नेपाली कथा – भासुभीरको भूत

देउतीबजारभन्दा पर एउटा छाप्रोजस्तो चियापसलमा पुगेर गाडी रोकियो। भर्खरै देउतीबजारमा चिया र खाजाका लागि रोकेको गाडी फेरि यहाँ किन रोकेको होला भनेर सोच्दै थिएँ। सबै मानिस हुरुरु ओर्लिए। लगत्तै छतमा उक्लिए। गाडीभित्रका खलासीले मलाई सोधे, “तपाईंलाई चाहिँ आफ्नो ज्यानको माया लाग्दैन?” “किन?” “किन छतमा नगएको त?” उसले फेरि सोध्यो। मलाई आश्चर्य लाग्यो। मैले केही नबुझेर ड्राइभरतिर हेरेँ। “उहाँ नयाँ हुनुहुँदो रहेछ। देवी, बताइदे उहाँलाई सबै कुरा !” ड्राइभरले भन्यो। देवीप्रसाद नाम गरेको खलासी मेरो नजिकै आयो र भन्यो, “दाइ, भासुभीरमा भूत आउँछ र गाडीभित्र बसेका सबैलाई मार्छ।” “अनि, तिमीहरूलाई चाहिँ मार्दैन?” “हामीलाई पनि मारे त गाडी कसले चलाउने नि?” ऊ हाँस्यो। “त्यसो भए मलाई पनि मार्दैन।” मैले भनेँ। तीन-चार जना बूढाबूढी र म मात्रै गाडीभित्र थियौँ। सबै सकीनसकी गाडीको छतमा उक्लिएका थिए। “चौकी या सेनाको चेकपोस्टमा पुगेपछि गाडीका छतमा बसेकाहरू सबै गाडीभित्र चढेको देखेको थिएँ। तर, भित्र बसेका सबै छतमा चढेको पहिलोपल्ट देखियो।” मैले सँगै बसेका बूढातर्फ हेर्दै भनेँ। “के भनौँ नानी, भासुभीरमा भूतले गाडी पल्टाइरहन्छ। अनि, मान्छेहरू आत्तिनु पनि स्वाभाविक हो।” “तपाईंचाहिँ किन नआत्तिएको नि !” “उमेरले नेटो काटिसक्यो, अब मर्नलाई के डराउनू? फेरि भूतलाई पनि हट्टाकट्टा जवान नै मनपर्छ कि क्या हो !” भासुभीर कटेपछि भने सबै जना तल ओर्लिए। “लगेन है आज भूतले।” सबै दंग हुँदै बसभित्र चढे।

स्थानीय बसपार्कमा पुगेर बस रोकिइसकेपछि अरूसँगै म पनि झोला बोकेर ओर्लिएँ। तर, मलाई भासुभीरको भूतले तानिरह्यो। “किन यस्तो अन्धविश्वास?” “यो अन्धविश्वास होइन। सत्य हो। भासुभीर पुगेको बेला म पनि छतमा नै चढ्छु।” पछिल्लो बीस वर्षदेखि प्राथमिक विद्यालयमा प्रधानाध्यापक रहेका एक जनाले भने। “कस्तो सत्य हो यो? मलाई भन्नूस न!” “तपाइर्ं केन्द्रमा बसेर पत्रकारतिा गर्ने मान्छे। तपाइर्ंलाई झन् थाहा छैन?” उनले आश्चर्य व्यक्त गरे। उनले मलाई एक जना स्थानीय नेता र दैनिकका पत्रकारसँग भेटाए। “यो भासुभीरको भूतको कुरा के हो?” मैले रवि धामीलाई सोधेँ। उनले मलाई आफ्नो कार्यकक्षमा लगे। एउटा सानो कोठामा एउटा कम्प्युटर र केही मेच थिए। भित्तामा एउटा चार्ट टाँसेको थियो हातले कोरेको। त्यही चार्टतर्फ इसारा गर्दै रविले भने, “हेर्नूस् पछिल्लो चार वर्षमा ११औँपटक दुर्घटना भएको छ भासुभीरमा। असारमा भएको पछिल्लो दुर्घटनामा २२ जनाले ज्यान गुमाए। तर, छतमा बसेका कोही मरेनन्।” “सबै दुर्घटनामा यस्तै