नेपाली निबन्ध – हुक्का

सात कोस परै भाग्थेँ म धूवाँदेखि।धूवाँसँग एउटा अत्यास र विध्वंसको नातो छ जस्तो लागिरहन्छ मलाई। यो समाप्ति र निमिट्यान्नको इतिहासले भरएिको ठान्छु म। धूवाँ एउटा रित्तिएर अनि सिद्धिएर आएको भाव मान्छु म। खरानी र धूवाँ आपसका नातागोता। हो, यी एकदमै नातेदार। बहुल अर्थमा यिनको परस्पर सम्बन्ध छ। अन्तिम तर्क र सिद्धान्तले यी हाम्रो वरपर उच्चारति भएका हुन्छन् हरक्षण। मैले धूवाँको संसारमा आफूलाई घचेट्ने प्रयास नगरेको पनि होइन। गाउँमा गोठालो जाँदा दाँवलहरू सिकाउँथे, धूवाँ तान्न। कोसिस पनि गरेकै हुँ तर असफल पूरै। हरेकपटक पराजित। अनिच्छा र हारको दुई पाइलामा दगुररिहेँ म। तराईमा जुटको सन्ठी सल्काएर तानेकै हो, धूवाँको सर्को। तर, सर्किएर झन्नै मरेको म त ! अहँ, निस्सासिएर आँखाभरी आँसु आएर निल्नै सकिनँ मैले धूवाँको परकिार। किलकिलेमुनि ठेल्नै सकिनँ रस, स्वाद र चुस्की। मुखभरी वरपर घुमाइरहँदा केको स्वाद, केको मस्ती र केको आनन्दी ! अनि पो म धूवाँ तान्नमा सधैँको गोल्टिङ। धूवाँ-मोह एक अर्थमा भएन। हो, हुँदै भएन। विश्वविद्यालयको विद्यार्थी छँदा बिहानकै कक्षा हुन्थ्यो तैपनि उति सारो धूवाँतिर मन गएन। अम्मली भइएन भनौँ न ! धूवाँप्रति आकर्षण भइरहेन मलाई। जाडोका दिनमा साथीहरूका ओठमा धूवाँले तुजुग देखाइरहन्थ्यो अटुट। म परेँ, कमजोर साक्षी। अझ विज्ञापनै भए पनि ‘यो त हानिकारक’। यस्तै चेतनाले चिमोट्न छाडेन मलाई। ठाउँठाउँका मुख, फोक्सो र छाती डढेका तस्बिर हेरेपछि मलाई चिसो पसेको लाग्थ्यो आफैमा ।

