निबन्ध – तरकारी बेच्ने प्रोफेसर र कमारा राख्ने शरणार्थी

कुनै पनि कामलाई कसरी हेर्ने भन्ने कुरा व्यक्ति वा समाजले त्यसप्रति अँगालेको मूल्य, मान्यता वा दृष्टिकोणमा निर्भर गर्छ। उही कामलाई कहीँ सम्मानले हेरिएको पाइन्छ भने कहीँ घृणाको दृष्टिले। एउटाले बाध्यताका रूपमा गरेको कामलाई अर्कोले आत्मसम्मानका रूपमा पनि लिएको हुन्छ। घरमा कोही साथी वा पाहुना आएका बेला घरमूली आफैँले चिया वा खाना पकाएको देख्दा अनौठो मानेर हेर्ने मानिस हाम्रो समाजमा प्रशस्तै देखे/भेटेको छु। हाम्रो समाजमा विभिन्न कामलाई सानो र ठूलो वा इज्जतिलो र बेइज्जतपूर्ण काम भनेर वर्गीकरण गर्ने चलन अद्यापि छँदै छ। यो विश्वास भनौँ वा अन्धविश्वासले अन्य धेरै मुलुकका समाजमा पनि जरा गाडेको पाइन्छ। यस्तै विषयसँग सम्बन्धित दैनिक जीवनका सामान्यभन्दा सामान्य कामलाई अन्य मुलुकमा कसरी हेरिँदो रहेछ भन्ने कुराको दुइटा विपरीत उदाहरणबाट यो लेख अघि बढाउन खोजेको छु।

म एउटा कामको सन्दर्भमा केही वर्षअघि संयुक्त राज्य अमेरिका पुगेको थिएँ। न्युयोर्कबाट गाडीमा करबि सात-आठ घन्टाको दूरीमा मेरो एक जना आफन्त एउटा विश्वविद्यालयमा पढ्थे। नजिकको आफन्त भएकाले उनले मलाई केही दिन सँगै बस्न र घुम्नका लागि निम्तो दिएका थिए। लामो समयपछि नजिकका आफन्तसँग भेट हुँदा हामी दुवै पक्ष खुसीले दंग थियौँ। ती मेरा आफन्तले फुर्सद निकालेरै भए पनि हामीलाई हरेक दिन कतै न कतै घुमाउन, देखाउन लैजान्थे। नौलो ठाउँको नौलो व्यवहार, नौलो चालचलन, नौलो संस्कृति, नौलो मूल्यमान्यता र नौलो जीवनशैली देखेर कहिले दंग पर्थें त कहिले अचम्म मान्थेँ।

खास गरी त्यहाँका मानिसमा पाइने कामप्रतिको निष्ठा र समयको महत्त्वबोध सकारात्मक पक्ष लाग्यो। हाम्रो संस्कृतिमा सुपाच्य नमानिने पक्षहरू पनि त्यहाँ धेरै पाइन्थे। तर, फरक समाजमा फरक मूल्यमान्यता रहनु स्वाभाविकै हो। तर, कामलाई साना र ठूलाले गर्ने भनेर छुट्याउने, ठूलो ओहदामा पुगेकाले घर, करेसाबारी वा टोल समुदायको काम गर्दा इज्जत घटेको ठान्ने वा अरू कसैले त्यस्तो काम गरेको देख्दा खिसी गर्ने बानी त्यहाँ पटक्कै देखिएन।

