स्वर्गसरी पाँचपोखरी

panchpokhari_20140406065308
गुगलमा खोजी गर्दा कतैबाट देखिएको पाँचपोखरीको तस्बिरले औधी लोभ्याएको थियो। त्यसैले सिन्धुपाल्चोकको भोताङमा रहेको पाँचपोखरी यात्रा तय भयो। पाँच पोखरीहरू एकै ठाउँ रहेको थलो। त्यो पनि करबि ४२ सय मिटर उचाइमा। काठमाडौँबाट पाँचपोखरी यात्रा तय गर्ने हो भने चाबहिल, चुच्चेपाटीबाट सुरु गरिने तीनघन्टे बस यात्राले मेलम्ची पुर्‍याउँछ। पाँचपोखरीको यात्रा चौताराबाट पनि गर्न सकिन्छ । मेलम्चीबाट पाँच घन्टा अघि लागेपछि पुगिन्छ, मानेखर्क। मानेखर्क अर्थात् बस बिसाउने अन्तिम ठाउँ। त्यसपछि सुरु हुन्छ पाँचपोखरीको पदयात्रा। त्यसभन्दा अगाडि लागेपछिको पहिलो रात हामी भोताङमा बस्यौँ। र, भोलिपल्टबाट सुरु भयो, उदेकलाग्दो उकालो र सुनसान बाटोको यात्रा। १० किलोको भारी झोला बोकेर करबि सात घन्टा हिँडेपछि हामी थाकिसकेका थियौँ। र, दोस्रो दिन ताड्गुमा बस्यौँ। यो रुट जति सुन्दर छ, उत्तिकै पूर्वाधारविहीन पनि। दोस्रो दिनको बसाइका लागि पुरानो छाना भएको एउटा गोठ फेला पार्‍यौँ। हाम्रो टेन्ट त्यहीँ खडा भयो र सबैले पोलेको आलु र सातु खाएर सुत्यौँ।

यो रुट उकालो, ओरालो हुनाले अलिक कठिन छ। तर पनि घामको किरणले सेताम्य भएको गणेश र जुगल हिमालले यात्राभर मोहनी लगाउँछ। तेस्रो दिन पाँच घन्टाको यात्रापछि नोसामपाटीमा केही मिनेटको थकाइ मार्‍यौँ हामीले। त्यसै बेला पाँचपोखरीबाट झर्दै तल आएका भरियाहरू भेटिए। हामीले घुम्न हिँडेको भन्यौँ । उनीहरू रमाए र छिटो हिँड्न सुझाए पनि। हामीलाई भने हुस्सु लागेको मौसम र गोरेटो छेउका पहेँला झारले थकानबीचमै रमाइलोको अनुभूतिसमेत गराइरहेको थियो। पाँचपोखरी जाँदा जति बढी गन्तव्य नजिकिन्छ, उत्तिकै चिसो बतास चल्न थाल्छ। कान, मुख र हात नीला हुन थाल्छन्। झारबाट अनौठो गन्ध आउन थाल्छ। त्यस दिन गन्तव्य पुगिछाड्ने भन्दै अँध्यारोसम्म करबि १२ घन्टा हिँडेपछि बल्ल पाँचपोखरी पुगियो। त्यहाँ केही पर्यटकलाई बास बस्नका लागि टिनको छाना हालेको पाटी बनाइएको रहेछ। हामी त्यही बस्यौँ, जहाँ विदेशी पर्यटक पनि साथै थिए। उनीहरूले कालो चिया र साक्पा दिएर हामीसँग मित्रताको सद्भाव देखाए।

पाँचपोखरीमा भोलिपल्ट बिहान उठ्दा यात्राभरका सबै दुःख एकनिमेषमै बिर्सियो। चिसो हावा, पहाड र हिमालको काख, हरयिाली वातावरण र एकै स्थानमा पाँच-पाँच पोखरी। सबै पोखरीमा नीलो आकाश र त्यसका बादलहरू ऐनाजस्तै सजिएका थिए। यति सुन्दर दृश्य त कुनै शब्दमा बखान गर्न सकिँदैन। केही साथीहरूले पोखरीको पानी असाध्यै चिसो भए पनि आँट गरेर नुहाए। एउटा पोखरीलाई पूर्णरूपमा घुम्न ३० मिनेट लाग्दो रहेछ। पाँचपोखरीमा भगवान् शिवको मन्दिर रहेछ। ढुंगामा बयान गरिएको त्यहाँको किंवदन्ती निकै रोचक छ। जसमा भनिए अनुसार झन्डै २ हजार ३ सय २५ वर्षअगाडि प्रख्यात सिकारी बुम्वा बाइवा सिकार खेल्दै हाल पाँचपोखरी रहेको स्थान पुग्दा धान खेती गररिहेको देखेछन्। यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती गर्ने को होला भनी छेउमा जाँदा धान खेती गर्नेमध्येका मानिस (महादेव) सिकारी बुम्वालाई देख्नेबित्तिकै सम्पूर्ण धान खेती गर्ने खेताला, यसै पाँचपोखरीको हाल मन्दिर रहेको स्थानमा अलप भएछन्। यो दृश्य देखेपछि बुम्वाले आफ्नो सिकारी कुकुरलाई लगाएको घन्टी फुकाली रोपाइँ गर्दा अलप भएको ठाउँमा झुन्ड्याई मन्दिरको स्थापना गरी फर्केछन्।

त्यसयता हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनै पूणिर्माको दिनसम्म यहाँ मेला लाग्ने गर्छ। र, टाढा-टाढाबाट हजारौँ संख्यामा भक्तजनहरू जुट्छन्। पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाहरूले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वासले गर्दा यो तीर्थस्थल ज्यादै लोकपि्रय हुन पुगेको रहेछ। इन्द्रावती र ब्रह्मायणी नदीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नामसमेत छन्, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड। यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने त स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थ स्थल भनिएको छ। पाँचपोखरीवरपर करबि चार घन्टा फेरो लगाउँदाको आनन्द यहाँ आइपुग्ने जो कोहीले पनि जीवनभर बिर्सन सक्दैन। प्रकृति र धार्मिक आस्थाको यो सुन्दर संगम यायावरीहरूका लागि आकर्षक स्थान हो। झन्डै ५ देखि ६ दिनमा पाँचपोखरीको यात्रा टुंग्याएरै काठमाडौँ फर्कन सकिन्छ। मौका मिले र मन लागे पुगे हुन्छ, पाँचपोखरी।