आमाको अभाव

ब्रह्मनालमा आमा हाँसिरहनुभएझैँ लाग्थ्यो। ओठ हल्का खुलेकै थिए। मिलेका सुन्दर दाँतहरू पंक्तिबद्ध नै थिए। भान्जीले बुनिदिएको कलेजी रंगको ऊनी टोपी माथमै थियो। आमा ध्यानमग्न मुद्रामा साथै हुनुहुन्थ्यो। हामी पाँचै दाजुभाइ सँगसँगै थियौँ। इष्टभित्र, साथीभाइहरू आसपास नै थिए। पवित्र पाशुपत क्षेत्रमा मिर्मिरेको मधुर प्रकाश पोखिएको थियो। घन्टका मधुर ध्वनिहरू वातावरणलाई मुग्ध पार्दै गुन्जिरहेकै थिए। वाग्मती सफाइ अभियानले गर्दा वाग्मतीको पानी केही कञ्चन थियो। सबै यथावत् नै थिए। तर, आमा पार्थिव रूपमा मात्र हुनुहुन्थ्यो। मैले वाग्मतीको जलले आमाको मुख धोइदिएँ। ठूल्दाइ, नान्दाइ र मणिले आमालाई माला लाइदिए। कान्छो भाइ सुधीरले धूपको बास्ना चलाइदियो। भाउजूले सिन्दुर, पोते र चुराहरू पहिर्‍याइदिनुभयो। मलाई थाहा भएदेखि नै आमा सौभाग्यमा सिँगारनि औधी रुचाउनुहुन्थ्यो। पूरै रातो पहिरन, माथमा सिन्दुर, क्लिप-काँटा, रातै टीका, आँखाभरि गाजल र ओठमा बाक्लो लिपिस्टिक आमाको पर्यायवाची थिए। ब्रह्मनालमा पनि आमा सौभाग्यमा नै सजिनुभएको थियो। अबिर र पुष्पपत्रहरू वरपिर िथिए। एक्कासि मन चसक्क चस्कियो। आँखाका कोसहरू केही काला थिए तर गाजल पटक्कै थिएन। मैले नारायणी भान्जीले बुनिदिएको टोपी अलिकति मिलाइदिएँ। न कतै कपाल थियो, न क्लिप-काँटा अड्काउने कालो जुरो। मन कटक्क भयो फेरि। हामीले आमालाई बोकेर बिस्तारै पाइलाहरू चाल्न थाल्यौँ। सानी गाँठीकी आमा त्यसमाथि बिमारले खिएको शरीर, हामीलाई भौतिकी भार त केही थिएन तर मानसिक भार औधी थियो। आमाले कसरी हुर्काउनुभयो होला? कसरी ताते गराउनुभयो होला। हाँक्की र काखी गर्दै हामी पाँच-पाँच भाइलाई हुर्काएर कसरी ठूलो बनाउनुभयो होला? म पाइलाहरू बिस्तारै चाल्दै आमा र आमाको महत्त्व कल्पन्छु। ब्रह्मनालको पल्लो छेउमा आमाकोे चिता सजाइएको थियो। बडो होसियारीपूर्वक आमालाई चितामा सुताइयो। उही शालीन र सौभाग्यवती रूपमा आमा चुपचाप मुढाका बिछ्यौनामा सुकला हुनुभयो। हामीले जल, कुश र तीलले तिलाञ्जलि दियौँ र आमाको अन्तिम दर्शन गर्‍यौँ। उही अनुहार, उही रूप र उही सौभाग्य। पार्थिव रूपमा आमा अझै साथै हुनुहुन्थ्यो। तर, अन्तिमपटक आमाको पाउमा ढोग्दा पाउ पहिलेजस्तो कोमल थिएन। जब्बर थियो। के-कसो नमिलेको महसुस हुदै थियो। तर, जब सुयोग भतिजले दागबत्ती ठूल्दाइलाई पास गर्‍यो र उहाँद्वारा आमाको त्यही सधँै सिंगाररिहने अनुहारमा दागबत्ती दिइयो, तब मात्र आमाको असली अभाव महसुस भयो। अब आमा रहनुभएन भन्ने अनुभूतिले मुटु भक्कानिएर रोयो।