धूवाँको पिरोले मेरो शरीर पीडित मात्र भयो, उल्कापातको खुसीले रमाएन। हो, कहिल्यै उज्यालिएन। दुखाइ र व्यथाको भारीमा उज्यालिएको खुसीले केको पाइला बढाउँछ- लम्केर? घिसि्रन्छ मात्र पो त। घडी बिँडी, शिव बिँडीसँगै मेरा ठूलोबुबा चुर खानुहुन्थ्यो, सेतो ताउ पातामा। लाली र सुर्तीलाई मज्जाले मोरेर घाममा सुकाइन्थ्यो। अनि, त्यो मगमगिँदो चुरलाई ठूलीआमा-ठूलोबुबा दुवैले मकैको खोसेल्टा र सालका पातमा नि बेरेर सल्काउँथे। धेरै समय चुर, पात, खोसेल्टा, लाली र सुर्तीकै चर्चामा दिन बित्थ्यो। पिँढीमा देखिन्थ्यो ज्येष्ठ नागरकिको सभा, धूवाँमय। ‘सस्तो भनेको त क्यै नाइँ। जाबो धूवाँमा उड्ने कुरो नि यस्तो महँगो !’ सिमानाको बजार, नक्सलबारीमा किनमेल गरेर आएपछि ठूलोबुबा लालीको भाँडो थन्काउँदै भन्ने बोली म हरेक १५ दिनमा सुन्थेँ। ख्वाइँ-ख्वाइँ खोकिरहेकी ठूलीआमा भन्नुहन्थ्यो, ‘क्यैमा बढाउन नपाएपछि हाम्लाई नै त मार्न खोज्ने हुन् नि ठूलाठालूले !’ अनि, दुवै बूढाबूढी त्यही सेतो कागजी पातोमा चुर बेर्न थाल्थे। म त सानो केटो पढ्न भनेर छेउमा बसे पनि तिनका गलफती र गतिविधि हेररिहेकै हुन्थेँ। नाकमा एउटा अनौठो स्वादले बास गररिहेको हुन्थ्यो। सुकिलो र सुन्दर सेतो धूवाँ तान्ने आँट नगरे पनि चुरको बास्नाले तानिरहेको थियो। सुग्घर र स्वादिलो धूवाँको सर्को पिउने साहस नगरे पनि चुरको सुवासले अँगालिरहेको थियो मलाई। मगमग बास्ना। हो, एक खालको परिचित स्वाद। विज्ञान र प्रविधिमा धूवाँ अटुट जोडिने पक्ष हो। धेरै निर्माण र रचना धूवाँकै आधारबाट रचिएका लाग्छन्। लाग्छ, धूवाँले जन्मजात स्थापित अर्थ बोलेको छैन। नाशवान् र नष्ट कथाको गौरवमा धूवाँको मानक मूल्य जोडिएको छ। धूवाँले सिर्जनाको इतिहासमा डोर्‍याएको छ आफूलाई। यो सिद्धान्तका तर्कमा धूवाँले नजित्ला? यो सहरमा बस्न थालेको धेरै भयो। नगर र महानगरमा पाइला टेके पनि धूवाँबाट टाढा हुन सकिनँ म। धूवाँको मूल्यमा आज हरेक समाज र सभ्यता लागिपरेको छ एकोहोरो। धूवाँको विन्दु-विन्दु र थोपा-थोपालाई अँगाल्न जुर्मुराएको छ, आजको संसार।