भएको छ। ड्राइभर-खलासी बेपत्ता हुन्छन्। बसभित्रका मर्छन् र छतमा बसेका सबै बाँच्छन्।” स्थानीय राजनीतिमा सक्रिय अमर जोशीले भने। भोलिपल्ट खाना खाएर म स्थानीय यातायात व्यवसायीहरूको कार्यालयमा गएँ। त्यहाँ भेटिएका यातायात व्यवसायीहरूलाई भासुभीरको भूतको प्रसंग सोधे । उनीहरू मुखामुख गर्न थाले। त्यहाँका अधिकांश बस व्यवसायीले त्यस रुटबाट आफ्नो गाडी निकाल्न खोजेका रहेछन्। “भूतबाट डराएर बस निकाल्न लागेको?” मैले सोधेँ।
“कुन बेला भूत आउँछ, केही थाहा हुँदैन अनि के गर्नु त?” एक व्यवसायीले भने। “दुर्घटनामा जोगिएका ड्राइभरहरूसँग कुरा हुँदैन तपाइर्ंहरूको? के हो भूतको प्रसंग?” “लौ, तपाइर्ंलाई थाहा छैन !” ती व्यवसायीले आश्चर्य माने, “यहाँ भएका ११ वटै दुर्घटनामा ड्राइभर-खलासी भेटिएका छैनन्।”
“के उनीहरू पनि मरे?” “होइन, भासुभीरको अख्रले चौतारो पुगेपछि ती ड्राइभर र खलासी ओर्लिंदा रहेछन् र गाडी आफै भीरबाट गुल्टिँदो रहेछ।” “के भनेको?” “हो, कतिपटक त गुड्दागुड्दै ड्राइभर-खलासी र छतमा भएका यात्रु हाम फाल्छन् र जोगिन्छन्। भित्र भएका सबै मर्छन्।”
“कस्तो कुरा गर्नुहुन्छ? ती ड्राइभर-खलासीको नाम, नम्बर र परविारका बारेमा त तपाईंहरूको समितिसँग जानकारी होला नि !” “के कुरा गर्नुहुन्छ पत्रकारज्यू, यस रुटमा गाडी चलाउने सबैको नागरकिता र लाइसेन्सको फोटोकपी हामीसँग हुन्छ। तर, जुनजुन गाडी पल्टिएका छन्, तिनका फोटोकपी पनि गायब छन्। त्यहाँ गाडी पल्टिएपछि ड्राइभरको पहिचान नै हराउँछ। खोइ के हो के हो? अस्ति असारमा पल्टिएको गाडी मेरो हो। सिन्धुपाल्चोकको तामाङ ड्राइभर थियो। खलासी पनि उतैको। उसको परविारसँग पनि मेरो बारम्बार कुरा हुन्थ्यो। तर, दुर्घटनापछि फोन लागेन। नागरकिता र लाइसेन्समा भएको नामका आधारमा खोजी गर्दा उसको गाउँमा यो नामको मानिस नै भेटिएन।” स्थानीय बस व्यवसायीको कुराले म थप हैरान भएँ। के साँच्चिकै भासुभीर भूतहरूको अखडा हो।

म भासुभीर हेर्न गएँ। अस्ति गाडीमा आउँदा राम्रोसँग हेरेकै रहेनछु। डरलाग्दो भीर रहेछ। गाडी अलिकति छेउमा गयो कि सीधै सय फिट तल खोलामा पर्ने। सात दिनको बसाइ सकियो। म त्यही भासुभीरको बाटो हुँदै सकुशल काठमाडौँ फकिएँ। तर, भासुभीरको भूतप्रतिको उत्सुकता र जिज्ञासा उस्तै थियो। म सिन्धुपाल्चोकको तामाङ ड्राइभरको नागरकिता र लाइसेन्सको फोटोकपी बोकेर सिन्धुपाल्चोक हानिएँ। नागरकिताको फोटोकपीमा लेखिएको थियो- ‘वीरबहादुर तामाङ, जन्म २०३५ साउन २०, मानेश्वारा गाविस ३ सिन्धुपाल्चोक।’ बाह्रबीसे पुग्नुभन्दा दुई-तीन सय मिटर यतैबाट म चढेको जिप उकालियो। ग्राबेल मात्र गरेको घुम्ती बाटोमा जिप पल्टिएलाजस्तो लाग्छ। कति ठाउँमा त भासुभीरको भूत नै यतै आउलाजस्तो। मानेश्वारा गाउँ पुगेपछि म ओर्लिएँ। जिप यहीँसम्म आउँदो रहेछ। तीन घन्टा हिँडेपछि म म्हाने गाङ गाउँ पुगेँ, साँझको ५ बजे। मैले चौतारोनजिकैको चिया पसलमा बसिरहेका स्थानीयलाई वीरबहादुर तामाङको घर सोधेँ। सबैले मुखामुख गरे। आश्चर्यचकित भएर उनीहरूले कहिले मलाई, कहिले आफूआफूलाई नै हेर्न थाले। “त्यो भासुभीरमा गाडी चलाउने वीरबहादुर क्या।” मैले फेरि भनेँ। “चिनेका छैनौँ हामीले। यो गाउँमा यो नामको कोही छैन।” एक बूढाले झोक्किँदै भने। “गाउँमै नभएको मानिस खोज्दै आउने? तपाइर्ं गइहाल्नूस्। यो गाउँमा बस्दै नबस्नूस्।” एक जना अधबैँसे कड्किए। “गाउँमा बस्नै नहुने के अपराध गरेँ र मैले? वीरबहादुर छैन भने ठीकै छ। तर, यो गाउँबाटै गइहाल भन्न त मिलेन नि !” म पनि कड्किएँ।
“हुँदैन। यो गाउँमा बस्न पाइँदैन।” ३०-३५ वर्षको तामाङ अनुहार चिच्यायो। “हेरौँ त कसले रोक्दो रहेछ मलाई, यो गाउँमा बस्नलाई? म यहीँ बस्छु।” म अझ जंगिएँ। “के रे! भनेको नमान्ने? तु गइहाल यहाँबाट।” त्यो तामाङ अनुहार मलाई गलहत्याउन आइपुग्यो। “ए…ए… के गरेको? छोड आइते! उहाँलाई केही नगर।” एउटी अधबैँसे महिलाले रोकिन्। “तपाईं हिँड्नूस् मसँग।” त्यहाँ कोही बोलेनन्। म ती महिलाको पछिपछि लागेँ। १५-२० मिनेटको बाटो हामीले नबोली पार गर्‍यौँ। घरमा पुगेपछि म पिँढीमा थचक्क बसेँ। गलेको थिएँ। उनले गुन्द्री ल्याइदिइन्। गुन्द्रीमाथि सरेँ। “छ्याङ पिउने हो?” उनले सोधिन्। मैले नपिउने संकेत गरेँ। ‘त्यसो भए चिया बनाउँछु’ भन्दै उनी भित्र छिरनि्। मैले चारैतिर हेरेँ। फराकिलो सफा आँगन। एक छेउमा सेतो पहेँलो कपडाको झन्डाजस्तो झुन्ड्याइएको थियो। झन्डाभरि के के नबुझिने अक्षरहरू थिए। साँझ छिप्पिँदै गइरहेको थियो। पर कतातिर हो, एफएममा पुराना नेपाली गीत घन्किरहेका थिए। छिप्पिँदो साँझमा चिया पकाउन भित्र छिरेकी उनले रात ओर्लिएपछि मलाई भित्रै बोलाइन्। भित्र फराकिलो गुन्द्री ओछ्याइएको रहेछ। म त्यसैमा बसेँ। उनले चियाको गिलास दिइन्। आफूले पनि एउटा गिलास समाइन्। त्यत्तिकैमा अघि तल होटलमा मेरो कठालो समातेको ३०-३५ को तामाङ अनुहार घरभित्र छिर्‍यो। मेरो सातोपुत्लो उड्यो। लौ मार्ने भए जस्तो लाग्यो।