आमा आगोसँगै जतिजति बल्दै जानुहुन्थ्यो, हामी पनि मानसिक रूपमा त्यतित्यति खरानी भइरहेका थियौँ। हामी आमाको जलिरहेको देहलाई निर्निमेष हेररिहेका थियौँ। यही बेला मैले आफूलाई जीवनमा पहिलोपटक निरीह र टुहुरो पाएँ। के गरौँ, कसो गरौँ हुने तर केही गर्नै नसकिने। आँखाका कोसबाट बग्न लागेका आँसुलाई औँलाले पुछेँ। घिउ, कपुर र पाँचसुते बत्तीका सहयोगले मुढाहरू बल्दै गए। आमा सल्किँदै जानुभयो। दाजुभाइलाई हेरेँ, कसैको ओठमा आवाज थिएन। आँखा राता र रसिला थिए। अब बल्ल अनुभूति भयो आमाको अभाव। त्यो मीठो बोली, मधुर मुस्कान, सधैँ सकारात्मक सोचाइ र संसार चिहाउने आमाका ती सुन्दर आँखाहरू सब आगोसँगै ह्वारह्वार्ती बले। मलामीहरू दन्किएको चिता हेर्दै उहाँको सफल जीवन र मृत्युलाई परभिाषित गररिहेका थिए। तर, आफूलाई भने कस्तो खपिनसक्नु पीडाबोध भइरहेको थियो। आमा बिस्तारै बिस्तारै बलिदिए पनि हुने। एक निमेष भए पनि आमाको भौतिक शरीर अलि बढी देख्न पाइए पनि हुने। यस्तो मनोभावले आक्रान्त पाररिह्यो तर सायद आमाको पुण्यको कारण भनूँ, चिता दन्किरह्यो। आमा बिस्तारै बिस्तारै खरानीमा परिणत हुन थाल्नुभयो। केही क्षणमा आमा पूरै खरानी हुनुभयो। अस्तुलाई वाग्मतीकै गर्भमा सेलाइयो। तात्तातो चितालाई पानीले धोइपखाली गरयिो। अब आमा कतै रहनुभएन। अनि, झन् सीमान्त आमाको अभाव खड्कियो। मैले सम्झनाका पानाहरू पल्टाएँ। जुन जुन परिच्छेदहरू पल्टाएँ, त्यही सौभाग्यवती आमाको मीठो बोली, मधुर मुस्कान, सकारात्मक सोचाइ र संसार चिहाउने ती सुन्दर आँखाहरू अब स्मृतिको झझल्कोमा म्ाात्र सीमित भए। धार्मिक ग्रन्थमा महाभारतलाई धेरै पृष्ठको ग्रन्थ मानिन्छ क्यारे! तर, त्यस क्षण मैले संसारको सबैभन्दा ठूलो र महत्त्वपूर्ण ग्रन्थ पनि खरानी भएको महसुस गरेँ। आमा हाम्रा लागि रामायण-महाभारतभन्दा महान् ग्रन्थ हुनुहुन्थ्यो। वास्तवमा हरेक सन्तानलाई आफ्नी आमा विशिष्ट नै लाग्दो हो। तर, हरेक विशिष्टताभित्र पनि हाम्री आमा पृथक् हुनुहुन्थ्यो झैँ लाग्छ मलाई। म पहिल्यैदेखि नियाल्थेँ, घाम तापिरहेका, कुरा काटिरहेका र टीभीका बकवास सिरयिल हेरेर समय खेर फालिरहेका स्वास्नीमान्छेलाई। अनि, रसि पोख्थेँ आफ्नी अर्धांगिनी शोभालाई। किन यी अधिकांश महिलामा हाम्री आमालाई झैँ नयाँ कुराहरू सिक्ने प्यास जागेन? हाम्री आमा सात दशकअघि नुवाकोटको एक अनकन्टार गाउँमा जन्मिनुभयो। उही घाँस, दाउरा र लोटाइपटाइमा हुर्किनुभयो तर जब उहाँमा सिर्जनाको चेत पलायो, तब उहाँमा सिक्ने अभिलाषाहरू खातमाथि खात लागेर आए। उहाँ नयाँ नयाँ कुरा सिक्न मरहित्ते नै गर्नुहुन्थ्यो।

