कविता – सम्बोधन

ए खहरे
बेफुर्सदी मान्छे तँ
मौसमी राग त उराल्नै पर्‍यो
आफू भित्र हेर्नु छैन
अरूलाई टेर्नु छैन
बाटो किन चिन्नु पर्‍यो
जता जता सोंर्‍याक पर्‍यो
उतैउतै दौडे भैगो
किन आँखा खोल्नु पर्‍यो
अन्धो को हात्ती भए पुगिहाल्छ
नूनमा ढुंगा मिलाए नि
चामलमा बियाँ मिसाए पनि
बाघसँग बाख्रा हिँडाए पनि
धेरै त हुन्छ पक्कै
राता र सेता वाहियात पो त
भेल त हुनै पर्‍योे
के काले के गोरे
अगाडि उभिए भैगो
के घूसखोरी
के हत्यारा
के दरबारिया
क्या मजा
सबै सारथी महान यात्राको
लिएर हिंड्न पाए भैगो।
ए खहरे
तेरा हुलका सारथीहरू,
जिउँदो लास पो त
चिसोले सुन्याएको रोगी पो त !
निमोनियाले गलाएको बालक पो त !
तँलाई के थाहा?
अँध्यारो भित्र
उज्यालो खोज्नेहरूको कथा
बेमौसमी यात्राको कथा
हूलसँग नझुक्नेहरूको कथा
क्षितिज उघार्नेहरू कथा

कविता – विवशता

एउटा फरक यात्रामा निस्किरहँदा
वासनादार
फूलका सुगन्धहरुले
स्वागतका मुस्कान छरिरहे।
सिमसिमे
बर्षातका लहरहरुले
निस्किरहने फोहोर धोइरहे।
अप्ठ्यारा
पहाडका गोरेटाहरुले
गजबको ताली ठोकिरहे।
गरीबका
निचोरिएका आँखाहरुले
परिवर्तनको आशा बोकिरहे।
निम्छरो
निभिरहेका चूलाहरुले
उज्यालोको अनुभूति खोजिरहे।
अफसोच!
यात्राका बीचहरुमा
बाटोका घुम्तीहरुमा
भुल्भुलैयाहरु
अवरोध बनी अल्भि्करहे।
छिस्केनी मात्र होइन
काँडेतारका तारबार भित्र
दबिएका मह140वकांक्षाहरु
इच्छाशक्तिका तासहरु
उभिएर रोक्न खोजे
ठट्टा गर्न खोजिरहे।
त्यतिबेलै
तिमीहरु सबै
गर्ल्यामगुर्लुम ढलिरहँदा
म त एक्लै
उभिइरहें।