गोपाल प्रसाद रिमालले बोलिरहेको खास कुरा – गोपाल प्रसाद रिमाल

गोपाल प्रसाद रिमाल  २१ मई १९१८ - २४ अक्टोबर १९७३ , काठमाडौँ नेपाल

गोपाल प्रसाद रिमाल
२१ मई १९१८ – २४ अक्टोबर १९७३ , काठमाडौँ नेपाल


हाम्रो छाती कत्रो ? हिमालजत्रो
हाम्रो बारीको नाउँ के ? नेपाल
हाम्रो गाउँको नाउँ के ? नयाँ नेपाल
त्यसको सेरोफेरो कति ? ब्रह्मपुत्रवारि, इन्दसवारि, गङ्गावारि
हाम्रो देशको नाउँ के ? खसमीर, खुशी, खसियाशैल ।
हाम्रो उचाइ कत्ति ? नोर्के थुम्कोजति ।
हाम्रो आदर्श के ? गोरखा—
तर गाई र ब्रह्माले जस्तै ढाँट नबोलेर
बलभद्रले जस्तै साँचो बोलेर ।
हाम्रो जुक्ति के ? सकेसम्म छलफल
अनि छल
दामोदरको, भीमसेनको, जङ्गबहादुर खसको जस्तो ।
हाम्रो धर्म के ? लडाइँ—
पृथ्वीनारायण शाहको जस्तो
बहादुर शाहको जस्तो
रणबहादुर शाहको जस्तो ।
हाम्रो कला कस्तो ? अर्निकोको जस्तो
हाम्रो कैदी कस्तो ? भगवान् अरविन्दजस्तो
हाम्रो मुक्ति कस्तो ? त्रिभुवनजस्तो ।

फूल र  क्षण – गोपाल प्रसाद रिमाल 

“फूल झर्दछ, फुल्दछ
फुल्दछ, झर्दछ”

तर त्यो फूल जसले

छाती थापी फक्रेथ्यो

त्यो थोपालाई तृप्ति दिने

जब जगमा अमृत झरेथ्यो

के त्यो फूल फुल्यो ?

“क्षण आउँछ, जान्छ

जान्छ, आउँछ”

तर त्यो क्षण जसलाई

भाग्यचक्रले विरही दिनमा

सात समुद्रपारिकी

परीलाई झैं ल्यायो

के त्यो क्षण आयो ?

स्वर्गयुगझैं अङ्कित स्मृतिमा

त्यो क्षण कृष्णयुगझैं फर्केन

अमृत–प्यालाझैं पाएको त्यो फूल

हलाहलझैं बारबार मिलेन !

यो के – गोपाल प्रसाद रिमाल 

मेरी रानी, साँचो बोल, यो लागूजस्तो न्यानोपन
जे म तिम्रो काखमा पाउँछु;

यो सपना जो तिम्रो आँखामा म देख्दछु, यो के ?

तिमीनिर आइपुग्दा यो सन्चो लागेजस्तो

अथवा रगतमा बाढी आएजस्तो

मलाई जे हुन्छ, यो के ?

अनि आफूलाई च्यातचुत पारेर तिम्रो पाउमा

चढाइदिऊँ यसनिम्ति कि तिमी त्यसलाई लिएर जेसुकै गर;

अथवा म यस्तो हुँ कि

तिमीलाई हेर्दाहेर्दै म नहुँ भनेजस्तो

यो पागलपन, यो के ?

मेरी रानी, साँचो बोल, यो के ?

फेरि यिनै कुरा मात्र साँचा हैनन् कि

तिमीलाई देख्नेबित्तिकै म सास लिएजत्तिकै

सपना लिन लाग्दछु;

कि म आफुलाई बिर्सेर तिमीलाई सम्झन्छु

क म तिमीमा डुबेर

आफुनो अस्तित्व मेटाउन चाहन्छु

यी कुरा मात्र साँचा हैनन्,

अर्को कुरा पनि त्यत्तिकै सत्य छ–

म तिमीलाई कहिलेकाहीँ आफ्नो मुठ्ठीको माखोलाई भैmँ

एकदम मारी मेटिदिऊँ र ती सब कुरालाई

एकदम, खतम पारिदिऊँजस्तो लाग्दछ—

उकदम, एकैचोटि !