आमा पाँच जना दिदीबहिनीमध्ये माहिली हुनुहुन्छ। बाँकी चार जनामध्ये अझै पनि केहीलाई मात्र मुस्किलले श्रीस्वस्थानी वाचन गर्न आउँछ। तर, आमाले बजारयिा तुल, बोर्ड र सामानका खोलमा लेखिएका अंग्रेजी शब्दहरू पहिल्याउन सक्नुहुन्थ्यो। मान्छेका नामहरू अंग्रेजीमा लेख्नुहुन्थ्यो। किनमेल र घरायसी हिसाबका लागि उहाँले कहिल्यै क्याल्कुलेटर प्रयोग गर्नुभएन। मुखाग्र हिसाबहरू मिलाउनुहुन्थ्यो। एकताका लामै समय उहाँले घरको आयव्यय हुबहु कापीमा उतारी राख्नुहुन्थ्यो। अझ गजब त आमाले डायरी पनि लेख्नुहुन्थ्यो। यात्रा संस्मरण कोर्नुहुन्थ्यो। ०४५ सालताका उहाँले पहिलो हवाईयात्रा गर्नुभयो। हवाईजहाजबाट आकाशका बादलहरू हेर्दा उहाँको मनमा उठेका भावनाहरू उहाँले कोर्दा म तीनछक परेँ। यदि आमाले विद्यालय, महाविद्यालयको मुख पनि हेर्न पाउनुभएको भए के-केसम्म गर्नुहुन्थ्यो होला ! अहिले म गम खाएर बसिरहेछु। आमाको सिलाइ-बुनाइमा पनि औधी रुचि थियो। हामी पाँचै जना दाजुभाइलगायत अरू कयौँले आमाले बुनिदिएको स्वीटर, टोपी, पन्जा र मोजाहरू लगाई हुर्कियौँ । म त आठ कक्षा पढ्ने समयसम्म बर्सेनि आमाले आफैँ काटीकुटी गरी खुटेर सिलाउनुभएको पाइन्ट लगाउँथेँ। पहिलो पाइन्ट सिलाउन कम्ती दुःख साँध्नुभएन उहाँले। चुलेसीले नै कपडा काट्नुभयो। बाबाको पाइजामाको इँजारले मेजरमेन्ट लिनुभयो। जाँघ नमिलेर फेरि अर्को आपत्। तर, अन्तिममा आमाले तयार बनाइछोड्नुभयो। आमाको कामप्रतिको त्यो लगाव आजको हाम्रो यो शोकाकुल क्षणमा सबैप्रति अवगत गराउन चाहेँ मैले।
आमाले विराटनगरको आफ्नो बसाइमा साइकल सिक्नुभयो। त्यहीँ आमाले कुर्था, सुरुवाल र पाइन्ट लगाउनुभयो। विराटनगरकै छोटो बसाइमा आमाले फोटोसुट गर्नुभयो। मधुवाला युगका ब्ल्याक एन्ड ह्वाइट फोटो र जुल्फी लर्काउने अनि सजाउने शैली आमाले ‘३० को दशकको पूर्वार्द्धमै गर्नुभयो। साँच्चै आमाका ती दिन झल्काउने फोटोहरू हेर्दै रहरलाग्दा छन् अझै।

