Prasad Mishra

चोर्ने चिन्तन गर्दछ खाली
मानिसहरूका हरिया बाली
फेरि कसैको पनि फुल-बारी
देख्नै नसकी दिन्छ उजारी

अग्लो रुखमा उसको डेरा
मान्दछ मीठो अम्बा, केरा
निर्धा आए जाई लाग्छ
बलिया आए परपर भाग्छ

फलफूल ल्याई मानिसहरू तर
हनुमान भनी गर्छन् आदर
केवल पशु पो हो त्यो बानर
काला अक्षर भैंसी बराबर

बालकहरू हो, होश समाल
मनमन्दिरमा बत्ती बाल
तिमीहरू मानिस बन्नु छ जाग
बानर बुद्धितर्फ नलाग