कविता – शिमल

शिमल जति बढे पनि घमन्डले चढे पनि
शिमल सेतै फुले पनि सेतै भुवा उडे पनि
अलि बढेर के भायो भुवा उडेर के भयो
सेतै फुलेर के भयो, सेतै झरेर के भयो
(१)
गुलाब मानको हुने शिमल फुलेर के हुने
घोचे पनि गुलाब हो शिमल बढेर के हुने
सेतै फुले के भयो न देवको न प्रित्तको
जति बढे नि के भयो न भित्रको न मित्रको
(२)
न काठको न फुलको न मोल तोलको कतै
न रंगको छ मोहनी छरेर बास्ना कतै
शिमल भुवा समानका न भित्र चित्त चेतना
शिमल बढे समानाका नि भित्र स्वच्छ भावना
(३)
बसन्तको बहार शिमल फुलेर आउला
शिमल बढेर ढुंगामा बसन्त राग गाउला
बनै शिमल मने शिमल शिमल छ चेतना पनि
छ अग्लिंदै कुकाठले बडो म भन्छ तैपनि
(४)
सेतो छ रंग फुलमा न बास्ना रंगको बसन्तको
दिगो दरो नदेखिने हुँदैन है जीवन्तको
नि टिप्नुको फुलेर मात्र के भयो
न लाएको न बिक्नु को टिढै गरेर के भयो
(५)
कुकाठ अग्लिंदै गए मोटो भएर के भयो
न गाबको न कामको ठूलै भएर के भयो
शिमल घमन्डमा फुले अदुरदर्शिता पनि
जति बढेर के भो शिमल घमन्डका धनी
(६)
शिमल जति बढे पनि मोटो कु काठ काम खै
ठूलो भएर के भयो लुतो कुकाठ नामकै
शिमल पलाउँदै गए महु बडा बडी रहँु
शिमल समानका हुँदै म उच्चमा चढिरहँु
(७)
कुकाठ सल्किंदै गए शिमल हल्लक हल्कियो
शिमल मोटोे हल्केको बढो विचित्र हल्कियो
दलिन नयाँ दरा बरा शिमल हेरेर हुन्न है
न शिरको न पीरको शिमल झरेर जान्छ है
(८)
शिमल झरेर के भयो क्षति रति हुँदैन है
न गाबको बढे पनि आदर्श भन्न हुन्न है
कति झरे कति छरे भुवा समान दर्शन
शिमल बढा म हुँ कैै घमन्ड फूल्छ जीवन
(९)
न छो न छो शिमल भुवा हावा बनेर उड्नु है
अझै अझङगका बनि शिमल समान बन्नु है
शिमल बढेर के भयो सेतै फुलेर के भयो
शिमल ढलेर के भयो शिमल बढेर के भयो

Advertisements

कविता – एउटा सपना देख्ने मान्छे

 

एउटा सपना देख्ने मान्छे
एक दिन उसले
एउटा सपना देख्यो
संघीयताको !
संघीयता भित्र आफ्नो राज्यको !
त्यो राज्य भित्रको उ एउटा हकदार !!!
त्यसैले
उ आफ्नो राज्यको मनोरम पहाडवाट
सेता झर्नाहरू खसेको देख्यो
पाखाहरूमा चेलीहरूको मिठो भाका पायो
चौपारी र देउरालीहरूमा
वाँसुरीको गुन्जन सुन्यो
हरिया डाडा माथी
गुरासका थुड्डा चुम्दै
आफ्नो राज्य भित्र
रातो घाम उदाएको देख्यो।
राज्य प्राप्तीका उल्लास सँगै
रड्डीन वेलुनहरू आकासमा उडाएर
आफ्नो राज्यको नागरीकहरूले
भव्य उत्सव मनाएको हेर्यो।

