कोपिला – भीमनिधि तिवारी 

साना बालक, बालिका भुवनका हुन् फूलका कोपिला

शिक्षाको मल, प्रेमको जल छिटी गर्छौँ भने संचिता

फुल्नेछन् दिन मध्यमा यिनिहरू बास्ना अनेकौँ दिई

त्यो बेला अनि यो उजाड दुनियाँ बन्नेछ कस्तो भई !
सारा दुषित वायुमण्डलभरी घुम्ला जसै केसर

त्यल्ले शुद्ध पवित्र पार्दछ सबै, बाँकी अरू के छ र?

झिल्का ‘मानवता’ यहीँ मनुजमा सल्केर जाला अनि

स्वार्थी भाव विनाश हुन्छ, तब ता सर्वत्र शान्तिध्वनि !