दिनको पचास त के -मोतीराम भट्ट  

दिनको पचास त के हजार पटक् कती समझाउनू

म गरीबको घरमा हरे तिमीले यसोरी नआउनू ।
रिसमा थियौ कि खुसी थियौ, म त केही जान्दिनँ के थियौ,

कि यसो थियौ, कि उसो थियौ मनमा कसोरी बुझाउनू ।
नत आ भनूँ, नत जा भनूँ म यसो भनूँ कि उसो भनूँ

तिनीको मिजाज म के भनूँ, कतिसम्म विन्ति चढाउनू ।
वय सोह्रको मन साठिको छ र पो गजब छ ति प्यारिको

मुखको खाव छ चन्द्रको, ननिको छ मिस्सि लगाउनू ।
मनसुब पुग्नू परै रहोस् दरसन् पनि छ कठिन जहाँ,

अब बाँचनेछु मता कहाँ तिनीलाई यति सुनाउनू ।
तिमि बिर्सि आलत क्यै जनी, मत संझदो छु अझै पनि,

मुख भित्र पान चपाउनू, अलि हाँसि हाँसि हँसाउनू ।
मणि हो भनूँ त न झल्कँने बिजुली भनूँ त न चंकने

आइना भनूँ त न टल्कने उपमा कसोरी जुराउनू ।
तिमि पर्खि पर्ख भनी भनी कन जानू, फेरि नआउनू,

खपि सक्नु छैन मलाइ ता, तिमिले यसोरि छकाउनू ।
सुन है सबै हरिको हुकुम् म हुकुम् भनूँ कि भनूँ जुलुम्

अघि जो भयो उत भै गयो तर फेरि मोति न लाउनू ।

कविता – जीवनको अँध्यारो सडकमा – भूपी शेरचन

भूपी शेरचन  १९३७ - १९९० मुस्तांग नेपाल

भूपी शेरचन
१९३७ – १९९०
मुस्तांग नेपाल


जीवनको अँध्यारो सडकमा
जीवनको अँध्यारो सडकमा
सफलता
साइकलको डाइनमोबाट बल्ने बत्तीझैं लाग्छ
कि जबसम्म
गतिको पैडिलमाथि
मेरो खुट्टा चलिरहन्छ
मेरो पथमा यो बत्ती बलिरहन्छ
तर जसरी नै म थाक्छु
र मेरो खुट्टा रूक्छ
अन्धकार मेरो अगाडि आएर भुक्छ।

मेरो प्रेमको कथा – गोपाल प्रसाद रिमाल 

एउटी काली ठिटी थिइन्, बोल्नै सकिनन्

मेरो  रवाफ सहनै सकिनन् ।

म तिनको राजा थिएँ, तिनी मेरी हुन सकिनन्

ढोकेकी छोरी रहिछिन्, ढोकेसितै बोलिन् ।

तिनी जङ्गली युगकी रहिछिन्, बर्बरता तिनको धर्म रहेछ,

म मानिसको अगिल्तिर के टिक्थिन् ?

