नेपाली कविता – ठमेल

अभिभावकको हात समाउँदै

प्राथमिक तहका पाठशाला गइरहेका नानीहरूझैँ

कुन ज्ञानको खोजीमा

पछयाइरहेछन्

एकादेशका राजकुमार/राजकुमारीजस्ता पर्यटकहरू

तेस्रो विश्वको सानो कुना ।

गाउँमा सुनिन छाडेका भाकाहरू

गुनगुनाउँदै हिँड्छ

लोकगीतको अन्वेषक

सारंगी धुनले रेट्दै जान्छ

सहरको गोलो प्रदूषण, विकृति र विसंगति ।

उही सहरको अर्को कुना

लोडसेडिङ्ले साम्राज्य जमाएर

अट्टहास गरिरहेका बेला अन्धकारको

ताराहरू जोड्दै जोड्दै ठमेल

पूणिर्मालाई धर्तीमा बोलाउँछ ।

सूर्योदयका चम्किला किरणहरूजस्ता

आँखाहरू लिएर

फरक क्षितिज खोज्दै

आइपुगेका

स्वदेशीजस्ता विदेशी मान्छेहरूको भीडमा

प्रजातन्त्रको परिभाषा दिने

लिंकन जस्तो दुब्लो मान्छे

रिक्सा तानिरहेको हुन्छ ठमेलमा

कार्ल माक्र्सको पुँजी बोकेका

विदेशी पर्यटक यात्रुहरू

सवार भई गुडिरहन्छन् पछाडि ।