कविता – सेतो लुगामा कालो

अरूका लागि भोकै बस्न
कठिन रहेछ !

सुनेर पनि नसुनेझैं गरिरहेछन्
भोगेर पनि नभोगेझैं गरिरहेछन्
देखेर पनि नदेखेझैं गरिरहेछन्
हात बाँधेर आफ्नो
केवल हेरिरहेछन् कतै 
र खोजिरहेछन्
आफ्नै नाभिको कस्तूरी !

चारैतिर शून्यता चलेका बेला
आवाज निकाल्न
ठूलै शाहस चाहिने रहेछ !

सानो हुँदा सिकाए–

सज्जन हुनू
ठूलो भएपछि पनि भनिरहे–
पेसामा निष्ठावान् हुनू
तिनका लागि लड्नू, जसलाई साँच्चै जरूरी छ !

सपथ लिएको पनि एकै हो–
सेतो लुगामा कहिल्यै कालो लगाउने छैनौं ।

मलाई कहिल्यै थाहा भएन
निष्ठाको परिभाषा कसरी फरक-फरक हुन्छ ?
कालो र सेतोको अनुहार उस्तै-उस्तै कसरी बन्छ ?

आफ्नै लडाइँ लड्न किन डराउँछन् मान्छे ?
किन हराउँछन् देशलाई चाहिएको बेला ?

लड्दा–लड्दै बेथितिविरूद्ध
म पागल भएँ
तर,
सज्जनहरूको बहुमतमा
पागल हुन त झनै कठिन रहेछ ।

अब एउटै डर छ-
मेरो मृ्त्युपछि
यी म्युट चेतनाहरूले
मलाई सहिद भनिदेलान् !

 

Source – http://baahrakhari.com

कविता – सम्बोधन

ए खहरे
बेफुर्सदी मान्छे तँ
मौसमी राग त उराल्नै पर्‍यो
आफू भित्र हेर्नु छैन
अरूलाई टेर्नु छैन
बाटो किन चिन्नु पर्‍यो
जता जता सोंर्‍याक पर्‍यो
उतैउतै दौडे भैगो
किन आँखा खोल्नु पर्‍यो
अन्धो को हात्ती भए पुगिहाल्छ
नूनमा ढुंगा मिलाए नि
चामलमा बियाँ मिसाए पनि
बाघसँग बाख्रा हिँडाए पनि
धेरै त हुन्छ पक्कै
राता र सेता वाहियात पो त
भेल त हुनै पर्‍योे
के काले के गोरे
अगाडि उभिए भैगो
के घूसखोरी
के हत्यारा
के दरबारिया
क्या मजा
सबै सारथी महान यात्राको
लिएर हिंड्न पाए भैगो।
ए खहरे
तेरा हुलका सारथीहरू,
जिउँदो लास पो त
चिसोले सुन्याएको रोगी पो त !
निमोनियाले गलाएको बालक पो त !
तँलाई के थाहा?
अँध्यारो भित्र
उज्यालो खोज्नेहरूको कथा
बेमौसमी यात्राको कथा
हूलसँग नझुक्नेहरूको कथा
क्षितिज उघार्नेहरू कथा

