मेरो स्थिति – तारानाथ शर्मा 

चरर चरर गर्दै पीरले चिर्छ छाती

समय सुलुलु गर्दै चिप्लियो यो नजाती

घर र पर गरेरै देहले शक्ति त्याग्छ

नर भइकन मेरो जन्म नै व्यर्थ लाग्छ।

सकल हित स्वयंको स्वार्थको मार्ग फाल्दै

जनहितप्रति लाग्दै देशसेवा अँगाल्दै

अलिकति म केही राष्ट्रको लागि गर्छु

जति पनि म सक्छु ज्ञान बाँडेर मर्छु।

मुलुकहरु अरूका उक्लँदै गैरहेका

हिमचुलिमुनि बस्ने छौँ सबै नित्य भोका

अब त समय आयो हामिले उठ्नुपर्छ

दल र कलह छोडी एक भै मिल्नुपर्छ।

छल र कपट गर्ने दुष्टले भेद गर्छन्

तँतँ र मम गरेरै फोर्दछन् एकता झन्

पद र धनतिरै जो मस्त छन् चिन्नुपर्छ

अब त सब जनाले जाल यो बुझ्नुपर्छ।

कुर्सीको झगडा – तारानाथ शर्मा 

कुर्सीको झगडा उठेर तगडा नेपाल नै रन्कियो

सारा  देशविकासको अब कुरा ठप्पै भयो थन्कियो

गाई कोरली भोग्न बृद्ध जब त्यो साँढे जमेरै बस्यो

ईर्ष्या, भेद र फूटको मुलुकमा सेना डटेरै पस्यो–१

कुर्सी, गाई दुवै म धान्दछु भनी अर्कै उठ्यो डुक्रियो

नाङ्गो भो सब राष्ट्र भाँडिन गई धाँजा पर्‍यो टुक्रियो

साझा यो फुलबारि मास्न कसिए हाम्रो बिजोकै गरी

बाँच्ने छैन स्वतन्त्रता मुलुक नै फुट्ने छ ऐनासरी–२

आशा उन्नतिको मरेर मनमा सारा स्वदेशीहरू

रुन्छन् आज नदेखि रक्षण यहाँ नेपालको आबरू

कामै छैन कतै परिश्रम गरी खाने, युवा तर्सिए

देशै छाडि पराइका मुलुकमा लागे बसाइँ सरे–३

छोरीलाई म इन्दिरासरहकी पार्छु भनी चम्किने

देशैको पद शीर्ष लिन्छु म भनी मैदानमा बम्किने

भ्रष्टाचार र घूस, चाकरिहरू सामन्तसाथै ढलून्

नेपाली स्थिति फेरिएर जनमा आशाहरू उर्लिऊन्–४

शिक्षा, स्वस्थ्य र काममाम सबले पाऊन् थियो चाहना

नेपालित्व रहोस् सधैँ भुवनमा कल्याणको कामना

हामी नै झगडा गरेर घरमा बाझ्यौँ भने चर्चरी

हुन्छौँ दास पराइको पगमुनि रुन्छौँ सधैँ धर्धरी–५

कुर्सी, शक्ति र द्रव्यतर्फ दलका सिद्धान्तको दुर्दशा

हाँस्ने छन् सब मित्र मस्तसितले देखेर हाम्रो दशा

बिर्सन्छन् जनता र राष्ट्र यिनले पाएर कुर्सी पनि

हामी एक थियौँ र त्रास छ कतै मेटिन्छ राष्ट्रै भनी–६

घाम उही हो – तारानाथ शर्मा  

तिहारको यो सुन्दर पर्व विना टीका नै बित्न गयो

 गाईपूजा कसरी गर्नु?

स्मृति मात्र अब शेष भयो

लक्ष्मी सम्झेँ मैनवत्तीले सिँगार्न खोजेँ डेरामा

भैलो खेल्ने द्यौसी खेल्ने आउँदैनन् अब मेरामा

किन यस्तो यो खल्लो जीवन चाड दसैँ पनि गुजरिसक्यो

होली आउँछ सुटुक्क बित्छ मन नै मेरो खुमरिसक्यो

भित्र छ पीडा अन्धकारले बाहिर जति नै बिजुली बलोस्

नत सँगिनीहरु घरघर नाच्छन् नत मादलको ताल चलोस्

घाम उही हो बादल उस्तै तर चङ्गा छैनन् कतै पनि

शून्य छ सबतिर मन नै रित्तो समय बित्तछ व्यस्त बनी

शब्दकोश अब सक्छु भन्थेँ सामग्री सब उतै छुट्यो

लिन जान पनि कसरी जानु?

