नेपाली कविता – पहिचान

जब पहिलोपल्ट

उसले छोड्यो देश र टेक्यो परदेशको माटो

उसले अनुभूत गर्‍यो कस्तो हुन्छ

वाग्मतीको किनारा हुँदै बग्ने हावाको गन्ध ।

राखेर बन्धकी आमाको आँसु

लुकाएर मायाको चिनो छातीभित्र

उडेको उसले

जब सुरु गर्‍यो माझ्न

असीऔँ तलाको भव्य रेस्टुराँमा

जुठा भाँडा

लगाउन पोचा र सफा गर्न चर्पी

उम्लिन सुरु गर्‍यो ऊसँगै परदेशिएको

राष्ट्रवादको तात्तातो लाभा ।

मिसिन खोज्दा नखोज्दै लाभाको घोलसँग

पुर्खाले छोडेको जोस

नाच्यो फनफनी आँखाको वरिपरि

आमाको जीर्ण शरीर

चिसो भयो लाभा

बग्न लाग्यो बालुवा मिश्रति बतासमा मिसिएर

स्वाभिमानको अन्तिम फलक

रोक्न खोज्यो आशाको अन्तिम तृणमा

झुन्डिएरै भए पनि

पुर्खाले बचाएको शील

तर, रोक्न सकेन

उसले सम्हालेको रातो झन्डाले

कृतदास बन्दै गरेको उसको पहिचान ।

उसले बन्द गर्‍यो पलक र पढ्न थाल्यो

देशभक्तिको लडाइँमा कासन गर्ने

क्रान्तिवीरको तस्बिर

ठिंग उभियो क्रान्तिवीर

झुन्ड्याउँदा पनि नझुकेको लखनजस्तै

निर्धक्क तरिरह्यो आँखा

अहँ पटक्कै हुन सकेन

एकाकार समयको मजाकसँग ।

ऊ पल्टियो निस्लोट भई

र, देख्यो सपना

देख्दा देख्दै क्रान्तिवीर खण्डित भयो

कतै नेवार भयो

कतै तामाङ भयो

कतै राई भयो

कतै मधेसी र बाहुन भयो

हेर्दा हेर्दै चर्कियो उसको ललाट र प्रतिविम्बित भयो

अभिज्ञान खोज्दा खोज्दै स्वयं पराधीन बन्दै गएकोे देश ।

उसले खोज्यो चुम्न

भादगाउँले टोपीमा अंकित क्रस खुकुरी

स्पर्श गर्न चाह्यो बुद्धको सुन्दर मूर्ति

तर, गर्दा नगर्दै स्पर्श

गाढा भयो रात र बग्न थाल्यो तुफान

उसले अरबका ताता भेडीगोठबाट देखिने

धूलाम्मे क्षितिजको जुनलाई हेर्दै

अनुभूत गर्‍यो

कस्तो हुन्छ

नेपाली हुनुको पहिचान ।