धूवाँमा परेका तीनवटा दृश्य मेरा आँखामा जतिखेरै भतभती भएर आउँछन्। गाई दुहुन कसैले आँटै नगर्ने। अलिक परका नातेदार थिए काफ्ले। तिनको गाई थियो एकहाते। बर्खाताका एकपटक म पुगेँ पाहुना हुन। घर रुँगुवा हामी पर्‍यौँ। ‘तिमेरु अलिक अल्छी गर्छौ। धुनी लाएर मात्र गाई दुहुनु है !’ हुन्छ वा हुँदैन भनेनौँ हामीले। झिँगा र लामखुट्टेको डसाइमा आजित भएको गाईले आज नौलो अनुहार देख्नेबित्तिकै यसरी लात्ती बर्सायो, बाल्टी एकातिर त भयो नै, काफ्लेका कान्छा छोराको नि टाउको र आँखा नै थिलथिलो पार्‍यो। अहिलेसम्म गाईको लात्तीको निसानी छ, बाङ्गो आँखा र नाक छेउमा गहिरो खत। धूवाँको जोहो नहुँदाको एउटा स्तब्ध दृश्य। बुबा तीर्थ गर्न जानुभएको थियो। पूजा कोठामा मौरीका घार थिए। यस्तै तीन-चार घारले वसन्त ऋतु आएपिच्छे नयाँ घर बनाउन निहुँ खोजिरहेको छनक पाएकै थिएँ मैले। ‘आज मह काढ्नु-पर्छ। कोइला ठीक पार्नुपर्ला !’
मह काढ्न रहर गर्ने तिमिल्सिना मामालाई भनेँ। ‘धूवाँले हैरान पार्छ। म सजिलैसँग मह काढ्छु। तिमी किन अत्तालिएको?’ उनी चम्किए। राती भएपछि बिस्तारै मह काढ्ने काम भयो। कता के मिलेन, हरेक घार बिच्किएर तिमिल्सिनामाथि धुइरएि मौरीका बथान। उनी मह काढ्न सक्ने भएनन्। आँखा सुन्निएर, हात, पाखुरा र गर्धन सुन्नाएर निकै दिन थला परे। खुबै ज्वरो आयो उनलाई। बुबाले भर्भराउँदा कोइलामा धूप हाल्दै सुवासित धूवाँमुनिबाट मह काढ्दा मौरीसँग दुस्मनी हुँदैनथ्यो कहिल्यै। जतन, ख्याल र स्नेहले मह काढेको उल्लास छरिन्थ्यो । उफ, तिमिल्सिनाको भुक्क फुलेको अनुहार। धूवाँसँग नजिकिन नजान्दाको चोट। तेस्रो कुरा सम्झिरहेको छु म। धूवाँसँग अँगालिएको चिम्सा र चम्किला आँखाको संसार। मभित्र आइरहने एउटा चिसो र दर्फराउँदो कथा। घातक कथा, पराजित खुसी। हो, रुदिलो अनुहारमा खसेको मसिनो बादलको धर्सो। फुसको घर छ, परालले छाएको। सेउला र बाँसका झिक्राझिक्रीले बारएिको बार-टाटी छ। त्यसकै दक्षिणपट्टि परालको टौवा छ। त्यही टौवामुनि धिमालनी बूढी छन्, रक्सी पाररिहेकी। आगो अटुट छ, धूवाँले घेरएिको। बूढीले पेटानी कसेकी छन्। धूवाँमा छोपिएर रक्सी पाररिहेकी ती सेतै फुलेकी बूढी। तिनी त चाख्दाचाख्दै मातिसकेकी हुँदी हुन्। ठूल्ठूला तामाका भाँडा वरवर सार्दै दिन बित्छ तिनको। एकदमै बडेबडे भाँडामा पानी फेर्दाफेर्दै तिनको रात ओर्लिसकेको हुन्छ आँगनमा। जतिखेरै रसिला आँखामा उनी वरपर हेर्छिन्। दाउरा ठोसिरहेका हातले आँखा छामिरहेका हुन्छन्, कोस पुछिरहेका हुन्छन् र परेली मिलाइरहेका हुन्छन्। रक्सी बनिरहेको हुन्छ। उनको रक्सीले अरू धेरै भरे, भोलि वा पर्सि रुन सक्छन्, रुवाउन सक्छन्। यतिबेला उनी धूवाँमा डुबेर रक्सी बनाइरहेकी छन्। कुनै छुट्टी वा बिदा तिनको आँगनमा आएन। कुनै हिउँद वा बर्खा उनको पिँढीमा आएन। धूवाँले बिदा पाएन। धूवाँले छुटकारा पाएन। धिमालनीका वरपर थियो, धूवाँमय घडीपला। धूवाँले नाश गर्ने तथ्यसँगै एकदिन तिनी भेट्टइिन्, आँखा गुमाएर बाटामा माग्न बसेकी।