लथालिङ्ग भै घरै फुट्यो

दसैँ तिहारले सारा कष्ट बढारिदिन्थे प्रति वर्ष

अनि उत्साहले सालभरि नै मान्थ्यौँ हामी अति हर्ष

छेपाराकै कथा सरह यो जीवन गुज्रन लाग्दै छ

घरको माया जति गरे पनि आशा टाढा भाग्दै छ

२०६५ को शुभगमन – तारानाथ शर्मा 

थोत्रो बूढो बितेको असफल ननिको वर्षले राष्ट्र भाँड्यो 

मैला च्याङ्ला पुराना रिसघिनफुटका रोग सर्वत्र बाँड्यो
देशै टुक्र्याउने जो सरल जनमा सर्पको खेल चम्क्यो

पृथ्वी नै छट्पटायो र समयसँग मिली लौ नयाँ साल झुल्क्यो

नेपाली एकताको हृदय दह्रिलो पार्न यो साल पाओस्

सारा पाखण्ड फाँड्दै अब त मुलुकमा दिव्यदृष्टि उदाओस्

पैँसट्ठी साल राम्रो अतिशय रसिलो आशको ज्योति छर्छ

सारा हाम्रा गलेका तन र मनमा प्राणसञ्चार

साझा यो फुलबारी – तारानाथ शर्मा 

कालो अत्यन्त कालो अतिशय धमिलो राजनीति नराम्रो

आयो छायो निराशा मुलुकभरिको चेत खुस्केर हाम्रो

हामी नेपालका छौ सकल जनता एकतामा बसेका

कोही छैनौँ अरुको श्रम र पसिना लुट्न पेटी कसेका
योद्धा शूरा र आँटी अघि असल थिए न्यायका लागि मर्थे

