नया साल नया नेपाल – तारानाथ शर्मा

सारा राज्यभरी चिसो हिऊँ थियो, सेतै थियो बाहिर
दूबो ढाकि भुईँ कतै पनि यहाँ देखिन्नथ्यो आखिर
छानामा अथवा सबै रूखभरी सेतै हिऊँ फैलँदा
लाग्थ्यो यो पृथिवी भयो कि विधवा स्वामी बितेका हुँदा
यस्तैमा घरबाट खल्बल गरी आयो महागर्जन
“पीडाका र गरीबीका दिनहरू फाल्यौँ सबै बन्धन
सामन्तीहरू एकएक सितले गर्ल्याम्म गर्दै ढले
न्यानो सूर्य झिलीमिली भई सबै थोत्रा प्रथा नै जले”
देखेँ बाहिर वृक्ष झ्याङहरू ता झ्याम्मै हरिया भए
झिक्रे रूखहरू सिँगारिन गई नौला छटा फैलिए
वासन्ती रमणीयता जब यहाँ आयो म छक्कै परेँ
मैले ध्यान खिची घरैतिर लगेँ, नेपाल नै सम्झिएँ
आयो बल्ल नयाँ वसन्त घरमा बाजा बजाईकन
के नेपाल नयाँ हुँदै छ त भनी गर्दै छु यो चिन्तन
शङ्काका भरमा बसेँ म पीरले कल्पन्छु नेपाल त्यो
होला शान्त कहाँ? विभेदफूटले चाला नराम्रो लियो

तारानाथ शर्मा
Taranath Sharma, Nepali Literary Icon (7).JPG