मेरी रानी, साँचो बोल, यो के ?

समय दगुरिरहेछ, पर्खनलाई बेला ज्यादै नै कम छ,

घाममा परेर ओइलाइहाल्ला भन्ने डरले

पूmल फुल्नेबित्तिकै टिप्न हतार भइहाल्छ,

हरेक हावाको झोकाले उछिनेर लुटिदिहाल्ला भन्ने डरले

हतपताउँदै फुल बटुल्नुपर्छ,

पोल्टामा सुखका सपनाहरु हालेर

हरेक पला दौडिरहेछ

गयो कि फर्कन जान्दैन,

जीवन बितिरहेछ ।

मेरी रानी, चाँडो भन, यो के ?

कवि हिर्दयमा – गोपाल प्रसाद रिमाल 

मनव–वनमा कहिलेदेखि झर्न लाग्यो निर्झर

जसको इन्द्रधनुषले गर्दा जीवन भो सुन्दर–सुन्दर

यसको प्रवाहमा देखिन्छन् उज्वल फीँज र फोका

स्वच्छ निर्मल अनन्तजस्तै अणुअणुसम्म सादा

कलपनाको रङ्ग चढाई फुकिदिन्छु तिमीहरुलाई

जो उड्नेछन् सबको मनोगमनमा रुवाई हँसाई

सुख–दुःख रङ्गिन्छन् कहिले, मानव–जीवनका दुई रङ्ग

कहिले प्रेम–शशिको प्रकाशमा हृदयोदधिको जवार

कहिले पातपातमा टल्किरहने अनन्तताको शीत

विश्व–गीतमा नाचिरहेको सौन्दर्यको काखबीच

निर्झर पर्वत, वनहरुमा सौन्दर्यको जति छाप छ

मानव–आत्मामा उत्तिकै त्यै रमणीयताको भाग छ

मेरो प्रेमको कथा – गोपाल प्रसाद रिमाल 

एउटी काली ठिटी थिइन्, बोल्नै सकिनन्

मेरो  रवाफ सहनै सकिनन् ।

म तिनको राजा थिएँ, तिनी मेरी हुन सकिनन्

ढोकेकी छोरी रहिछिन्, ढोकेसितै बोलिन् ।

तिनी जङ्गली युगकी रहिछिन्, बर्बरता तिनको धर्म रहेछ,

म मानिसको अगिल्तिर के टिक्थिन् ?

