रात काठमाडौँ प्रात – भूपी शेरचन

बाग्मतीपारि स्याल,
र वारि कुकुरहरु कराउँदा
सशङ्कित पोथी कुखुराझैं
घिच्रो तन्काएर
हेर्छन् देवलहरुले
वरिपरिका खोरहरुलाई
पखेटा झारेर
र अन्धकारले तिनलाई डोकोभित्र छोप्छ ।
अज्ञात दुलोबाट निस्केर
डस्छ गोमनले काठमाडौंलाई
र विष सर्दै–सर्दै धरहराको टुप्पोनिर पुग्छ,
गल्लीहरुका नसाभित्र रगत
कालो हुदै जान्छ
एक्कासि अदृश्य कुनै धामीको
मन्त्रमा बाँधिएर
मुग्ध सर्प नयाँ सडक
सल्बलाउँदै आउँछ
आङभरि धामीले फालेका
मन्त्रबद्ध सेता कौडाहरु टाँसेर
र चुस्छ, चुसिरहन्छ रातभरि
बेहोश काठमाडौंको शरीरबाट आफ्नो विष
बल्ल–बल्ल प्रातःमा
चल्मलाउँछ काठमाडौं पीडामय बेहोशीबाट
बिउँझेर
र बोली फुट्छ अनि स्तब्ध धाराहरुको
र हाँस्न थाल्छन् उम्मुक्त झ्याल र ढोकाहरु ।

भूपी शेरचन

bhupi-serchan