हाम्रा लागि आमा घरायसी कुशल वैद्य नै हुनुहुन्थ्यो। सामान्य रोगहरू उहाँसामु पर्नै नहुने। जरा, बुटा, पात के के हो, उहाँ जम्मा पारी कुटकाट गरी पकाई खुवाउनुहुन्थ्यो। पहिले पिउन दिगमिगाए पनि खाइसकेपछि हामीलाई आराम हुन्थ्यो। आमामा ज्ञानका अनेक अंशहरू थिए। आयुर्वेदका केही पुस्तक आमाको सिरानीमा सुरक्षित थिए। थुप्रै धार्मिक श्लोक, सर्ग आमालाई मुखाग्र हुन्थे। गीता, चण्डी, दुर्गाकवच र वेदका केही ऋचाहरूसँग उहाँको बिहानी प्रहर बित्थे। कविशिरोमणि लेखनाथका कविताहरूमा उहाँ खेल्नुहुन्थ्यो। समकालीन साहित्य र समसामयिक लेखरचनाहरू उहाँलाई मैले र भाइ मणिले सुनाइरहनुपथ्र्यो। यता हाम्रा साहित्यिक रचनाहरूमा भने उहाँले थुप्रै ठाउँमा सच्याइदिनुभएको छ। भीमनिधि तिवारीको ‘मध्यमवर्गकी स्वास्नीमान्छे’ कविता आमालाई उहिल्यैदेखि मन पथ्र्यो। पहिले खासै केही लाग्दैनथ्यो, त्यस कवितामा। तर, आमाको देहवसानपछि फेरी त्यो कविता पढेँ। तिवारीले आमालाई नै देखेर कविता कोरेझैँ लाग्यो। कवितामा वर्णन गरेझैँ काटीकुटी हुनुहुन्थ्यो हाम्री आमा। आमा शब्दै महान् रहेछ। रोगले गाल्दै लगेका आखिरी महिनाहरूमा यो अनुभूति झनै पलाउँदै गयो हामी पाँचै जना दाजुभाइमा। अझ आमाकै अभावपछि त आमा शब्द र सम्झनाले बुहारी र नातिनातिनीहरूमा पनि क्षणक्षणमा सतायो, धुरुधुरु रुवायो। हाम्रो घरायसी परिवेश वरिपरी आमाकै आत्मिक झझल्को आइरहने। आमाको कुनै सम्झना कसैले निकाले आँसु बररै हुने। ओहो, कस्तो अवस्था यो? कस्तो अभाव आमाको यो? आमा सृष्टिको कस्तो रूप ! त्यस्तो रूपवान् र करुणाकी खानी आमाले पाँच-पाँच जना हामी सग्ला छोराहरू जन्माईहुर्काई सकुशल श्रीमान्लाई साक्षी राखी आज आफैँ यस धर्तीबाट सम्झनाका आँसु मात्र छाडेर विलीन हुनुभयो। हेर्दा, सुन्दा सामान्य लागे पनि एउटी साधारण नेपाली महिला हाम्री आमामा शिक्षा, सिर्जना र सीपको भोक अथाह थियो। त्यही भोकले तड्पिएपछि मान्छेमा आत्मिक आनन्दको विकास हुँदो रहेछ। भौतिकताले सम्पन्न रहँदा रहँदै पनि मन र परविारमा शान्ति र सुख नपाएर छटपटिएका मान्छेहरू मैले धेरै देखेभोगेको छु। शिक्षा, सिर्जना र सीपको भोकका कारणले हाम्री आमालाई सबैको नजरमा विशिष्ट तुल्याएकै हो। त्यही भोक म कम्तीमा पनि आमाकी पाँच बुहारी र नातिनीहरूमा खोजिरहेछु। कुनै पि्रय दिन आमामा जागेको त्यो भोग आमाका सन्तान-दरसन्तानहरूमा मौलायो भने आमाको अभाव केही कम हुने थियो होला। नत्र त ईश्वरमा लीन भइसकेकी हाम्री आमाको अभाव सजिलै केले पो पूर्ति गर्न सक्ला र !