नेपाली कविता – मिलाप कि विलाप

नरोक वेग जाउ है झकेर सान तेजको
नराख रात फाल है शोभा भएन देशको
तलै छ देश मासमा झनै त भाँसिंदै गयो
झनै यो रात लम्बिए यो देश नासिँदै गयो
कुरा चपाउँदै गए मिलाप हुन्न जान यो
छ भित्र दाग केही भने विलाप जान्न जान यो
नजिस्क निस्क रात भो नेपाल तातिंदै उठोस्
हरेक हात हातमा मसाल सल्किंदै बलोस्
न नाम होस् निसान होस् यो काल तन्त्रको कतै
नराख राख्नु हुन्न यो बेकाम तन्त्र यो कतै
समस्त विश्वले बोल्यो दबेर हुन्न जान यो
सचेत युगले बोल्यो पुजेर हुन्न जान यो
चमक्क चम्किंदै बढ लमक्क लम्किंदै बढ
टलक्क टल्किँदै बढ गड्याङ गर्जिदै बढ
बेला गएछ पर्खिदा कुरा सुनेर तर्सिंदा
यो देश नासिंदै गयो सुनेर बाघ गर्जिदा
मिलाउ देश तेज लौ हरेक रक्त धारमा
यो देश झन्किंदै भननन् तार तरमा
टलक्क टल्किए छुरा सुनिन्न् जालोका कुरा
भाषा बोलेर के भयो सुनिन्न पातको कुरा
हरेक कान कानमा स्वतन्त्रता सुनाउ है
हरेक धुन धुनमा स्वतन्त्रता बजाउ है
लमक्क देश लम्कियो सुनेन छट्टुका कुरा
नसुन्न मिल्छ जान है यो बाँजतन्त्रका कुरा
इमान मासिंदै गयो यो देश भासिंदै गयो
विमान फैलिंदै गयो यो देश ताछिंदै गयो
बेहोसमा छ देश यो चुसेर बाजतन्त्रले
नशा फोरेछ देशको हराम बाजतन्त्रले
गरेर नक्कली कुरा यो देश लुट्न पल्कियो
नरोक बढ्छ जान्छ यो समस्त देश सल्कियो
हिमाल फाँट लम्किएर यो बाज तन्त्र थर्कियो
गरेर जोड हान है यो बाज तन्त्र चर्कियो
बोलेर मात्र हुन्न है पोलेर फाल्नु पर्छ यो
पिलो समान चर्कियो खोलेर फाल्नुपर्छ यो
छ आँटभित्र डर भने पखाली आउ लौ छिटो
अझै छ भित्र तुष भने मेटाई आउ लौ छिटो
नगर्नु बातका कुरा धोका हजार भई दियो
समस्त बार फाल है भनेर देश लम्कियो
नछेक जान्छ बढ्छ यो जितेर मात्र फिर्छ यो
यो बाज तन्त्र उल्टियो यो लोकतन्त्र दिन्छ यो