पुर्खाको देनलाई शिरउपर गरी नीतिको राज्य गर्थे

साझा यो फूलबारी सकल जनको हो भनी पृथ्वी भन्थे

चोखो आदर्श मानी युवकयुवती राष्ट्र्का भक्त बन्थे
जनतन्त्र थियो सबको रहर

परतन्त्र हुने अब नित्य डर

लुटमार बढ्यो जनजाति फुटे

रिस द्वेष र भेद अँगाल्न जुटे
जब भेद बढ्यो अनि राष्ट्र् फुट्यो

जनता ठगिए ईतिहास टुट्यो

कुन सर्प सुटुक्क पस्यो परको

हुन सक्छ यहीँ कपटी घरको
मन खल्बलियो विषले भरियो

अनि टायर बाल्न युवा सुरियो

किन पढ्नु र लेख्नु युवा जनले

जनजीवन बन्द गरे रिसले
जनतन्त्र भयो सपनासरह

अनुशासन ऐन भए कलह

अब शासन छैन कुनै प्रहर

ठग नै ठगले भरिए सहर
धमिरै धमिरा घरका जगमा

कसरी अब राख्नु निजी गरिमा

जब गिद्ध र चील उडे नभमा

बचरा बिचरा जनको शिरमा
ठग बोल्छन् ठग लेख्छन् नयाँ नेपाल जन्मियो

लोकतन्त्र यहाँ आयो हाम्रो सौभाग्य चम्कियो

ब्वाँसा र बाघ लुछ्तै छन् आमाको छाती चर्चर

चलायौँ सँसद भनी पार्दै मुलुक जर्जर
पत्तोफाँट कतै छेन उज्यालो घाम झुल्कने

तैपनि राष्ट्र् यो हाम्रो अघिल्तिर छ लम्कने

वीरको देश नेपाल अदम्य हिमका चुली

उचाली अघि बढ्नेछ परस्पर मिलीजुली
जनता अब चाहन्छन् आफ्नै शासनको भर

छानेर नेता विश्वासी उन्नति गर्न तत्पर

राष्ट्र्गौरव राखेर शान्ति स्नेह स्वतन्त्रता

स्थापनाको प्रण लिई एकता र समानता

नया साल नया नेपाल – तारानाथ शर्मा

सारा राज्यभरी चिसो हिऊँ थियो, सेतै थियो बाहिर
दूबो ढाकि भुईँ कतै पनि यहाँ देखिन्नथ्यो आखिर
छानामा अथवा सबै रूखभरी सेतै हिऊँ फैलँदा
लाग्थ्यो यो पृथिवी भयो कि विधवा स्वामी बितेका हुँदा
यस्तैमा घरबाट खल्बल गरी आयो महागर्जन
“पीडाका र गरीबीका दिनहरू फाल्यौँ सबै बन्धन
सामन्तीहरू एकएक सितले गर्ल्याम्म गर्दै ढले
न्यानो सूर्य झिलीमिली भई सबै थोत्रा प्रथा नै जले”
देखेँ बाहिर वृक्ष झ्याङहरू ता झ्याम्मै हरिया भए
झिक्रे रूखहरू सिँगारिन गई नौला छटा फैलिए
वासन्ती रमणीयता जब यहाँ आयो म छक्कै परेँ
मैले ध्यान खिची घरैतिर लगेँ, नेपाल नै सम्झिएँ
आयो बल्ल नयाँ वसन्त घरमा बाजा बजाईकन
के नेपाल नयाँ हुँदै छ त भनी गर्दै छु यो चिन्तन
शङ्काका भरमा बसेँ म पीरले कल्पन्छु नेपाल त्यो
होला शान्त कहाँ? विभेदफूटले चाला नराम्रो लियो

तारानाथ शर्मा
Taranath Sharma, Nepali Literary Icon (7).JPG

के सबै भत्किएकै हो त – तारानाथ शर्मा

के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ
नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ
समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन्
समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन् (१)

नेपाली भई जन्मेँ म ठूलो गौरव मान्दछु
इतिहास उज्यालो छ वीरताको म ठान्दछु
तर आज अहो हाम्रो हिमालै ढुन्मुनाउँछ
हत्याआतङ्कले गर्दा मुटु नै ढुक्ढुकाउँछ (२)

गाउँबाट सबै भागी थुप्रिए राजधानीमा
धेरैजसो काम खोज्दै भासिए परदेशमा
जो भाग्न सक्तथे भागे, नभाग्ने पिटिए सब
लुटिए, मारिए रित्तो भयो नेपालगौरव (३)

लूटमार गरी जोजो चिनिए उग्र नाममा
राजधानी आइसके धेरै धाकरबाफमा
साझा यो फूलको बारी फुटाए सब भत्कियो
टुक्राटुक्रा भयो राष्ट्र घृणाको भाव रन्कियो (४)

एकता कसरी फेरि ल्याउनु यस देशमा?
भावना कसरी भर्नु सहयोग र प्रेममा?
सर्वत्र मनमा सल्क्यो डढेलो उग्र दन्दनी
नदीनाला सबै सुक्ता फैल्यो सर्वत्र सन्सनी (५)

मरुभूमि भयो राष्ट्र जनता अब आत्तिए
घुस्याहा र भ्रष्ट स्वार्थी जति छन् सब मात्तिए
अनुशासन नै छैन, ऐन छैन कतै पनि
विकासको नाम छैन, अभावै छ जता पनि (६)

बिजुली बत्ती नै छैन, छैन तेल र चामल
खाने पानी नपाएर शरीरै हुन्छ ढल्मल
छैन, छैन, कतै छैन बाँच्ने आधार हल्लियो
सप्तरङ्गी राष्ट्रघाती दैत्यले राष्ट्र डल्लियो (७)

शक्तिको कुर्सीमा बस्ने जति छन् आज देशमा
लोकतन्त्र भनी नित्य कुर्लन्छन् छद्मभेषमा
वास्ता चाहिँ कतै छैन लोककल्याण गर्नमा
विदेशी तालमा नाच्छन् स्वामीकै लागि मर्नमा (८)

के सबै भत्किएकै हो त? मनमा हुरी चल्दछ
कालभैरव नै उठ्छन् शिवको नेत्र बल्दछ
ढल्दैन राष्ट्र नेपाल दह्रो आत्मा छँदै छ यो
अनन्तसम्म बलियो हाम्रो यो देशको हियो (९)

तारानाथ शर्मा

Taranath Sharma, Nepali Literary Icon (7).JPG