अर्की तिनीजस्तै नै बरु काली रहिछिन्

तिनले मलाई सपनामा पाइन् रे

किनभने बिपना बन्धन थियो

बिपनामा खेल मात्र थियो ।

यिनले मलाई बचाइन्, सपनामा पाउनेजस्तै

तिनले चाहिंँ मार्न खोजिन्, रगत पिइन्

बिपनामा नालायक ठहरिएजस्तै ।

कालीहरुको कथा आयो, गोयो ।

अब गोरीहरु छुत्ती खेल्दै छन्

म पनि खेल्दै छु ।

यस्तो प्रेम आखिर लीला न हो

लीलाले पनि मलाई अलमलाउन सकिनन् ।

लीलासित हरदम पाचुके नै छ ।

मलाई त प्रेम र क्रान्ति बराबर छ

सङ्क्रान्ति त महीनौंमहीनौं भइ नै रहेछ ।

मलाई त क्रान्तिसित खेल्ने बानी छ

त्यसैले क्रान्तिले मेरो छहारी सकार्नु छ ।

म त्यसैले जोडा छु, जोडा हुन्छु

क्रान्तिले मलाई नमस्कार गर्न बाँकी नै छ ।

मैले त क्रान्तिलाई सलामी दिसकेँ

क्रान्तिले मर्द भएर सलाम फर्काउन बाँकी नै छ ।

म त्यसैको प्यासो छु, त्यसैको प्रेमी छु

क्रान्तिले मलाई प्रेम गर्न बाँकी नै छ ।

म क्रान्तिको भोको छु

क्रान्तिले मेरो छाक टार्न बाँकी नै छ ।

प्रश्न – गोपाल प्रसाद रिमाल

गोपाल प्रसाद रिमाल  २१ मई १९१८ - २४ अक्टोबर १९७३ , काठमाडौँ नेपाल

गोपाल प्रसाद रिमाल
२१ मई १९१८ – २४ अक्टोबर १९७३ , काठमाडौँ नेपाल


नेपाली तिमी यहाँ किन आयौ ?
गो–रखाली हौ,
गो–रक्षाको भार लिई
बढ्दैबढ्दै आयौ ? नेपाली
तिम्रै गुफा कन्दराहरुमा
देखेथ्यो जगले पहिलो सपना,
तिम्रै वनमा पलेटी कसेर
सफल भएथ्यो ऋषिहरुको जपना,
पाएथे अन्धजगत्मा
बल्दो उज्वल दीप
के त्यही दीप लिई तिमी
बढ्दै आयौ दुनियाँमा ? नेपाली
आदर्शझैँ उच्च,
विस्तृत विशाल हृदयझैँ,
सत्य छुन बढेका,
या सतयका रुप भै उठेका
मनका लहरझैं सुन्दर
हिमालको रुपमा
अमरापुरीको पथ तिम्रै–
के सबैले स्वर्ग पुगेर
स्वर्गको सुन्दर कहानी भनेर,
फूलको माला लिन
घुम्दै आयौ यहाँ ? नेपाली
या बिजुलीका कणझैं प्राण वरिपरि
पञ्चभूतको आवरण बेह्री
तिमी बर्सने बादलझैँ
आह्र्लँदा कर्म–जगतमा,
कुनै विपरीत हुरीले
फेरो मार्यो र पथमा ?
नेपाली

कविता – दार्जीलिंगको बाघचुलीमा – लक्ष्मी प्रसाद देवकोटा

लक्ष्मी प्रसाद देवकोटा Nov 12, 1909 – Sept 14, 1959

लक्ष्मी प्रसाद देवकोटा
Nov 12, 1909 – Sept 14, 1959


कञ्चनजङ्घा लेक भरिभर
ब्राह्ममुहूर्तमा मिरमिर, मिरमिर,
आँग जोरी भेडा उँग्छन् दलका दल,
पाठा, माउ सब, बादलका,
निश्छल !
भेडीगोठमा उँचाइका, बाफ–पस्विना, परिणत, जल
मेषभूत, विभूति रङ्गका
बादल !
निशिभर हावाघरका सुतेका
बिउँझिन लागे पलपल !

पहिले बिउँझ्यो निद्रित समीकरण,
हल्ले निद्रित पत्रहरु,
त्यक्त–तरु,
फुत्त झरेका पँखेरु–उरले, उत्सुकतासँग हुर्रा धकेले,
अलि गतिबाधा तर उच्चालक
छालहरु ।

विभा खुशीले भइन् उज्याली,
मौन प्रतीक्षा भो बादल !
स्वर्णिम, उर्णिम जीवन, जागृति,
परिणति पाउन,
पर्खिरहेको जस्तो जल !
उषा–किरणका भक्तहरुको
वाष्पिल आत्माको झैं जल !
दर्शनको मृदु भावस्फुरणका
ध्यान–निद्रा बनेझैं सजल !

छिक्र्यो गुलाफी क्षितिज किनारा,
प्रथम उषाको लाली सरि !
पहिलो छिर्का लागी फुटेका,
सृष्टिका कुड्मल–जाली सरि !
अथवा बिउँझिरहेको कविको
मुटुका बुबुल्के प्याली सरि !

