नेपाली कविता – फेरि एकपटक खुलेको छ सपनाको बजार

फेरि एकपटक खुलेको छ सपनाको बजार
आउनूस्, देख्नूस् राम्रो सपना
र, लेखिदिनूस् उसको नाउँमा
तपाईंको कमसे कम अर्को पाँच वर्षको जिन्दगी ।

तपाईं चामलजस्तो केलाएर हेर्न सक्नुहुन्न
लुगाजस्तो छामेर अनुभव गर्न सक्नुहुन्न
उसले भन्दै जान्छ, तपाईंले सुन्दै जाने हो
आँखा चिम्लिने हो, सपना देख्ने हो
उसका सबै भनाइ विश्वास गर्ने हो
फेरि एकपटक खुलेको छ, सपनाको बजार ।

आउनूस् तपाईंलाई कुन सपना मन पर्छ
दिउँसै देख्नूस् एक सपना
र, पाल्नूस एक पल्टन शासकहरू
सभा भाँड्ने सभासद्हरू ।
संविधानसभा बनाइदिनूस्
र, दिनूस् संविधान नबनाउने अनुमति
सरकार बनाउन सहयोग गर्नूस्
र, गर्नूस् सरकार नभएको अनुभूति
र,
तपाईंको छाप्रो उधारेर
गर्नूस् मद्दत
बनाउन लथालिंग मुलुकका पार्टीका घरहरू
तपाईंको छाक काटेर गर्नूस् सहयोग
निर्माण गर्न
गरिब कार्यकर्ताका धनी नेताहरू
लेखिदिनूस् उसका नाउँमा
तपाइर्ंका उर्वर जवानीका पाँच वर्ष
फेरि एकपटक खुलेको छ, सपनाको बजार ।

तपाईं रिक्सा चलाउनुहुन्छ त के भो र ?
किन्दै नकिनी निजी गाडीमा
सयर गरेको सपना देख्नूस्
तपाईं निजी गाडीमा हिँड्नुहुन्छ भने
हवाईजहाज किनेको सपना देख्नूस्
छन् ऊसँग थरीथरीका सपना
छन् ऊसँग प्रत्येक वर्गका सपना
अँध्यारो गाउँमा अर्को महिनादेखि
बिजुली बत्ती बाल्न पाइने सपना
सुक्खा जमिनहरू पानीले भिजाउने सपना !
सपनाको बजारमा यो पनि केही सपना हो र ?
देख्नूस् तपाईं दुई सय तला माथिको
गगनचुम्बी घरमा रहेको सपना
देख्नूस् तपाईं इन्द्रेणीको धागोबाट
संसार भ्रमण गरेको सपना ।

ऊ सपनाको कारखाना नै हो
अहिल्यै निकालेर दिन्छ
भिन्न मोडेल र ब्रान्डका सपना तपाईंलाई
मात्र लेखिदिनूस् तपाईंका अमूल्य जीवनका
अर्को पाँच वर्ष
फेरि एकपटक खुलेको छ, सपनाको बजार ।

जमिनदारलाई जमिन थपिदिने मौका
पुँजीपतिलाई अझै कमाउने अवसर
कालोबजारीलाई अझै भाउ बढाउने अवसर
सँगै
समानता र साम्यवादको पनि सपना
संघीयता र समाजवादको सपना
परिवर्तन र क्रान्तिका सपना
सबै एकै मनचिन्ते झोलामा राखेर
बाँडिरहेको छ सपना
मात्र छाप लगाइदिनूस् उसको नाममा
तपाईंको उर्वर जीवनका अर्को पाँच वर्ष ।

घरको सपना देख्दा देख्दै बेघर भएका
सहर पानीले पखालिने सपना किनेर काकाकुल भएका
नयाँ राज्यको सपना किनेर आफैँ बेचिएका
धेरै ठगिएका, झुक्किएका छन् मानिसहरू

फेरि पनि सपनाको बजारमा सपना किन्नेहरू छन्
झुक्किएका दशकहरू बिर्सेर
नयाँ सपनामा आश गर्नेहरू छन्
किन्नूस् तपाईं पनि एक थान वा अनगिन्ती सपनाहरू
फेरि एकपटक खुलेको छ, सपनाको बजार ।