“न आत्तिनूस्, यो मेरो छोरो हो आइते। केही गर्दैन।” महिलाले मेरो अनुहारको भाव बुझेर भनिन्। कुन्नि के हो लिएर लगत्तै त्यो तामाङ अनुहार बाहिरयिो पनि। “तपाईंले किन खोज्नुभएको वीरबहादुरलाई?” उनले सोधिन्। “तपाइर्ं चिन्नुहुन्छ र वीरबहादुरलाई?” मैले खुसी हुँदै सोधेँ। “उहाँ मेरो बुबा हो।” “हँ के भनेको?” मलाई आश्चर्य लाग्यो, “मैले त अस्ति भर्खर भासुभीरमा बस दुर्घटना भएर बेपत्ता भएको ड्राइभर वीरबहादुर तामाङको कुरा गरेको।” “हो, मैले उसैको कुरा गरेको। उहाँ मेरो बुबा हो। भासुभीरमा गाडी चलाउनुहुन्थ्यो। तर, उहाँ गाडी दुर्घटना भएर बेपत्ता भएको होइन। गाडी ठोक्कियो भनेर त्यहाँका मान्छेहरूले कुटीकुटी मारेका हुन्।” उनले भनिन्। कुरा बाझियो। कुरा मिल्ने छाँट पनि देखिनँ। ०३५ सालमा जन्मिएका वीरबहादुरकी छोरी अधबैँसे कसरी हुन सक्छिन्? “मैले गएको असारको कुरा गरेको। त्यस बेला त्यहाँ बस दुर्घटना भएको थियो। २२ जना मरेका थिए। ड्राइभर-खलासी बेपत्ता थिए।” “गएको असार होइन। यो ४० वर्षअघि असारको कुरा हो। त्यस बेला म पाँच वर्षकी थिएँ। मेरो बुबा भासुभीरमा बस चलाउनुहुन्थ्यो। ऊ त्यो तामाको फोसी छ नि, बुबाले उतै धनगढी बजारबाट किनेर ल्याएको। मलाई दाइजो दिन।” मैले त्यो पुरानो तामाको फोसीतिर दृष्टि घुमाएँ। “बुबा वर्षमा एक-दुईचोटि घर आउँदा केही न केही लिएर आउनुहुन्थ्यो। त्यसताका त्यताका सबै युवा काम खोज्दै भारत हानिएका थिए। गाडीको बाटो त गयो तर गाडी चलाउने मानिस नै पाइएन। काठमाडौँमा गाडी चलाउँदै गरेको बुबालाई उतैका मानिसले अनुरोध गरेर भासुभीर पुर्‍याएका।” बोल्दाबोल्दै उनी गम्भीर भइन्, “कुटेर मार्नु रहेछ र पो जिद्दी गरेर लगेका रहेछन्।” “उहाँले गाडी चलाउन थालेको आठ-नौ वर्षपछि एक दिन भासुभीरको भित्तामा गाडी ठोकिएछ। सामान्य चोटपटकबाहेक कसैलाई केही भएको थिएन। तर, उत्ताउला यात्रु र आवेशमा आएका गाउँलेले बुबा र बुबाको उतैको एक जना खलासीलाई कुटीकुटी घाइते बनाएछन्। त्यतिले नपुगेर मेरो बुबा र खलासीलाई त्यही भीरमा खाल्डो खनेर गाडेछन्।” म अवाक् भएर सुनिरहेँ भासुभीरको दर्दनाक कहानी। “पछि हाम्रा नानाहरू जाँदा जिउँदै हुनुहुन्थ्यो मान्छेहरूले त्यत्तिकै गाडेर मारे भनेछन् ।” उनले भित्तामा टाँगेको श्यामश्वेत फोटो हेरनि्, “त्यसपछि हामीले आफ्ना सन्तान कसैलाई पनि गाडी चलाउन दिएका छैनौँ।” “अनि, यो भूतको प्रसंगचाहिँ के हो त?” मैले जिज्ञासा राखेँ। “खोइ थाहा छैन, उहाँको आत्मा शान्त भएको छैन भन्छन् गुरुबाले। त्यही भएर बेलाबेलामा भट्किरहन्छ र बदला लिइरहन्छ रे!” “यस्तो पनि हुन्छ र?” “हुँदो रहेछ, नपत्याएर के गर्नू? ४० वर्षअगाडि मरेका मेरा बाउको नाम लिएर तपाईं कसरी यहाँ आइपुग्नुभयो? हरेक वर्ष कोही न कोही यहाँ बुबाको नाम लिएर सोध्न आइपुग्छन्। त्यहाँ दुर्घटना हुँदा ड्राइभर वीरबहादुर नै किन हुन्छ त?” म केही बोल्न सकिनँ। भासुभीरको भूतले मेरो मथिंगल झन् रन्थनियो।