त्यहाँ पनि हाम्रै जस्तो शनिबारे, आइतबारे हाट लाग्ने ठाउँ हुँदा रहेछन्। हाट बजारमा कसैले आफ्नै बारीमा फलाएका फलफूल तथा हरियो तरकारी त कसैले आफ्नै घरमा बनाएका बिस्कुट, कुकिजलगायत विभिन्न वस्तु बेच्न ल्याउँदा रहेछन्। हाट बजारमा ग्राहकलाई तानातान नगरी शान्तसँग आफूतिर ग्राहक आउने प्रतीक्षा गर्दा रहेछन्। म र मेरा आफन्त पनि हाट बजार हेर्न र मन पर्ने ताजा चिजबिज किन्ने मनसायले त्यहाँ पुग्यौँ। अमेरिका पुगेर पनि शनिबारे हाट देख्न पाएकामा दंग पर्दै हामी सामान हेर्दै र चाहिने सामानको मोलतोल गर्दै अघि बढ्यौँ। यत्तिकैमा हामी एउटा अधबैँसे पुरुषले ताजा सागसब्जी र हरिया मकैका घोगा बेच्न बसेका ठाउँमा पुग्यौँ। मेरा आफन्त र ती अधबैँसेले हात मिलाएर सामान्य अभिवादन साटसाट गरे। त्यसपछि मेरा आफन्तले ती साग बिक्रेतासँग परचिय गराए। ती व्यक्ति त स्थानीय केन्ट स्टेट युनिभर्सिटीका भौतिकशास्त्रका सुप्रसिद्ध प्राध्यापक रहेछन्, जसको मातहतमा रहेर नेपालजस्ता धेरै देशका प्रतिभाशाली व्यक्तिले विद्यावारििध सम्पन्न गरेका रहेछन्। अनुसन्धान र अध्यापनबाट बचेको सीमित समय करेसाबारीमा लगाएर आनन्द बटुल्ने उनी आफ्नै आवासको करेसाबारीमा मौसमी तरकारी वा मकै फलाएर शनिबारे हाट बजारमा बेची केही रकम कमाउँदा रहेछन्।

उनीजस्तै उच्चपदस्थ थुप्रै व्यक्ति त्यसरी हाटबजारमा सामान बेच्न बस्दा रहेछन्। उनको लवाइ र बोलीचाली हेर्दा विश्वविद्यालयका प्रोफेसर भनेर अनुमान गर्न पटक्कै सकिँदैनथ्यो। उनको त्यो महानता, सरलता र कामप्रतिको निष्ठा देखेर म नतमस्तक भएँ। तुलना गरेँ, आफ्ना देशका ठूलाबडा भनिएका मानिसका व्यवहार र चिन्तनसँग। तिनको बोलीचाली र व्यवहारमा न प्रोफेसर हुनुको घमण्ड कतै झल्कन्थ्यो, तरकारी/फलफूल हाटबजारमा बेच्न बस्दाको संकोच नै।

हाम्रै देशमा पनि पदीय दायित्व र कामलाई उच्च सम्मान गर्ने उदाहरणीय व्यक्तित्व प्रशस्तै पाइन्छन्। तर, नयाँ पुस्तामा परम्परागत कामप्रति देखिएको बढ्दो वितृष्णा हाम्रा लागि चिन्ताको विषय बनेको छ। सहरको त कुरै छाडौँ, गाउँघरमा समेत एसएलसी पढेकाले पनि बाबुबाजेले गर्दै आएको खेती र गाईभैँसी पाल्ने काम चटक्कै छाडी बाबुआमा वा श्रीमतीले दूध बेचेर कमाएको पैसा नजिकको चौतारो, दोबाटो वा चौबाटोमा तास वा क्यारमबोर्ड खेलेर वा रेस्टुराँमा कोक, फ्यान्टा, चिया वा मदिरामा उडाएर आफू ठूलो मानिस बनेको भ्रम पाल्छन्। यसले हाम्रो समाजको भोलिको स्वरूप कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ।