अर्को दिन उसले
फेरी पनि सपना देख्यो
उही संघीयताकोे !
जहाँ हर्केले वन्दुक वोकेर गर्जदै थियो ,
“यो मेरो राज्य हो।”
फरी अर्को ठाउँमा विर्खेले खुकुरी नचाउँदै थियो,
“मेरो राज्य खोई?”
एउटा सपना देख्ने मान्छे
उसको सपनामा
उसले भाला र लाठी वोकेका
रक्तरञ्जित मान्छेहरू देख्यो
धनुकाँद भिरेका
आदिवासी जनजातिहरू देख्यो
उसको सपनाको यो अध्यायमा
वेलुन उडेको आकाशभरी
लडाकु विमान हरूको आतंक मडारियो
यसरी उ आफ्नो राज्यको कालो पहाडवाट
रगतको खोला वगेको देख्यो
पाखाहरूमा चेलीहरूको रोदन र चित्कार सुन्यो।

देउराली र चौपारीहरूमा
युवाहरूको विभत्स लाश भेटयो
उसले देखेको संघीयताको सपनामा
उसको राज्यको मनोरम पहाड भत्कीयो
गुराँसका थुड्डाहरू सवै झरे
उसको राज्यको देउराली र चौपारीहरू पनि हराए
उसको राज्यको रातो घाम
क्षितिज पारी गएर विलायो
संघीयताको महाद्धन्दवाट निस्किएको
अशान्तिको शोक धुन सँगै
उसको राज्यको मानचित्रै समेत मेटियो

अचम्म !
उस्तैमा उसको सपनाको
अर्को नविन अध्याय शरू भयो।
एउटा सपना देख्ने मान्छे
अव उसको सपनामा
आकाश थर्काउने मेघको गर्जन सँगै
मोर्चामा उभिएका सहासिला योद्धाहरू देख्यो
धर्ती हल्लाउने भुइचालुका संर्घष सँगै
न्यायप्रेमी जनताहरूका आँतीला पदचाप देख्यो
उसले ज–जसलाई देख्यो
उनिहरूको एउटै हुँकार थियो
संघीयता चाहिंदैन !
यो हुँकार झन् झन् बुलन्द हुदै थियो
मान्छेहरूको पदचाप झन् झन् तेज हुँदै थियो।
अखन्ड नेपालको रक्षा गर्न
अव उसको सपनामा
हर्के पनि कुर्लदै सामेल भएको देख्यो
विर्खे पनि हर्के सँग जुर्रमुराएको पायो
एउटा सपना देख्ने मान्छे
उ पनि के काम थियो र?
संघीयता चाहिदैन भन्दै
सवैभन्दा अगाडि मोर्चामा
रातो कात्रो बाँधेर उभियो।

कविता – खै के भनु?

अन्धकार चिर्दै
बन्धनहरू तोड्दै
अगाडि बढिरहेको बेला
अनेकौं मोडहरू पार गर्दै
शिखर चढिरहेको बेला
चटक्क यात्रा छोड्नेहरूलाई
ईतिहासलाई हिलो छ्यापी
ल73य मोड्ने हरूलाई
खै के भनु?

विजारोपण दोषको
के नौलो भयो र?
समय–समयका बर्बरहाटहरू
जसको प्रतिवाद तिमी पनि गर्‍यौ
उही पुराना शैलीले
उस्तै अफवा फैलाउँदै
रक्त रञ्जित झन्डा छोड्नेहरूलाई
सहयात्रीको नाता तोड्नेहरूलाई
खै के भनु?

अवसरवादका लप्काहरूलाई
विचारको रातो टालोले छोप्दै
महल पजेरो खोज्नेहरूलाई
सरल बाटो रोज्नेहरूलाई
खै के भनु?

पदप्रतिष्ठाको निम्ति
ऐस आरामको निम्ति
भित्र–भित्र सडेर
गिद्ध घुमाउनेहरूलाई
यात्राको नियम तोडेर
साहसको गाथा सुनाउनेहरूलाई
खै के भनु ?
खैके भनु?