कविता – शिमल

शिमल जति बढे पनि घमन्डले चढे पनि
शिमल सेतै फुले पनि सेतै भुवा उडे पनि
अलि बढेर के भायो भुवा उडेर के भयो
सेतै फुलेर के भयो, सेतै झरेर के भयो
(१)
गुलाब मानको हुने शिमल फुलेर के हुने
घोचे पनि गुलाब हो शिमल बढेर के हुने
सेतै फुले के भयो न देवको न प्रित्तको
जति बढे नि के भयो न भित्रको न मित्रको
(२)
न काठको न फुलको न मोल तोलको कतै
न रंगको छ मोहनी छरेर बास्ना कतै
शिमल भुवा समानका न भित्र चित्त चेतना
शिमल बढे समानाका नि भित्र स्वच्छ भावना
(३)
बसन्तको बहार शिमल फुलेर आउला
शिमल बढेर ढुंगामा बसन्त राग गाउला
बनै शिमल मने शिमल शिमल छ चेतना पनि
छ अग्लिंदै कुकाठले बडो म भन्छ तैपनि
(४)
सेतो छ रंग फुलमा न बास्ना रंगको बसन्तको
दिगो दरो नदेखिने हुँदैन है जीवन्तको
नि टिप्नुको फुलेर मात्र के भयो
न लाएको न बिक्नु को टिढै गरेर के भयो
(५)
कुकाठ अग्लिंदै गए मोटो भएर के भयो
न गाबको न कामको ठूलै भएर के भयो
शिमल घमन्डमा फुले अदुरदर्शिता पनि
जति बढेर के भो शिमल घमन्डका धनी
(६)
शिमल जति बढे पनि मोटो कु काठ काम खै
ठूलो भएर के भयो लुतो कुकाठ नामकै
शिमल पलाउँदै गए महु बडा बडी रहँु
शिमल समानका हुँदै म उच्चमा चढिरहँु
(७)
कुकाठ सल्किंदै गए शिमल हल्लक हल्कियो
शिमल मोटोे हल्केको बढो विचित्र हल्कियो
दलिन नयाँ दरा बरा शिमल हेरेर हुन्न है
न शिरको न पीरको शिमल झरेर जान्छ है
(८)
शिमल झरेर के भयो क्षति रति हुँदैन है
न गाबको बढे पनि आदर्श भन्न हुन्न है
कति झरे कति छरे भुवा समान दर्शन
शिमल बढा म हुँ कैै घमन्ड फूल्छ जीवन
(९)
न छो न छो शिमल भुवा हावा बनेर उड्नु है
अझै अझङगका बनि शिमल समान बन्नु है
शिमल बढेर के भयो सेतै फुलेर के भयो
शिमल ढलेर के भयो शिमल बढेर के भयो

कविता – ब्लेकहोल र मेरो देश

मेरो देश परिवेश तिरै
बहुला दौडे जस्तै
र्‍याल बगाउँदै पुच्छर लुकाउँदै
अनाहारी शिशु माथि
सिंहराजले झम्टे जस्तै
झम्टिने योजना बोकेर
दिन दोब्बर रात चौब्बर
ब्लेक होल दौडिरहेछ
मेरै देशतिर मेरै परिवेश तिर
खै प्रतिवादको फर्मुला
त्वम शरंणं प्रार्थना गर्दै
कायन बाचा भन्दै
नदीको जलले
तराईको मलिलो माटोले
सिमारेखा वरिपरी
जजो गर्दा छोटिएका हातहरूले
कुर्सीको लागि
त्वम शरणं मनहरूले
गंगाजल सेवन गर्दै
तुलसी मठको माटोले
अञ्जी भदै मान्छेहरू
प्रार्थना गर्दैछन्
खै त के भो? ब्लेकहोल आइरहेछ
ब्लेकहोलले सूर्यचन्द्र खान सक्छ
ताराहरू खान सक्छ
मलाई मात्र होइन
तिमीलाई पनि निल्न सक्छ
बलभद्रको किल्ला साक्षी छ
कांगडाको किला साक्षी छ
अमरसिंहको विवेक सँगै
वीरहरूको पथप्रदर्शन साक्षी छ
अब हामीले
मुटु साटौं बलभद्रसँग
खुकुरी मागौं
गज घलेहरूसँग
खुकुरी आफ्नै उदिनमा
उदाउन सक्छौं
अमरसिंहको विवेकले
प्रतिपाद गर्न सक्छौं
सबै भक्षी
ब्लेकहोलसँग
सर्वभक्षी
ब्लेकहोल सँग

