नेपाली कविता – युद्धको पराजय

दुःख पहाड बनेर

मान्छेको छातीमा उभिएको बेला

जिजीबिषाको झिनो आशा बोकेर

गन्तव्यहीन मैदानमा ढलेको मान्छे

युद्ध भिषिकाले चोइटेको मन

आशुको तलाउ बनेर पोखिएको छ

यति बेला

उजाड मरुभूमीजस्तो वस्तीमा

नांगो नाच नाचेर

समानताको गीत गाउनेसंग हाँस्न सक्दिन म

मानवताको आलेा रगतमा

विभाजित साँध उठाएर

एकताको हाँसो हाँस्न सक्दिन म

भयावह आमाका रित्ता काखसंग

जीवनको नौलो आविष्कार

खोज्न सक्दिन म

लाखौ सपनाहरुको

सन्त्रासमय हत्या गर्नेसंग

स्वतन्त्रताको गीत गाउन सक्दिन म

आमाको छातीमा एम्बुस थापेर

शान्तिका परेवा उडाउन सक्दिन म

मानवता चिहान घारिमा पछारिएका बेला

मन्दिरमा अस्तित्वको दीप बाल्न सक्दिन म

समयले पराजय भोगेर उभिएको छ

भन म यति बेला कहाँ जाउँ

हुरी बनेर बाँचौ या मरौ

दोसाँधमा रहेर

आफूभन्दा पि्रयलाग्छ मेरो देश

को संग युद्ध गरौ

एकताका नाममा

को संग गुहार मागौ

मानवताका नाममा

संसारमा निसाफ कैद बनेकोबेला

तिमी निस्वार्थ साथ देउ मलाई

म हराएको मानवतामा

समानताको दीप बाल्दै खोज्ने छु

छाडेर स्वार्थ

धर्तीमा शान्तिको प्रकाश छर्नेछु

सबैको मुहारमा हासो खुसी भर्ने छु