अर्की तिनीजस्तै नै बरु काली रहिछिन्

तिनले मलाई सपनामा पाइन् रे

किनभने बिपना बन्धन थियो

बिपनामा खेल मात्र थियो ।

यिनले मलाई बचाइन्, सपनामा पाउनेजस्तै

तिनले चाहिंँ मार्न खोजिन्, रगत पिइन्

बिपनामा नालायक ठहरिएजस्तै ।

कालीहरुको कथा आयो, गोयो ।

अब गोरीहरु छुत्ती खेल्दै छन्

म पनि खेल्दै छु ।

यस्तो प्रेम आखिर लीला न हो

लीलाले पनि मलाई अलमलाउन सकिनन् ।

लीलासित हरदम पाचुके नै छ ।

मलाई त प्रेम र क्रान्ति बराबर छ

सङ्क्रान्ति त महीनौंमहीनौं भइ नै रहेछ ।

मलाई त क्रान्तिसित खेल्ने बानी छ

त्यसैले क्रान्तिले मेरो छहारी सकार्नु छ ।

म त्यसैले जोडा छु, जोडा हुन्छु

क्रान्तिले मलाई नमस्कार गर्न बाँकी नै छ ।

मैले त क्रान्तिलाई सलामी दिसकेँ

क्रान्तिले मर्द भएर सलाम फर्काउन बाँकी नै छ ।

म त्यसैको प्यासो छु, त्यसैको प्रेमी छु

क्रान्तिले मलाई प्रेम गर्न बाँकी नै छ ।

म क्रान्तिको भोको छु

क्रान्तिले मेरो छाक टार्न बाँकी नै छ ।

प्रश्न – गोपाल प्रसाद रिमाल

गोपाल प्रसाद रिमाल  २१ मई १९१८ - २४ अक्टोबर १९७३ , काठमाडौँ नेपाल

गोपाल प्रसाद रिमाल
२१ मई १९१८ – २४ अक्टोबर १९७३ , काठमाडौँ नेपाल


नेपाली तिमी यहाँ किन आयौ ?
गो–रखाली हौ,
गो–रक्षाको भार लिई
बढ्दैबढ्दै आयौ ? नेपाली
तिम्रै गुफा कन्दराहरुमा
देखेथ्यो जगले पहिलो सपना,
तिम्रै वनमा पलेटी कसेर
सफल भएथ्यो ऋषिहरुको जपना,
पाएथे अन्धजगत्मा
बल्दो उज्वल दीप
के त्यही दीप लिई तिमी
बढ्दै आयौ दुनियाँमा ? नेपाली
आदर्शझैँ उच्च,
विस्तृत विशाल हृदयझैँ,
सत्य छुन बढेका,
या सतयका रुप भै उठेका
मनका लहरझैं सुन्दर
हिमालको रुपमा
अमरापुरीको पथ तिम्रै–
के सबैले स्वर्ग पुगेर
स्वर्गको सुन्दर कहानी भनेर,
फूलको माला लिन
घुम्दै आयौ यहाँ ? नेपाली
या बिजुलीका कणझैं प्राण वरिपरि
पञ्चभूतको आवरण बेह्री
तिमी बर्सने बादलझैँ
आह्र्लँदा कर्म–जगतमा,
कुनै विपरीत हुरीले
फेरो मार्यो र पथमा ?
नेपाली

मृत्यु – गोपाल प्रसाद रिमाल

गोपाल प्रसाद रिमाल  २१ मई १९१८ - २४ अक्टोबर १९७३ , काठमाडौँ नेपाल

गोपाल प्रसाद रिमाल
२१ मई १९१८ – २४ अक्टोबर १९७३ , काठमाडौँ नेपाल


पानीको छलबलमा
छरिइरहेको घामझैँ
हरियोमाथि फुलहरु तार्किएझैं खेलिरहेका थिए हावामा ।
तिनीहरुको चञ्चल छाया
मृत्युको कालो हाँसोजस्तो थियो
त्यो दृश्य नै यही भन्दथ्यो ।
दुई दिनपछि
घाममा हाँसिरहेका ती फूलहरु
छायामा निदाउरिँदै सुक्दै गए ।

जब कल्पनाको सुनौलो संसार
जूनकीरीसरि अँध्यारोमा
पिलपिलिँदै हराउँदै जान्छ
अनि मृत्यु देखिन्छ यही देखें ।

एउटा तोते कलिलो बादल
हाम्रो प्यारको अङ्गालोमा हुक्र्यो
वसन्तको आगमन फुलेफलेसरि
हाँगोको अङ्गालोमा ।
तर त्यो मर्यो
हामी मृत्युलाई त प्रेम गर्दैनौँ
जोसित प्यारो कानेखुसी गरी बढ्छौ
संसारदेखि लुकीलुकी ?

दन्त्य कथा – गोपाल प्रसाद रिमाल 

दन्त्यकथाकी राजकुमारी र एक गरीब !

कसरी तिनका ठूला लाम्चिला आँखाहरु

एक जोडी ताराझैं माथिबाट तल झरे

र त्यो गरीबको हृदयमा स्वर्गीय जलन सल्काइदिए ?

फेरि कसरी हिलोको कमलमा परेका

दुई थोपा शीतजस्ता गरीबका आँखामा

स्वर्गले आफ्नो छाया देख्यो ?

ताज्जुबको कुरा छ,

तर यो मीठो कुरा दिन

दन्त्यकथा कन्जुसी गर्दछ

दन्त्यकथा खालि यत्ति भन्छ:

उनीहरुको प्रेम पर्‍यो !

हो, पानी झैं पर्‍यो होला

अनि आगो झैं बल्यो होला ।

राजपथको छोटो हेराहेरमा

मर्यादाशीला राजकुमारीको हेराइ, चलाइबाट तेरो भोक मेट्न

जलन सेलाउने के कुरा पाउँछस् र तँ

स्वर्गको ढुकुटी नै पाएझैं गरेर शरद्को बादलझैं

शिर उच्चा गर्दै हिँड्छस्, ए गरीब !