छिर्दै आयो भुवा, भुवामा,
कवि–स्वपनाको धस्लीभरि !
साक्षात्कृता क्वै सुन्दरताको
स्मितिको गुलाफी लचक सरि,
खुल्दछ पूर्व किनारा लम्बिई,
भू–सगरी !

सृजनधूलीमा रङ्ग छिरबिर भो !
स्रष्टा चल्थ्यो !
उसका हात चलेझैं लागी,
आँखा घुमीकन लरबर भो !
छोएजति सब जिउँथ्यो, बल्थ्यो
सुन्दरले सब,
सुन्दर भो !

कोही रँग्थ्यो तरलाकारी, भाव–भुवामा
बल्दो क्षणको जल्दो रङ्ग ।
ज्वाला–तरङ्ग !

सिँगार्न थाल्यो प्रकुति पुरुषले,
शर्मी प्रकृति बन्थिन् दङ्ग !
ब्रीडा जन्मी जपाकुसुममा,
उत्सव बोल्थे विहङ्ग !

यस्तो रङ्गिएको आकाश !
हरेक ठाउँमा अद्भुतताले
चुम्बित,
होइन, सेता तपस्या–चूली
उपर खुलेको स्वर्ग हि खास ?

माला कहीं क्या विवाहोत्सवका !
क्या लच्के !
कहीं, परीहरु हातेमालो,
नाची मनोहर, क्या मस्के !
स्वर्ग र पृथिवीको छ विवाह !
वाह !
इन्द्र आफैं ऐरावतमा
क्या लस्के !
आए उ ! उ ! वनमाली ती, मुरली अधर ती,
निस्के !
सजग चराचर रङ्गमा नाच्यो, मीठो सुर ली, मीठो सुर ली !
दिल उर्ली !
कलपुर्जा सब मेरा,
चुम्बक अगाडि झस्के !

मानव कल्पना भरखर बिउँझी,
आँखा मिचेझैं, जिल्ल परी !
सारा प्रथम पुराणकथाका,
आत्मा लागी बुभूmँ अलिकति
चौकीवरी ।
वेद जन्मियो कमलपत्रमा उ त्यो कुनामा !
उ त्यो कुनामा !
ज्ञान वैरियो किरणहरु झै धन–तनमा उ !
आँसु–बुनामा !
शिवले गरल पिईकन तमको, उम्ल्यो अमृत !
उम्ल्यो अमृत !
यो के ?
माया उपर परेको सत्चित्, सच्चित, !
आनन्द हो ए !
हयग्रीव छन् गाइरहेका काहीं, करलहरीमा, करलहरीमा !
चित्रकला छन् जन्मिरहेकी स्वर्गधुरीमा, स्वर्गधुरीमा !
सारा कलाको अभिनय देख्दछु
अप्रत्याशित, यो अनमोल,
जीवन घडीमा ! जीवन घडीमा !

कञ्चनजङ्घा कञ्चन भो,
आयो हिरण्मय, आयो किरणमय !
अमृत बनाई सकल मरणमय !
मृत्युको एक छिन लाञ्छन् भो !

तब देखें एक सेतो कचौरा
हिउँको !
त्यसले अगणित युगभर पिएथ्यो,
यस्तो मदिरा,
यस्तो मदिरा,
त्यसको आत्मासाथ मितेरी लाउन पाऊँ त
एक छिनको !
प्रभात पागल भनीकन हेर्थे, आँखा चकित
रे सब जनको !

फर्के !
फर्के, फर्की नजरले हेर्न, फर्की, फर्की,
अद्भुत हिमाल !
दृश्य कमाल !
अद्भुतताको आदिम सदन त्यो,
काञ्चनजङ्घा गिरिको भाल !
प्रकुति त्यहाँ छन् प्रदर्शिनीमा, कल्पनाका सब धन ली,
नवसृष्टिधूलिका घन ली !
बाघचूली चढेकी देवी,
त्रिभुवनसुन्दरी, बल्दी, जल्दी,
देखें केही, सुने पनि केही,
छाड्थ्यो शरीर यो एक छिन देही !
एक दर्शनमा ज्ञान अनन्त छ,
एक वाणीमा वेद हजार !
धर्म यसै गरी जन्मे होलान्,
साहित्य, कला, औं संसार !