म तिम्रा अघी पर्न लायक् कहाँ छू – मोतीराम भट्ट 

(शारदा मासिक अङ्क ११)
म तिम्रा अघी पर्न लायक् कहाँ छू,

त्यसैले अघी सर्न लायक् कहाँ छू ।
हुकुम हुन्छ तिम्रो त हाजिर छँदैछू,

बिना मर्जि आँट गर्न लायक् कहाँ छू।
अरूका ऊपर आँखिभौँ तानि हाने,

म जावो हरे ! मर्न लायक् कहाँ छू।
जहाँसम्म मन चल्छ लौ हुन्छ घुर्कुन्,

तिनै झैँ नजर् तर्न लायक कहाँ छू।
सहडमै छ मन् हर्न सक्नू हरीले,

सुनीस् मोति त्यो गर्न लायक् कहाँ छू।

दिनको पचास त के -मोतीराम भट्ट  

दिनको पचास त के हजार पटक् कती समझाउनू

म गरीबको घरमा हरे तिमीले यसोरी नआउनू ।
रिसमा थियौ कि खुसी थियौ, म त केही जान्दिनँ के थियौ,

कि यसो थियौ, कि उसो थियौ मनमा कसोरी बुझाउनू ।
नत आ भनूँ, नत जा भनूँ म यसो भनूँ कि उसो भनूँ

तिनीको मिजाज म के भनूँ, कतिसम्म विन्ति चढाउनू ।
वय सोह्रको मन साठिको छ र पो गजब छ ति प्यारिको

मुखको खाव छ चन्द्रको, ननिको छ मिस्सि लगाउनू ।
मनसुब पुग्नू परै रहोस् दरसन् पनि छ कठिन जहाँ,

अब बाँचनेछु मता कहाँ तिनीलाई यति सुनाउनू ।
तिमि बिर्सि आलत क्यै जनी, मत संझदो छु अझै पनि,

मुख भित्र पान चपाउनू, अलि हाँसि हाँसि हँसाउनू ।
मणि हो भनूँ त न झल्कँने बिजुली भनूँ त न चंकने

आइना भनूँ त न टल्कने उपमा कसोरी जुराउनू ।
तिमि पर्खि पर्ख भनी भनी कन जानू, फेरि नआउनू,

खपि सक्नु छैन मलाइ ता, तिमिले यसोरि छकाउनू ।
सुन है सबै हरिको हुकुम् म हुकुम् भनूँ कि भनूँ जुलुम्

अघि जो भयो उत भै गयो तर फेरि मोति न लाउनू ।

पयर्मा कडा चोट पायेर आये – मोतीराम भट्ट

पयर्मा कडा चोट पायेर आये
म भन्दै थिएँ होस राखेर आये।

फजीती तहाँ भित्रको देख्छ जस्ले
उती फकँदा कान् समायेर आये ।

म आउन्न पक्का भनी भन्नु क्यै दिन्,
यती दिन् पछि क्या छकाएर आये ।

न केही भनेको न केही सुनेको
बिना कारणै मुख् फुलाएर आये ।

म मागेर खोस्ने थिएँ मो कहाँ मन्
कता जानि त्यो मन् लुकाएर आये ।

जतिले तहाँ भित्र ता जान पाये
त्यतिले दसेक् ठेक खाएर आए ।

अहा कस्तरी छाती झल्क्यो हरीको
जसै मोति माला झुलाये र आये ।

कहाँ जन्म पाएँ – मोतीराम भट्ट

कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ

हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ

यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी

विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई

यतिसम्म प्रीति गरी – मोतीराम भट्ट

यति सम्म प्रीति गरी गरी न यता भयें न उता भयें,
नत मन् लियें नत दीदियें न यता भयें न उता भयें ।

नत होस् वासकि राखियो नत फूलको रस चाखियो,
नत याद भो नत स्वाद भो, न यता भयें न उता भयें ।

बिनु औसरै सित भेट्नू तरबार लीकन रेट्नू,
नत छिन्दिनू, नत नछिन्दिनू, न यता भयें न उता भयें ।

नत साथ बस्न सँगी भयें नत दुस्मनै सरि भै गएँ
न पुरानियाँ नत मो नयाँ न यता भयें न उता भयें ।

नत खुस् भईकन प्रेम् गरी तन रिस् गरी कन मन् हरी
न यसो गरी न उसो गरी न यता भएँ न उता भयें ।

मोतीराम भट्ट

moti-ram-bhatta