के तँ फेरि साउनको बादलझैं निचोरिन्नस् ?

भेटको असम्भावनाले पत्थर भएर तेरो मुटु किच्तैन ?

आँधीको बिजुली भएर

तेरो बादलझैं बर्सने छातीलाई कोपर्दैन ?

यस्तो मीठो दर्दको कुरा दिन

दन्त्यकथा कन्जुसी गर्दछ ।

कथाको गरीब गम्भीर छ,

जादूले अर्कै भएजस्तो छ

ऊ हावाजत्तिकै हलुका भएर राजकुमारीको खोपीमा पुग्दछ

उनीहरुको बिहे हुन्छ । 

भेट – गोपाल प्रसाद रिमाल 

पूर्नेको जूनलाई किन पर्खेको ?

भेट्ने उनैलाई हो क्यारे,

तिमी उनैलाई उनकै प्रकाशमा देख,

तिमी उनलाई आजै यो औंसीको रातमा भेट ।

आउने त्यो वसन्तलाई किन कुरेको ?

तिमीले खोजेको फुल हो र ?

उनकै सुवासमा तिमी सास फेर,

तिमी उनलाई आजै यो आएको पुसमै भेट ।

तिमी उनलाई आजै यो औँसीको रातमै भेट ।

भेटमा ओझाले साइत गाओस् भन्ने छ ?

के उनको बोली सुरिलो छैन ?

उनको बोलीको लयमा तिमी खालि मुन्टो हल्लाउँदै—

ताल मात्रै दिन सक,

तिमी उनलाई अहिले नै बिनाबाजा नै भेट ।

तिमी उनलाई आजै यो औँसीको रातमै भेट ।

तिमीले कल्पनामै कैयौंचोटि उनलाई

इन्द्रधनुजस्तो चुनरीको घुम्टो ओढाइदिसकयौ,

मजुरको घाँटी–रङ्गको साटनको चोली लगाइदिसक्यौ,

त्यसैले भेटमा त्यस्तो घुम्टो र चोलो

लैजाने सुर होला,

तर तिमी उनी जस्ती छन् उस्तै नै भेट,

बजार जान बेर नगर ।

उनको लाज नै उनको घुम्टो होस्,

तिम्रो अङ्गालोले उनलाई छोपोस्;

साटनजस्तो उनको छाला हेर,

उनी जस्ती छन् उस्तै नै भेट ।

तिमी उनलाई आजै यो औँसीको रातमा भेट ।

एक गीत – गोपाल प्रसाद रिमाल 

केही आहझैं केही चाहझैँ

सौरभ छरी वरिपरि

तिमी प्रतीक्षामा झैं कसको

भन न भन कली !

जब भिखारीको हातसरि

फुक्नेछ तिम्रो सुन्दर तन

के ठानी के दिऊँ तिमीलाई

भन न भन कली !

समीप छ हेर्छु देख्छु

तिमी फुले झरेमा

रोए हाँसेझैं गर्छु

तर यै हाँसो यै आँसु

यै समीपताको जीवन–जलमा

तिमीले प्रतिबिम्बित पायौ आफूलाई

भन न भन कली !

सन्देह चियाउँछ जब यो विश्वबीचमा

तिमी दूर हुन्छ्यौ ताराझैं;

दूर हुनाले चाह गरेको

त्यै तारासित तर फिराद यही छ—

किन त्यो मेरो कलीझैं

रोइने हाँसिने भएन

समीप भएन ?

भन न भन कली !

क्षणभरको छोटो जीवन

वसन्त लाख फुलाउँछ !

शिशिर लाख सुकाउँछ !

अनादि भूत अनन्त भविष्यको

कहालीलाग्दो फैलावटबीचमा

कस्तो यो जीवन–काल कली ?

भन न भन कली !

होश – गोपाल प्रसाद रिमाल 

म मानिस आफ्नो खुशीले जन्मेको होइन,

आफ्नो खुशीले मर्ने पनि होइन ।

यो ज्ञान कसलाई भएको हो साथी ?

यो संसार सपना हो,

जीवन पानीको फोका हो,

यहाँ कोही पनि आफ्ना छैनन्,

जो छन् तिमीजस्तै नै जन्मेका हुन् ।

तिमीजस्तै नै मर्ने हुन् ।

यो वैराग कसलाई भएको हो साथी ?

