शून्यमा शून्य सरी  – लक्ष्मी प्रसाद देवकोटा 

संसार रुपी सुख स्वर्गभित्र,

रमें रमाएँ लिइ भित्र चित्र ।

सारा भयो त्यो मरुभूमि तुल्य,

रातै परेझैं अब बुझ्छु बल्ल ।

रहेछ संसार निशा समान,

आएन ज्यूँदै रहँदा नि ज्ञान ।

आखीर श्रीकृष्ण रहेछ एक,

न भक्ति भो, ज्ञान, नभो विवेक ।

महामरुमा कणझैं म तातो,

जलेर मर्दो बिनु आश लाटो ।

सुकी रहेको तरुझैं छु खाली,

चिताग्नि तापी जल डाल्न फाली ।

संस्कार आफ्नो सब नै गुमाएँ,

म शून्यमा शून्य सरी बिलाएँ ।

जन्मेँ म यो स्वर्गविषे पलाएँ,

आखीर भै खाक त्यसै बिलाएँ

 न्याय उठ्यो – युद्धप्रसाद मिश्र

न्याय ढलेको ठाडो पार्न
उभियो बबण्डर चर्को

पतनशील अनुहार प्रष्ट भो

प्रतिगामीका धर्को
आजादीका सही दिशातिर

खुले सबैका आँखा

आक्रोशित भै बोल्न पुगे अब

ज्वालामुखीका भाखा
भाग्नु कहाँ अब बढ्दै आयो

जनजागृतिको भीषण ज्वार

उठिसक्यो शिरमाथि कसको

विजयमुखी न्यायिक तरवार
धरतीमाथि उभिनसम्म

यहाँ रगतको लाग्छ जमात

तर छन् त्यसका माथि उठेको

दरा बलिया ब्यापक हात