विकास – बिम्मी शर्मा

म हुँ विकास !

गर्छन् सबैले ममाथि धेरै आश

सरकारले बजाउने बिगुल हुँ म

तर कठै !

‘बहिरा’ जनताले सुन्न पाउँदैनन्

संगीतमा चल्ने मेरो सास !

जब देशमा चुनावी लहर आउँछ,

मलाई दसैं आएझैं हुन्छ ।

सबै पार्टीका घोषणापत्रमा

म हिरो बनाइन्छु

हरेक वर्ष बजेटको झाँकीमा म सजिन्छु

र झुन्डिन्छु सबैको थुतुनोमा

कुनै नयाँ चलचित्रको गीतझैं !

तर, पिँजडाको सुगाझैं

मलाई फाइलभित्रै कुहाइन्छ

मुसा र साङ्लाले हरेक वर्ष

खान्छन् मलाई मुख मिठ्याएर

हरेक वर्ष पुल-पुलेसा, सडक

र, भवनको सपना देखाउँदै

मलाई नयाँ दुलहीझैं भित्र्याउने

योजना बनाइन्छ

तर, वर्षौंदेखि बाँझोपनको आरोप खेपेर

आफ्नो पेट अठ्याउँदै

अर्काको सन्तान हेरेर रुन बाध्य महिलाझैं

म पनि जनताको सपना र चाहनामै हराउँछु ।

हो ! असारको खहरे भेल हुँ म

सडकमा जताततै छताछुल्ल हुन्छु

बर्खा सकिनेबित्तिकै मरुभूमिमा

परिणत हुनुपर्ने मेरो नियति

र मृगतृष्णाझैं सुसेलिने मेरो चाहना

खोलाको बगर भएर सुक्दछ ।

म हुँ विकास

सबै गर्छन् मसँग आश

तर, छैन ममा कुनै उज्यालो प्रकाश !

Source – http://www.baahrakhari.com