मैले धूवाँका यी पत्रे चोटमा आफूलाई धेरैपटक छामिरहेको छु। बिर्सिन नसकिने धूवाँखिलमा उभिन्छु म घरीघरी। धूवाँ तान्ने तरकिा आजको समाजमा अर्को सान भएर आएको छ। चुरोट वा गाँजालाई लिएर निकै बहस भइरहेकै छन्। उन्मत्त वा मनोद्वेगलाई सिर्जनातिर डोर्‍याउन धूवाँ छेउमा पुग्छु, यसो भन्नेहरूका ओठ र औँलामा चेपिएको चुरोट देखिरहेको छु धेरैपटक। त्यो उन्मत्त वा उदासीले किन धूवाँ वा फुसफुसे रूपको सहारा खोजेको होला? उदासी त चोट वा छातीमा गाँठो परेको कठोरतालाई तरल कुराले कसरी भगाउला त? धूवाँका हरेक लहरमा खिन्नता छ, व्यथा छ र रोग छ। जान्नेहरूका मन्थनमा यी तथ्य सरक्क पसेका छन्। बुझ्नेहरूले यी गुदी विचारका थोप्लाहरूले आफ्ना धमिलिएका आँखा धोएका छन्। अनि बाटो सोझ्याएका छन्, धुलाम्मे गोरेटालाई चिन्न र थाहा पाउन सकेका छन्। धूवाँ एउटा मौनता। धूवाँ एउटा विकराल। धूवाँ एउटा समाप्ति। धूवाँ एउटा कष्टसाध्य। धूवाँ एउटा समाधि। हरेक यी बुँदामा धूवाँले अधिकार खोज्दो रहेछ। न्याय र अधिकारका पानामा धूवाँले आफूलाई उभ्याउन खोज्छ। म भर्खरै त अरू भरङ्ग भएँ। मेरो घरमा भाङ तान्ने, सुल्फा अँट्ट्याउने, बिँडी बेर्ने वा तमाखु भर्ने रडाकाले ठाउँ पाएन। आमाले लुकेरै खानु भो। बुबाले हाम्रा अघिल्तिर झ्वासझ्वासी सलाई कोरेको थाहा छैन। बरू वरपरको समाजले घरीघरी त्यता तान्ने प्रयास भने गररिह्यो। विदेशबाट विद्यार्थीको ठूलो लर्को फिरेछ देश। तिनले आफन्त, नातेदार वा मित्रमण्डलीसँग भेटिरहेको सुनेथेँ। ‘हैन, सरसँग त बस्नैपर्छ नि !’ एकदिन थापाथलीनिर मेरो अघिपछि थियो त्यो हुल। अनि, थियो जोरजुलुमको आवाज पनि। ‘हुन्छ, बसौँ !’ विनीत भएँ म। मैले तिनलाई घोकाएको, सिकाएको वा पढाएकै थिएँ त्यत्ति नै। सधैँ विनीत बन्नु। विनयी वा विनम्रीले संसारका हरेकबाट प्रेम प्राप्त गर्छ। सिकेको ज्ञानमा हुन्छ ऊर्जा र जीवन।
‘चिया, खाजा क्यै होइन। सरसँगै हुक्का खाने !’ ‘हुन्छ, जाने, जाने !’ म सुनिरहेँ, खाने र जाने कुरा। एक सातापछि तिनले पाटन कृष्णमन्दिर उत्तरतिरको गल्लीमा छिराए। ढोकैमा लेखिएको थियो, हुक्का। सानो छाप्रोका दायाँबायाँ हुक्काको सुन्दर तस्बिर। म भित्र छिरेँ, हुक्का तान्ने लस्करको हुलमा। बिस्तारै अनेक बास्नाको लहर त्यहाँ छुट्यो। स्याउ, सुन्तला, अंगुर, आरु, मेवा वा अम्बाका बास्नाले घेरयिो, त्यो ठाउँ। जाई, पारजिात, तुलसी, करवीर, कदम र धतुरोको गन्धले भरभिराउ भयो- त्यो ठाउँ। एकपछि अर्को कुइरीमण्डल। अनुहार राताम्मे पारेर लट्ठ। ससाना केटाकेटीको मुखमा हुक्काको लस्कर। कुनै समय धूवाँको सर्कोले नीलो-कालो भएँथेँ म। कुनै बेला धूवाँको अटेसमटेसले आँखाभरी आँसुले पुरएिको थिएँ म। आज त्यो सब फिक्का। हुक्का तानिरहेका किशोरकिशोरीहरूका ओठमा पीडा, ग्लानि वा खुइय्य छैन। हुक्का खाइरहेका युवकयुवतीका अनुहारमा दिग्दारी, चोट वा पश्चात्ताप छैन। सुगन्धित बास्ना छ हुक्काको। मैले वरपर सबै हेरेँ, टेबलपिच्छे हुक्का तानेर निमग्न छ समाज। समाजका सबै खालको अनुहारले आनन्दित मौसम बोकेको छ। आवाजले भरएिर के भो ! पानीले चलायमान भएर के भो ! शब्द र स्वरको मिलापले के भो र ! अनुभूति र भाषाको साइनोले के भो र ! धूवाँ त हो नि हुक्का ! यसलाई जितिने तर्क हो मित्था। यसलाई हराउने विचार हो पुड्को। यसलाई पाखा लाउने धारणा हो लुलो । हुक्कालाई सक्तैनौँ हामी हराउन !

