नेपाली कविता – सपनीहरुमा

सधैं–सधैं मेरो सपनारुपि रंगमञ्चमा
असंख्य नायकरुपि पुरुषहरु मेरो अगाडि आउँछन्
र,मलाई सम्पूर्ण रुपमा नङ्ग्याउँदै
मेरो हिउँजस्तो कोमल तन
अनि निश्चल आकाश रुपि मनमा
पाशविक कामुक आँखाहरुले पोली पोली
कालकाला डामहरु बनाउँछन्
मेरो जीवनको सहारा नजीक आई
मेरै यात्राको किनारा खोस्छन् ।

सधैं–सधैंका सपनारुपि रंगमञ्चमा
तिनै असंख्य नायकरुपि पुरुषहरु मेरो अगाडि आएर
स्वाभीमानी वीर योद्धाहरु देखाउँदै
कैयौं कर्तुतहरुले गाँजिएको
आफ्नै पुरुषार्थलाई देखाउँदै
पागल सरी
आकाश तिर हेर्दै, टोलाउँदै
अनि एक्कासी छाती पिट्दै
कपाल लुछ्दै मसँग आफ्नो हराएको
जवानी माग्न थाल्छन्
अलिकति बाँकी रहेको पुरुषार्थलाई धिक्कार्दै
आमाको छातीमा पछारी पछारी
चुलिएको जवानी
आमाकै सामुन्ने
छताछुल्ल पार्दै पोखिदिन्छन्

सधैं–सधैंका सपनारुपि रंगमञ्चहरुमा
असंख्य नायकरुपि पुरुषहरु मेरो अगाडि आएर
महापुरुषको बिल्ला भिरी
नैतिकतालाई धरौटी राख्दै
कैयौं वर्तमानको बलत्कारी बन्दै
युद्धमा पराजित भएको वृद्ध सिपाही सरी
आफ्नै जीर्ण तन सामु
विदीर्ण मन लिएर
आफ्नै आँसुको सागरमा
डुबाएर मार्न पुग्छन् आफैलाई

मेरो मध्यरातका सपनारुपि रंगमञ्चमा
आखिर तिनै असंख्य नायकरुपि पुरुषहरु
बेहोसीमा नसासँगै
एकोहोरो दौडिरहन्छन्
दौडिरहन्छन् ।
मेरो सपनारुपि रंगमञ्चमा
असंख्य तिनै नायकरुपि पुरुषहरु
मात्र मेरो खोजिमा
मात्र मेरो खोजिमा ।