म सर्वसम्पन्न अर्थात् ईश्वर हुँ,

म भोगी हुँ,

म सिद्ध हुँ,

मजत्तिको अरु कोही छैन,

म मोज गर्छु ।

यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान

कसलाइृ भउको हो साथी ?

म मानिस न त आफ्नो खुशीले जन्मेको हुँ,

म आफ्नो खुशीले मर्ने हुं ।

यस्तो मोहजाल, यस्तो प्रकारको अज्ञान

कसलाई भएको हो साथी ?

कामी क्रोधीहरु आफ्नो मनोकामना

पूर्ण गनका लागि अन्यायपूर्वक

धन जम्मा गर्ने चेष्टा गर्छन्,

काम, क्रोध र लोभ यी तीन तमेद्वार हुन्,

यो होश कसलाई भएको हो साथी ?

म त न आफ्नो खुशीले आँखा खोल्ने हुँ,

न आफ्नो खुशीले आँखा चिम्लने हुँ, साथी !

यो होश कसलाई भएको हो साथी ?

जङ्गी निसान हाम्रो – गोपाल प्रसाद रिमाल 

रातो र चन्द्रसुर्जे, जङ्गी निसान हाम्रो।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो।।

हिमालझैं अटल यो, झुकेन यो कहिल्यै।

लत्रेन यो कहिल्यै, जङ्गी निसान हाम्रो।।

यो जन्मँदै जगत्मा कैयौं प्रहार आए।

साम्राज्य दुई हारे, हारेन सान हाम्रो।।

जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन्।

तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो।।

गाईसरि छन् साधु जोजो यहाँ जगत्मा।

सबको सरन बलियो, जङ्गी निसान हाम्रो।।

सपना मा – गोपाल प्रसाद रिमाल

गोपाल प्रसाद रिमाल  २१ मई १९१८ - २४ अक्टोबर १९७३ , काठमाडौँ नेपाल

गोपाल प्रसाद रिमाल
२१ मई १९१८ – २४ अक्टोबर १९७३ , काठमाडौँ नेपाल


मेरो हरघडीमा जपना,
तिमी आज सपनामा आए !
यही आशाको पिलपिले बत्ती लिएर यो आधारातमा
म आफूलाई निद्रको घोर जङ्गलमा छोडिदिन्छु
बत्ती हुरीमा निभ्ला, म अललिउँला,
केही छैन,
तिमी मेरो पुग्ने ठाउँझैँ एक्कासि देखा मात्र परे,
तिमी आज मेरो सपनामा आए !
सपनामा तिमी सुरुुसुरु आउन सक्छौ,
न पर्खान, न पहरा–
बिपनाको पखेटा सपना न हो !
चाहन्छौ भने उडेर आऊ न, को रोक्छ ?
मन लागे तिमी दुष्यन्त भएर आऊ,
म शकुन्तलाझैँ फूलको सुसारमा हुन्छु ।
अथवा कथाका राजकुमारझैँ देशभूमण गर्दागर्दै
राक्षसले लुटिएको सुनसान शहरमा आयपुग,
एकलासको बगैँचामा सुतिरहेकी मलाई एक्कासि फेला पार,
मलाई बाब्ु–आमा भन्न कर परिरहेका राक्षसहरुबाट
छुटकारा दिन कम्मर मस,
म राक्षसहरुलाई आँसुले छकाएर
तिनीहरुको काल पत्ता लगाइदिन्छु,
तिमी उनीहरुलाई मार, मलाई हर !
अथवा मलाई झुक्यानमा पारेर यस्तो बेलामा आइपुग
जब म मेरो लाज र सङ्कोचको
पातलो घुम्टो र सप्को हाल्ने बहनासम्म गरुँ;
बल गनै नसकूँ !
तिमी आऊ—
बिपनाको हराएको मणि नै सपना न हो !
पृथ्वी पनि त निद्राजस्ता गहिरा समुद्रको पानीमा
स्वगैको दौलत चन्द्रमा र तारा पाउँछिन् ।
मेरा राजा !
मेरा परेला निद्राले भारी हुँनै लाए,
तिमी आज सपनामा आए ।

गोपाल प्रसाद रिमाल
gopal-p-rimal