निबन्ध – तरकारी बेच्ने प्रोफेसर र कमारा राख्ने शरणार्थी

कुनै पनि कामलाई कसरी हेर्ने भन्ने कुरा व्यक्ति वा समाजले त्यसप्रति अँगालेको मूल्य, मान्यता वा दृष्टिकोणमा निर्भर गर्छ। उही कामलाई कहीँ सम्मानले हेरिएको पाइन्छ भने कहीँ घृणाको दृष्टिले। एउटाले बाध्यताका रूपमा गरेको कामलाई अर्कोले आत्मसम्मानका रूपमा पनि लिएको हुन्छ। घरमा कोही साथी वा पाहुना आएका बेला घरमूली आफैँले चिया वा खाना पकाएको देख्दा अनौठो मानेर हेर्ने मानिस हाम्रो समाजमा प्रशस्तै देखे/भेटेको छु। हाम्रो समाजमा विभिन्न कामलाई सानो र ठूलो वा इज्जतिलो र बेइज्जतपूर्ण काम भनेर वर्गीकरण गर्ने चलन अद्यापि छँदै छ। यो विश्वास भनौँ वा अन्धविश्वासले अन्य धेरै मुलुकका समाजमा पनि जरा गाडेको पाइन्छ। यस्तै विषयसँग सम्बन्धित दैनिक जीवनका सामान्यभन्दा सामान्य कामलाई अन्य मुलुकमा कसरी हेरिँदो रहेछ भन्ने कुराको दुइटा विपरीत उदाहरणबाट यो लेख अघि बढाउन खोजेको छु।

म एउटा कामको सन्दर्भमा केही वर्षअघि संयुक्त राज्य अमेरिका पुगेको थिएँ। न्युयोर्कबाट गाडीमा करबि सात-आठ घन्टाको दूरीमा मेरो एक जना आफन्त एउटा विश्वविद्यालयमा पढ्थे। नजिकको आफन्त भएकाले उनले मलाई केही दिन सँगै बस्न र घुम्नका लागि निम्तो दिएका थिए। लामो समयपछि नजिकका आफन्तसँग भेट हुँदा हामी दुवै पक्ष खुसीले दंग थियौँ। ती मेरा आफन्तले फुर्सद निकालेरै भए पनि हामीलाई हरेक दिन कतै न कतै घुमाउन, देखाउन लैजान्थे। नौलो ठाउँको नौलो व्यवहार, नौलो चालचलन, नौलो संस्कृति, नौलो मूल्यमान्यता र नौलो जीवनशैली देखेर कहिले दंग पर्थें त कहिले अचम्म मान्थेँ।

खास गरी त्यहाँका मानिसमा पाइने कामप्रतिको निष्ठा र समयको महत्त्वबोध सकारात्मक पक्ष लाग्यो। हाम्रो संस्कृतिमा सुपाच्य नमानिने पक्षहरू पनि त्यहाँ धेरै पाइन्थे। तर, फरक समाजमा फरक मूल्यमान्यता रहनु स्वाभाविकै हो। तर, कामलाई साना र ठूलाले गर्ने भनेर छुट्याउने, ठूलो ओहदामा पुगेकाले घर, करेसाबारी वा टोल समुदायको काम गर्दा इज्जत घटेको ठान्ने वा अरू कसैले त्यस्तो काम गरेको देख्दा खिसी गर्ने बानी त्यहाँ पटक्कै देखिएन।

