गजल

नठान्नु आकाश शुन्य हुन्छ एक तारा टुट्दैमा
हाम्रो यात्रा रोकिंदैन केही यात्री छुट्दैमा

लाखौं फूलको बगैंचामा एउटा फुल झरे के भो
थाल बनाउन रोकिंदैन टपरीहरू खुट्दैमा

जुन रूखले हिजो ओत्यो आज त्यही काटे पनि
अमर छ आस्था हाम्रो मर्दैन त्यो चुट्दैमा

कायरहरू अप्ठ्यारोमा हातखुट्टा कमाउछन
आउने छैन बाढी पहिरो बर्खे मूल फुट्दैमा

हिजो जसकेा वरिपरि घुम्थ्यौ पुच्छर हल्लाउँदै
नसोच तर्सन्छ बाघ दुईचार फ्याउरा जुट्दैमा

गजल – कमला क्षत्री

गरिबको श्रम, सीप सामन्तीले खान्छ किन
श्रम गर्ने श्रमिकको पसिना खेर जान्छ किन

वर्षभरी दुःखगरी उब्जाएको अन्नबाली
हरेक वर्ष साहुलेनै भरीभरी लान्छ किन

सधैभरी साहुकै काममा साँझविहान खान छैन
एकदिन काममा नजाँदा नी हप्काएर तान्छ किन

गरिबमारा ठालुहरुलाई न त नियम कानुन लाग्छ
अबुझ बनी गरिबैले उसलाई अझै मान्छ किन

उठौं मजदुर किसानहरु पसिनाको मूल्य लिन
खोजौं अझै समाजमा शोषककै सान छ किन