कविता – घुम्ने मेच माथी अन्धो मान्छे

bhupi-serchan
दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझैँ
आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर,
घाउहरु कोट्ट्याएर,
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर,
दिनभरि
पाते च्याउझैँ
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफूलाइ ढाकेर,
साँझमा जब नेपाल खुम्चिएर काठमान्डौ
काठमान्डौ डल्लिएर नया सडक

नयाँ सडक असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर, टुक्रिएर,
अखबार चिया र पान को पसल बन्छ,
किसिम किसिमका पोशाकमा
ओहोर दोहोर गर्छन्? थरिथरिका हल्लाहरु,
फुल पारेको कुखुराझैँ कराउदै
हिँड्छन अखबारहरु

ठाउँ ठाउँमा अन्धकार पेटिमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तर्सेर,
अनि असंख्य मौरीको भुनभुन र डदाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैँ

नपाएर बिस्मृतिको ‘लेथे’ नदी,
रक्सीको गिलासमा हामफाल्छु

बिर्सन्छु आफ्नो पूर्वकथालाई
पूर्वजुनी र मृत्युलाई
यसरी नै सधैँ
चियाको किटलिबाट एउटा सूर्य उदाउँछ।