दन्त्य कथा – गोपाल प्रसाद रिमाल 

दन्त्यकथाकी राजकुमारी र एक गरीब !

कसरी तिनका ठूला लाम्चिला आँखाहरु

एक जोडी ताराझैं माथिबाट तल झरे

र त्यो गरीबको हृदयमा स्वर्गीय जलन सल्काइदिए ?

फेरि कसरी हिलोको कमलमा परेका

दुई थोपा शीतजस्ता गरीबका आँखामा

स्वर्गले आफ्नो छाया देख्यो ?

ताज्जुबको कुरा छ,

तर यो मीठो कुरा दिन

दन्त्यकथा कन्जुसी गर्दछ

दन्त्यकथा खालि यत्ति भन्छ:

उनीहरुको प्रेम पर्‍यो !

हो, पानी झैं पर्‍यो होला

अनि आगो झैं बल्यो होला ।

राजपथको छोटो हेराहेरमा

मर्यादाशीला राजकुमारीको हेराइ, चलाइबाट तेरो भोक मेट्न

जलन सेलाउने के कुरा पाउँछस् र तँ

स्वर्गको ढुकुटी नै पाएझैं गरेर शरद्को बादलझैं

शिर उच्चा गर्दै हिँड्छस्, ए गरीब !

के तँ फेरि साउनको बादलझैं निचोरिन्नस् ?

भेटको असम्भावनाले पत्थर भएर तेरो मुटु किच्तैन ?

आँधीको बिजुली भएर

तेरो बादलझैं बर्सने छातीलाई कोपर्दैन ?

यस्तो मीठो दर्दको कुरा दिन

दन्त्यकथा कन्जुसी गर्दछ ।

कथाको गरीब गम्भीर छ,

जादूले अर्कै भएजस्तो छ

ऊ हावाजत्तिकै हलुका भएर राजकुमारीको खोपीमा पुग्दछ

उनीहरुको बिहे हुन्छ ।