त्यहाँ पनि हाम्रै जस्तो शनिबारे, आइतबारे हाट लाग्ने ठाउँ हुँदा रहेछन्। हाट बजारमा कसैले आफ्नै बारीमा फलाएका फलफूल तथा हरियो तरकारी त कसैले आफ्नै घरमा बनाएका बिस्कुट, कुकिजलगायत विभिन्न वस्तु बेच्न ल्याउँदा रहेछन्। हाट बजारमा ग्राहकलाई तानातान नगरी शान्तसँग आफूतिर ग्राहक आउने प्रतीक्षा गर्दा रहेछन्। म र मेरा आफन्त पनि हाट बजार हेर्न र मन पर्ने ताजा चिजबिज किन्ने मनसायले त्यहाँ पुग्यौँ। अमेरिका पुगेर पनि शनिबारे हाट देख्न पाएकामा दंग पर्दै हामी सामान हेर्दै र चाहिने सामानको मोलतोल गर्दै अघि बढ्यौँ। यत्तिकैमा हामी एउटा अधबैँसे पुरुषले ताजा सागसब्जी र हरिया मकैका घोगा बेच्न बसेका ठाउँमा पुग्यौँ। मेरा आफन्त र ती अधबैँसेले हात मिलाएर सामान्य अभिवादन साटसाट गरे। त्यसपछि मेरा आफन्तले ती साग बिक्रेतासँग परचिय गराए। ती व्यक्ति त स्थानीय केन्ट स्टेट युनिभर्सिटीका भौतिकशास्त्रका सुप्रसिद्ध प्राध्यापक रहेछन्, जसको मातहतमा रहेर नेपालजस्ता धेरै देशका प्रतिभाशाली व्यक्तिले विद्यावारििध सम्पन्न गरेका रहेछन्। अनुसन्धान र अध्यापनबाट बचेको सीमित समय करेसाबारीमा लगाएर आनन्द बटुल्ने उनी आफ्नै आवासको करेसाबारीमा मौसमी तरकारी वा मकै फलाएर शनिबारे हाट बजारमा बेची केही रकम कमाउँदा रहेछन्।

उनीजस्तै उच्चपदस्थ थुप्रै व्यक्ति त्यसरी हाटबजारमा सामान बेच्न बस्दा रहेछन्। उनको लवाइ र बोलीचाली हेर्दा विश्वविद्यालयका प्रोफेसर भनेर अनुमान गर्न पटक्कै सकिँदैनथ्यो। उनको त्यो महानता, सरलता र कामप्रतिको निष्ठा देखेर म नतमस्तक भएँ। तुलना गरेँ, आफ्ना देशका ठूलाबडा भनिएका मानिसका व्यवहार र चिन्तनसँग। तिनको बोलीचाली र व्यवहारमा न प्रोफेसर हुनुको घमण्ड कतै झल्कन्थ्यो, तरकारी/फलफूल हाटबजारमा बेच्न बस्दाको संकोच नै।

हाम्रै देशमा पनि पदीय दायित्व र कामलाई उच्च सम्मान गर्ने उदाहरणीय व्यक्तित्व प्रशस्तै पाइन्छन्। तर, नयाँ पुस्तामा परम्परागत कामप्रति देखिएको बढ्दो वितृष्णा हाम्रा लागि चिन्ताको विषय बनेको छ। सहरको त कुरै छाडौँ, गाउँघरमा समेत एसएलसी पढेकाले पनि बाबुबाजेले गर्दै आएको खेती र गाईभैँसी पाल्ने काम चटक्कै छाडी बाबुआमा वा श्रीमतीले दूध बेचेर कमाएको पैसा नजिकको चौतारो, दोबाटो वा चौबाटोमा तास वा क्यारमबोर्ड खेलेर वा रेस्टुराँमा कोक, फ्यान्टा, चिया वा मदिरामा उडाएर आफू ठूलो मानिस बनेको भ्रम पाल्छन्। यसले हाम्रो समाजको भोलिको स्वरूप कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ।

