लाग्न थाल्यो जीवनमा – भैरबनाथ रिमाल

लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो
फक्रिएर वसन्तमा झर्ने फूल जस्तो

आफू खोज्छु बिर्सिदिन गहराइबाट
बिपनामा बिर्से पनि सपनीमा आउँछ याद
मुटु मेरो जलाइदिने उनको बानी कस्तो
फक्रिएर वसन्तमा झर्ने फूल जस्तो

भनिदेऊ अझैं पनि केही थाहा भए
पोखिदेऊ अझैं पनि मुटुभित्र चाह भए
सम्झिल्याउँदा पत्थर जस्तो दिल रैछ कस्तो
फक्रिएर वसन्तमा झर्ने फूल जस्तो

तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको – भैरबनाथ रिमाल

तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको
तिमीप्रति चाहना जुन मेरो सधैं चोखो

मेरो दिल नै उपहार तिमीलाई दिइसकें
बासी इच्छा नठानिदेऊ मैले चाहिसकें
मेरो व्यथा कथा बन्छ लहरा भै गीतको
ओइलिएको शीतलाई नि चाह हुन्छ शीतको
सपनामा सागर बन्छ अनेक यादमा कल्पी
जिउनु पर्ने जिन्दगीमा आशै आसमा अल्झी
पन्छिनदेऊ बहारसँग फूल भै हामी फुलौं
सून्यसँग नहराऔं हामी एक भै भुलौं

जुन फूल मैले चाहेको थिएँ – भैरबनाथ रिमाल

जुन फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्दर्य भने यो सधैं मेरो आँखामा लुकेछ

सुख र दुख सँगाली दिन जीवनमा त्यै थियो
दिनरात अब मदेखि टाढा भएर गै दियो
बिरानु बनी प्रतिपल मेरो यो मुटु धड्किन्छ
बितेका तिनै पुराना कथा सम्झाई तड्पिन्छ
बाँची नै रह्यो केवल चाह मुटुमा चोट पारी
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि वस्तु नै के छ र?
मनमा रह्यो विरह व्यथा भन्नु नै के छ र?