कथा – लोभ

नदीको छेउबाट भँगालो आएको थियो । ऊ भँगालो तरेर नदी र भँगालोको बीचमा बसेर सोचिरहेको थियो- ‘नदीमा बाढी आयो भने म कता भाग्ने ? नदीको कति मीठो सुसेली ! ईश्वरले अहिले मलाई पखेटा हालिदिए नदीपारि पुगेर फेरि यतै र्फकन्थेँ ।’ मौसम परिवर्तन भयो । भीषण बर्षा भयो । ऊ खयरको रूखको फेदमा गएर ओत लाग्यो । पानी ठूलो परेकोले नदीको वहाव बढ्यो र भँगालोसमेत तर्न नसक्ने भयो । ऊ खयरको फेदमा ओत लागेर सोचिरहेको थियो- ‘खोलो बढेर आफू नजिक आयो भने के गर्ने, आज बाँचिदैन होला ।’ उसको मुटुमा ढ्याङ्ग्रो ठोकिरहेको थियो ।
उसले सोचेजस्तै नदीको पानी बढेर ऊ नजिक आयो । ऊ चिच्यायो, करायो- ‘प्रभु बचाऊ । ईश्वर बचाऊ , उसको होस्हवास उड्यो । उसले आफू मृत्युको मुखमा पुगेको अनुभव गर्‍यो । नदीको पानी बढ्दैबढ्दै उसको पैताला छोयो । ऊ झन् हतासहतास हुँदै चिच्यायो- ‘प्रभु बचाऊ ! भगवान् बचाऊ ! खै ईश्वर, खै भगवान् ? यदि भगवान् भएका भए म निर्दोष मान्छे विपत्तिले मर्न लाग्दा बचाउनुपर्ने हो तर ईश्वर रहेनछन् । ईश्वर मरिसकेछन् । ईश्वर भन्ने कुरा भ्रम हो । ऊ हतास हुँदै चिच्याइरहृयो । ‘मलाई किन पुकार्‍यौ मनुष्य ?’ एकाएक भगवान् प्रकट भए । उसलाई सपनाजस्तो लाग्यो । उसले आँखाले भ्रम देख्यो कि भनेर थुक लाएर आँखा मिच्यो तर उसको अगाडि साँच्चै ईश्वर प्रकट थिए । उसले हात जोडेर भन्यो- ‘भगवान् मलाई बचाउनुहोस् नदीले बगाउन लाग्यो ।’ ‘मूर्ख मनुष्य, बर्षा रोकि सक्यो । केहीछिनमा नदी घट्ला । किन आत्तिन्छस् । ‘होइन भगवान् बर्षा रोकिए पनि नदी रोकिएको छैन । मलाई बचाउनुहोस्’- उसले भगवानसँग अनुरोध गर्‍यो ।

भगवानले भने- ‘मलाई किन पुकारेको ? के माग्छस् माग, मलाई हतार भइसक्यो ।’ यस क्षण के माग्ने ऊ अत्तालियो । बचाउनुहोस् भन्दा नदी घट्न लागेको ईश्वरकै मुखबाट उसले सुनेकाले बाँच्ने आशा पलाएको थियो । गाडी, घर, सम्पत्ति, जग्गा, जमिन के माग्ने, ऊ सोच्दै थियो ।
छिटो माग तर एउटा कुरा मात्र माग्नुपर्छ भने भगवान्ले । ऊ झसङ्ग झस्कियो । के माग्ने मन्त्री, प्रधानमन्त्री, पद, प्रतिष्ठान, अर्बौँ रुपियाँ । के माग्ने ऊ एकीन गर्न सकिरहेको थिएन । छिटो माग मेरो समय सकिन लाग्यो- भगवान् उडौँलाझैँ गर्न लागे । उसले सोच्यो करोडौँ रुपियाँ माग्छु । पैसाको थुप्रो भएपछि यसैमा ओत लागे पनि हुन्छ । नदी पनि घट्दैछ । पैसा मागेँभने जेमा खर्च गर्दा पनि हुन्छ । उसले प्वाक्क बोल्यो- ‘एक अर्ब रुपियाँ दिनोस् प्रभु। ‘मूर्ख मनुष्य ! भगवान् मुसुक्क हाँसेर’ तथास्तु भनेर अन्तध्र्यान भए । छिपछिपे पानीमा एकाएक एक अर्ब रुपियाँको थुप्रो देखापर्‍यो । ऊ हर्षले चिच्यायो र आँखा चिम्लेर गम्ल्याङ्ग अँगालो हाल्यो । त्यति नै खेर नदीको वेगले उसलाई र पैसाको थुप्रोलाई बगायो ।