सुहागरात – स्वप्निल नीरव 

म पनिप्रेम गर्थे

अगाढ

असिम

र अनन्त
मैले कहिल्यै प्रेमको गन्तव्य तोकिन

मेरो प्रेम

यहीसम्म पुगेर

टुंगिन्छ भनेर अकल लगाइन

अनु-

तिमि भन्थ्यौ-

प्रेमको अन्तिम गन्तव्य-

बिवाह हो

तर तिम्रो अड्कल गलत भो

हाम्रो प्रेमको गन्तव्य

विवाहमा पुगेर टुंगिएन
निश्चिन्त

विवाह भयो

बिहे भनेको त

झकिझकाउ शृंगार रहेछ

भयङ्कर लेनदेन रहेछ

बिहेपछिको-प्रथम रात

अर्थात

सबैले बुझेको सुहागरात

बुझेको नभनु

सुनेको सुहागरात

मैले पनि

यस्तै एउटा

सुहागरात भोगे
सुहागरात भनेको

मनसंगको प्रेम होइन रहेछ

यो रात

माया कम

बासना ज्यादा

हुँदो रहेछ
अनु

सुहागरातले

प्रशस्त पीडा दियो

निको नहुने चोट दियो

तिमी नै भन अनु

सुहागरातले दिएको चोट

के म भुल्न सकुँला र?

पहिरोको माखेसाङ्लो – ठाकुर बेलबासे

पहिरोको माखेसाङ्लो रहेछ मान्छे
पहिरोको मध्यभागबाट यात्रा गरेर
पहिरोमै अडेको बासमा पुग्नु छ ।

जीवनको यति लामो यात्रामा
नभेटिने होइनन् सहयात्रीहरू
सबैको मन
कुनै दुर्गम पहाडी क्षेत्रमा खनिएको नयाँ मोटरबाटोजस्तो छ
पाइलापाइला ठूलठूला इच्छाका पहिरोहरू गइरहने ।

जीवन नसम्झेर पहिरो
मस्र्याङ्दी बग्न खोज्दा पनि त
पहिरोबाटै बग्दो रहेछ मस्र्याङ्दी पनि
नछेलिने रहेछ पहिरोबाट जीवन ।

सँगसँगै यात्रामा रहेको यो घाम
यात्रामा भेटिएका यी मन्दिरहरू
सबै सबै पहिरोमै त छन्
सायद, पहिरोभन्दा अब संसारमा अर्को बाँकी केही छैन ।

पहिरो नहुँदो हो त, कहाँ हुन्थ्यो जीवन !
पहिरो पन्छाउँदै पन्छाउँदै
सपनाका पहाड उक्लनु पनि पहिरो खोज्नु नै हो ।
मान्छे भन्नु पहिरो रहेछ
पहिरो भन्नु मान्छे
के भर एकअर्काको पहिरोमा
कति बेला के पर्ने हो !

नीला पाइला टेक्ने राता मान्छेहरू – ठाकुर बेलबासे


ढुङ्गाको छाती खोपेर
सहिष्णुताको आवाज सुन्न
आतुर मान्छेको
मन्दिरस्थापना सोचिरहेको छु

रगतले मुख धुन इच्छा राख्ने
ईश्वरप्रति
मेरो खेद छ

ताराहरूका छाती कुल्चिएर
आप्mनो अधिपत्यको
उचाइगर्व खोज्ने
ईश्वरमा
जीवनका शुभकामनाहरू छरिन सक्दैनन्

आक्रोशका रगतले
नसाहरू भरेर
खडेरीको मौसम सिर्जना गर्ने
ईश्वरमा
मेरो समवेदना रहन सक्दैन

भोको पेटले
पानी उमार्न
माटोसँग भगीरथयुद्ध छेड्ने
मान्छेअगाडि
नतमस्तक क्षितिज आफै ओर्लन्छ

सम्भ्रान्त बस्तीतिर बहकिने
ईश्वर

शरीर ओछ्याएर बाँधमा
एउटा नदी नै पटाएर
मरूभूमिको बस्तीतिर
पारिजात फुलाउने मान्छे
के मान्छे अर्को ईश्वर जन्मन सक्दैन
हरेक प्रभातमा यही
कल्पना गर्ने गर्छु

एउटा यस्तो मान्छे
बारुदबाट समयलाई
सधैँ बचाओस्
एउटा नीलो आकाश उघारोस्
अनि
रक्तहीन समयलाई निर्भय फैलन दैओस्
त्यो मेरो भगवान् मान्छे

म निरन्तर आराधना गरिरहेको छु
नीला पाइला टेक्ने
राता मान्छेहरू

कविता – चिसो आस्त्रे

यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विस्वासहरु र सपनाहरु सोहोरेर जान्छन्
यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो
एउटा चिसो एष्ट्रे जस्तो छ
यो चारभञ्ज्याङ् खाल्टो