यसै गरी बिताइदिन्छु – काली प्रसाद रिजाल 

यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी

हाँसोमा लुटाइदिन्छु आफू आँसुमा डुबी

यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी

भीड छ म भीडमा आफूलाई बिलाईदिन्छु

बिर्सिदिन्छु आफुलाई होशमा हराईदिन्छु

कि त लुकी यतै कतै रोईदिन्छु सुस्तरी

हाँसोमा लुटाई दिन्छु आफु आँशुमा डुबी

च्याती दिन्छु आफुलाई बालिदिन्छु साँझमा

फालिदिन्छु आफुलाई दिनहरुको माझमा

गाईदिन्छु गीत आफ्नो आफैलाई नै पिई

हाँसोमा लुटाईदिन्छु आफु आँशुमा डुबी

आँखा छोपी नरोउ भनि  – काली प्रसाद रिजाल 

आँखा छोपी नरोउ भनि भन्नु पर्‍या छ

मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ

भोली उठी कहाँ जाने केही थाहा छैन

फर्कि आउने हो कि होईन केही थाहा छैन

वाचा छिटै आउछु भनि गर्नु पर्‍या छ

मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ

छातीभरि गाँउ-बेशी पखेरीको छाँया

आखाँभरि मेलापात मायालुको माया

आफैलाई छाडी कतै जानु पर्‍या छ

मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ

भन्ने कुरा कति थियो छाती भित्रै रह्यो

परेलीका ओठबाट आँशु झरी रह्यो

कुलचिएर आफैलाई हिड्नु पर्‍या छ

मुटु माथि ढुंगा राखि हाँस्नु पर्‍या छ

झर्यो जिन्दगी फुट्यो जिन्दगी – काली प्रसाद रिजाल 

झर्यो जिन्दगी फुट्यो जिन्दगी

छल्केर आँखामा बग्यो जिन्दगी
काँडामा हाँसेको मिठो जिन्दगी

सपनीमा नाँचेको झुठो जिन्दगी

रहरको दहमा डुब्यो जिन्दगी

झर्यो जिन्दगी फुट्यो जिन्दगी
पिरले भरेको खाली जिन्दगी

पिरतीले रुवाएको प्यारो जिन्दगी

आज आफ्नै छातीमा दुख्यो जिन्दगी

झर्यो जिन्दगी फुट्यो जिन्दगी

मेरो हजुरलाई के दिऊँ नि भेट –  काली प्रसाद रिजाल 

मेरो हजुरलाई के दिऊँ नि भेट 

तारा दिऊँ कि जून दिऊँ इन्द्रेणीको सेट

मगमग बास्ना दिऊँ कि फूलै फूलले बेरेर

हिउँचुली नै चढाऊँ कि, लालीमाले घेरेर

पखेरीको छायाँ दिऊँ कि, झलझलाउने शीत

सारङ्गीको सुरमा दिऊँ कि, एकै चरण गीत

सबै भन्न सक्छु – काली प्रसाद रिजाल 

म कुनै सिद्ध आत्मा होइन,

न कुनै दिव्य दृष्टि छ मसित

तर आँखा चिम्लेर भन्न सक्छु

यो देशमा कहाँ के भइरहेछ !

यतिबेला सिंह दरबारमा

राष्ट्रको ढुकुटीबाट

लाखौंलाख बाडिँदै छ

आफ्ना कार्यकर्तालाई

र एकाएक बिरामी परेपछि

फेरि अर्का नेता

दिल्ली प्रस्थान गर्ने भएका छन्

साउथ ब्लकमा उपचार गराउन

उता मन्त्री क्वार्टरमा

उद्योगपति व्यापारीहरू

यतिबेला ब्रिफकेसमा

शुभकामना चढाइरहेका छन्

मृर्गौला बेचेर फर्किएका नेपालीहरू

फेरि लुटिएका छन् सीमा क्षेत्रमा

अहिले ठमेलको मसाज पार्लरमा

संभोगरत छन्

एक प्रतिष्ठित समाजसेवी

र सुन्नुहोस्

एक महान् नेताका

होनहार सुपुत्र

दिउँसै फिट्टु भएर

एक्लै कोठामा कड्किरहेका छन् ।

कहाँ के भइरहेछ

सब भन्न सक्छु

नपत्याए फोन गरेर सोध्नुहोस्

भोलि अखबारमा पढ्नुहुनेछ

दुर्घटनामा परेर

नौ जना ठहरै भएको

झाडापखालापछि त खान नपाएर

चार जनाको प्राण गएको

र अहिले ठीक यसैबेला

विशाल आमसभामा

शीर्ष नेताहरू

थपडीको गडगडाहटबीच

एक-अर्कालाई

धाराप्रवाह गाली गरिरहेका छन् !