केही युरोपेली मुलुकमा त किसानलाई समाजमा सबैभन्दा इज्जतदार वर्ग मानिँदो रहेछ। कसैलाई परचिय दिँदा सके आफैँलाई किसान देखाउन चाहने, त्यो नभए मेरा बा-आमा किसान थिए भन्ने, त्यति पनि नभए मेरा ६ वा सात पुस्ताअगाडिका बाजेबराजु किसान थिए भनेर गर्व गर्ने मानिस मैले प्रशस्तै देखँे, भेटेँ र कुरा गरेँ। उनीहरू आफूलाई मन्त्री, सांसदभन्दा किसानका रूपमा देखाउन पाउँदा सम्मानित भएको ठान्दा रहेछन्। हुन पनि सबै काम त्यत्तिकै पुजनीय हुन्छन्। खाँचो पर्छ केवल त्यसलाई हेर्ने सफा दृष्टिकोणको। वास्तवमा कामप्रतिको निष्ठा र समयको सदुपयोगले नै ती देश आज संसारमै उन्नतिको शिखरमै पुगेका हुन्।

यसको ठीक विपरीत, अर्काथरी केही मानिसमा रहेको कामप्रतिको विपरीत दृष्टिकोण कस्तो हुँदो रहेछ भन्ने दृष्टान्त प्रस्तुत गर्न सान्दर्भिक ठान्छु।

पूर्वी अफ्रिकी देश इथियोपियामा केही दशकपहिले विभिन्न कारणले लामो समयसम्म गृहयुद्ध चर्कियो। जातीय हिंसाका कारण उक्त देश इथियोपिया र इरित्रिया गरी दुई अलग देशमा विभाजित भयो। युद्धकालमा त्यहाँका केही मानिस शरणार्थी बनेर अमेरिका र युरोपका विभिन्न देशमा पुगे। त्यहाँ पुग्ने शरणार्थीलाई ती राष्ट्रले गाँस-बासको व्यवस्था गरी केही वर्षपछि आफ्नो देशको नागरकिता पनि दिए। इथियोपियन शरणार्थीलाई मानवताका नाताले गाँस, बास र नागरकिता दिने ती युरोपेली देशले केही वर्षपछि नै तेस्रो विश्वबाट शरणार्थी भित्र्याउनु गल्ती भएको महसुस गर्न थाले।

यसको एउटा कारण के पाइयो भने अर्काको देशमा छिरेको केही वर्ष नबित्दै शरणार्थीहरूमा पनि आर्थिक रूपले सम्पन्न र विपन्न गरी दुई समूह देखिन थाल्यो। किनभने, राजनीतिक शरणार्थीका नाममा त्यहाँ गरबि मात्र आएका थिएनन्। आफ्नो देशमा रहँदा घरमा नोकरचाकर पाल्ने र मोजमस्ती, ऐसआराम गर्ने बानी तिनमा छुटेको थिएन। इथियोपियाका केही सम्पन्न परिवार देशको अस्थिरता र लुटपाटको भयलेेे शरणार्थीको आवरणमा परिवार र आफ्ना केही नोकरचाकरलाई पनि शरणार्थीर्का रूपमा युरोप छिराउन सफल भएका थिए। तिनले खाना पकाउने, लुगा धुनेलगायतका काम आफूले नगरी तिनबाट गराउन थाले। यो उनीहरूको आफ्नै देशबाट आयातीत सामन्ती संस्कार थियो। जबकि, डेनमार्क, स्वीडेन, नर्वेजस्ता स्केन्डिनेभियन देशमा मानिसलाई कमारा-कमारी राख्ने चलनलाई मानवताविरुद्धको अपराधका रूपमा लिइन्थ्यो। शरणार्थीहरूको यस्तै व्यवहारले गर्दा भविष्यमा सकभर शरणार्थी नै नलिने र लिनै परे पनि यस्ता पक्षमा विशेष ध्यान पुर्‍याउनुपर्ने दबाब सरकारमाथि पर्न थाल्यो।

सारमा के भन्न सकिन्छ भने समाजका लोकपि्रय नेता, अभिनेता, कलाकार, उच्चपदस्थ व्यक्ति तथा समाजले आदर्श मानेका व्यक्तिहरूको चिन्तन, आचरण र व्यवहारलाई उदाहरणका रूपमा प्रस्तुत गरेर समाजलाई सकारात्मक दिशामा लैजाँदै नमुना सोच र संस्कृति निर्माण गर्न सकिन्छ ।