केही युरोपेली मुलुकमा त किसानलाई समाजमा सबैभन्दा इज्जतदार वर्ग मानिँदो रहेछ। कसैलाई परचिय दिँदा सके आफैँलाई किसान देखाउन चाहने, त्यो नभए मेरा बा-आमा किसान थिए भन्ने, त्यति पनि नभए मेरा ६ वा सात पुस्ताअगाडिका बाजेबराजु किसान थिए भनेर गर्व गर्ने मानिस मैले प्रशस्तै देखँे, भेटेँ र कुरा गरेँ। उनीहरू आफूलाई मन्त्री, सांसदभन्दा किसानका रूपमा देखाउन पाउँदा सम्मानित भएको ठान्दा रहेछन्। हुन पनि सबै काम त्यत्तिकै पुजनीय हुन्छन्। खाँचो पर्छ केवल त्यसलाई हेर्ने सफा दृष्टिकोणको। वास्तवमा कामप्रतिको निष्ठा र समयको सदुपयोगले नै ती देश आज संसारमै उन्नतिको शिखरमै पुगेका हुन्।

यसको ठीक विपरीत, अर्काथरी केही मानिसमा रहेको कामप्रतिको विपरीत दृष्टिकोण कस्तो हुँदो रहेछ भन्ने दृष्टान्त प्रस्तुत गर्न सान्दर्भिक ठान्छु।

पूर्वी अफ्रिकी देश इथियोपियामा केही दशकपहिले विभिन्न कारणले लामो समयसम्म गृहयुद्ध चर्कियो। जातीय हिंसाका कारण उक्त देश इथियोपिया र इरित्रिया गरी दुई अलग देशमा विभाजित भयो। युद्धकालमा त्यहाँका केही मानिस शरणार्थी बनेर अमेरिका र युरोपका विभिन्न देशमा पुगे। त्यहाँ पुग्ने शरणार्थीलाई ती राष्ट्रले गाँस-बासको व्यवस्था गरी केही वर्षपछि आफ्नो देशको नागरकिता पनि दिए। इथियोपियन शरणार्थीलाई मानवताका नाताले गाँस, बास र नागरकिता दिने ती युरोपेली देशले केही वर्षपछि नै तेस्रो विश्वबाट शरणार्थी भित्र्याउनु गल्ती भएको महसुस गर्न थाले।

यसको एउटा कारण के पाइयो भने अर्काको देशमा छिरेको केही वर्ष नबित्दै शरणार्थीहरूमा पनि आर्थिक रूपले सम्पन्न र विपन्न गरी दुई समूह देखिन थाल्यो। किनभने, राजनीतिक शरणार्थीका नाममा त्यहाँ गरबि मात्र आएका थिएनन्। आफ्नो देशमा रहँदा घरमा नोकरचाकर पाल्ने र मोजमस्ती, ऐसआराम गर्ने बानी तिनमा छुटेको थिएन। इथियोपियाका केही सम्पन्न परिवार देशको अस्थिरता र लुटपाटको भयलेेे शरणार्थीको आवरणमा परिवार र आफ्ना केही नोकरचाकरलाई पनि शरणार्थीर्का रूपमा युरोप छिराउन सफल भएका थिए। तिनले खाना पकाउने, लुगा धुनेलगायतका काम आफूले नगरी तिनबाट गराउन थाले। यो उनीहरूको आफ्नै देशबाट आयातीत सामन्ती संस्कार थियो। जबकि, डेनमार्क, स्वीडेन, नर्वेजस्ता स्केन्डिनेभियन देशमा मानिसलाई कमारा-कमारी राख्ने चलनलाई मानवताविरुद्धको अपराधका रूपमा लिइन्थ्यो। शरणार्थीहरूको यस्तै व्यवहारले गर्दा भविष्यमा सकभर शरणार्थी नै नलिने र लिनै परे पनि यस्ता पक्षमा विशेष ध्यान पुर्‍याउनुपर्ने दबाब सरकारमाथि पर्न थाल्यो।

सारमा के भन्न सकिन्छ भने समाजका लोकपि्रय नेता, अभिनेता, कलाकार, उच्चपदस्थ व्यक्ति तथा समाजले आदर्श मानेका व्यक्तिहरूको चिन्तन, आचरण र व्यवहारलाई उदाहरणका रूपमा प्रस्तुत गरेर समाजलाई सकारात्मक दिशामा लैजाँदै नमुना सोच र संस्कृति निर्माण गर्न सकिन्छ ।