अपहरणपछि तराईमा

फेरि एक जनाको हत्या भएको छ

उग्रभीडले चारओटा बसमा

भर्खरै आगो लगाइदिएको छ ।

र तात्तातो अर्काे खबर सुन्नुहोस्

मन्त्रिपरिषद्को निर्णयअनुसार

खुंखार अपराधी र तस्करहरूमाथि

लगाइएका सम्पूर्ण अभियोग

सरकारले फिर्ता लिने भएको छ

र अन्ततः

छोरीलाई उपप्रधानमन्त्री बनाउने सहमतिपछि

सरकार गिर्ने सम्भावना पनि

तत्काललाई टरेर गएको छ

तर भन्न नसक्ने कुरा एउटै छ

मैले भन्न नसक्ने कुरा एउटै छ

यो देशको के हुन्छ ?

त्यो म भन्न सक्दिन

साम्प्रदायिकता, जातियता, क्षेत्रीयतामा

जीर्ण हुँदै गएको

वैमनस्य र द्वन्द्वमा

चर्कँदै चर्कँदै गएको

यो देशको के हुन्छ ?

यसको अखण्डता र सम्प्रभूता

रहन्छ रहँदैन ?

त्यो म भन्न सक्दिन

यसको लागि त

तपाईंहरूले नेताहरूसित सोध्नुपर्छ

राष्ट्रको नाममा, जनताको नाममा

सत्य निष्ठाको शपथ खाएका

नेताहरूसित सोध्नुपर्छ !

मै हूँ – काली प्रसाद रिजाल 

पर्वतहरूमा सुमेरु हुँ म

नदीहरूमा

महाकाली, टनकपुर हुँ म

वृक्षहरूमा रक्तचन्दन हुँ म

विमानहरूमा लाउडा हुँ म ।

म सहस्र छु, अनेक छु

अनेक भएर पनि एक छु

कर्ता पनि, कारण पनि

कर्म पनि मै हुँ

पाप, पुण्य, धर्म पनि

अधर्म पनि मै हुँ

सबै अधिकार शक्ति

मैबाट निःसृत हुन्छन्

सबै मूल्य, मान्यता

मैबाट स्थापित हुन्छन्

म स्वयम्भू, मेरो कसैप्रति जवाफदेही छैन

कुनै विधान, संविधानले मलाई छुदैन ।

सबै यज्ञ, अनुष्ठानहरूको अधिष्ठाता

युगको प्रणेता हुँ म

नेताहरूको पनि नेता

महानेता हुँ म

नेपथ्यमा बसेर म नै गराउछु

प्रपञ्च भातीभाती

तर, कमलजस्तै ओभानो छु

सदैव पानीभन्दा माथि ।

सबै ग्रन्थ, शास्त्रहरूको मै हु सार

म अज्ञेय, अद्वेत, अपरम्पार

मलाई बुझेपछि फेरि बुझ्नुपर्ने

केही रह दैन

मलाई पाएपछि प्राप्त गर्नुपर्ने

जगमा केही छैन ।

सुरमुनि देवगण सबै

मेरै उपासना गर्छन्

मेरै भक्ति स्तुति गाएर

यो भवसागर तर्छन् ।

त्यसैले ए नरहरि, गगनहरू हो !

विवेक र तर्कको

जालोलाई फाल

मैमा समर्पित होऊ

मलाई अङ्गाल 

तिमीहरू पनि आऊ

मेरै शरणमा आऊ

र धनधान्यसहित

परमपद पाऊ ।

माया गर्नेको चोखो माया पनि देखियो – काली प्रसाद रिजाल

काली प्रसाद रिजाल

काली प्रसाद रिजाल


माया गर्नेको चोखो माया पनि देखियो
वाचा गर्नेको वाचा बन्धन पनि देखियो

फूल सुकुमार छ को निस्पाप छ कोमल भन्थे
फूलको धारले रेटेको पनि देखियो

रोई रोई नछुट्टिने कसम खानेले
हाँसी हाँसी कसम तोडेको पनि देखियो

सबको भगवान छ भगवानले हेर्छन् भन्थ्यौ
तिम्रो भगवानले हेरेको पनि देखियो

झेल भो धेरै जिन्दगीमा – काली प्रसाद रिजाल

कालीप्रसाद रिजाल

कालीप्रसाद रिजाल


झेल भो धेरै जिन्दगीमा
झेलै झेल भो
मेरो माया उसको लागि
हाँस्ने खेल भो

के दुख्थ्यो र कलेजी यो
रेट्दा करौंतीले
यति साह्रो दुख्यो आज
छाड्दा निष्ठुरीले
कस्तो मायाजालमा पर्यो
त्यै नै काल भो

आफू पर्यो सोझो नि हौ
मीठो गर्थ्यौ कुरा
मुखै मात्र मीठो रैछ
भित्र धारी छुरा
जीउको नाश धनको कती
यस्तो चाल भो