कविता – विवशता

एउटा फरक यात्रामा निस्किरहँदा
वासनादार
फूलका सुगन्धहरुले
स्वागतका मुस्कान छरिरहे।
सिमसिमे
बर्षातका लहरहरुले
निस्किरहने फोहोर धोइरहे।
अप्ठ्यारा
पहाडका गोरेटाहरुले
गजबको ताली ठोकिरहे।
गरीबका
निचोरिएका आँखाहरुले
परिवर्तनको आशा बोकिरहे।
निम्छरो
निभिरहेका चूलाहरुले
उज्यालोको अनुभूति खोजिरहे।
अफसोच!
यात्राका बीचहरुमा
बाटोका घुम्तीहरुमा
भुल्भुलैयाहरु
अवरोध बनी अल्भि्करहे।
छिस्केनी मात्र होइन
काँडेतारका तारबार भित्र
दबिएका मह140वकांक्षाहरु
इच्छाशक्तिका तासहरु
उभिएर रोक्न खोजे
ठट्टा गर्न खोजिरहे।
त्यतिबेलै
तिमीहरु सबै
गर्ल्यामगुर्लुम ढलिरहँदा
म त एक्लै
उभिइरहें।

कविता – एउटा सपना देख्ने मान्छे

 

एउटा सपना देख्ने मान्छे
एक दिन उसले
एउटा सपना देख्यो
संघीयताको !
संघीयता भित्र आफ्नो राज्यको !
त्यो राज्य भित्रको उ एउटा हकदार !!!
त्यसैले
उ आफ्नो राज्यको मनोरम पहाडवाट
सेता झर्नाहरू खसेको देख्यो
पाखाहरूमा चेलीहरूको मिठो भाका पायो
चौपारी र देउरालीहरूमा
वाँसुरीको गुन्जन सुन्यो
हरिया डाडा माथी
गुरासका थुड्डा चुम्दै
आफ्नो राज्य भित्र
रातो घाम उदाएको देख्यो।
राज्य प्राप्तीका उल्लास सँगै
रड्डीन वेलुनहरू आकासमा उडाएर
आफ्नो राज्यको नागरीकहरूले
भव्य उत्सव मनाएको हेर्यो।

अर्को दिन उसले
फेरी पनि सपना देख्यो
उही संघीयताकोे !
जहाँ हर्केले वन्दुक वोकेर गर्जदै थियो ,
“यो मेरो राज्य हो।”
फरी अर्को ठाउँमा विर्खेले खुकुरी नचाउँदै थियो,
“मेरो राज्य खोई?”
एउटा सपना देख्ने मान्छे
उसको सपनामा
उसले भाला र लाठी वोकेका
रक्तरञ्जित मान्छेहरू देख्यो
धनुकाँद भिरेका
आदिवासी जनजातिहरू देख्यो
उसको सपनाको यो अध्यायमा
वेलुन उडेको आकाशभरी
लडाकु विमान हरूको आतंक मडारियो
यसरी उ आफ्नो राज्यको कालो पहाडवाट
रगतको खोला वगेको देख्यो
पाखाहरूमा चेलीहरूको रोदन र चित्कार सुन्यो।

देउराली र चौपारीहरूमा
युवाहरूको विभत्स लाश भेटयो
उसले देखेको संघीयताको सपनामा
उसको राज्यको मनोरम पहाड भत्कीयो
गुराँसका थुड्डाहरू सवै झरे
उसको राज्यको देउराली र चौपारीहरू पनि हराए
उसको राज्यको रातो घाम
क्षितिज पारी गएर विलायो
संघीयताको महाद्धन्दवाट निस्किएको
अशान्तिको शोक धुन सँगै
उसको राज्यको मानचित्रै समेत मेटियो

अचम्म !
उस्तैमा उसको सपनाको
अर्को नविन अध्याय शरू भयो।
एउटा सपना देख्ने मान्छे
अव उसको सपनामा
आकाश थर्काउने मेघको गर्जन सँगै
मोर्चामा उभिएका सहासिला योद्धाहरू देख्यो
धर्ती हल्लाउने भुइचालुका संर्घष सँगै
न्यायप्रेमी जनताहरूका आँतीला पदचाप देख्यो
उसले ज–जसलाई देख्यो
उनिहरूको एउटै हुँकार थियो
संघीयता चाहिंदैन !
यो हुँकार झन् झन् बुलन्द हुदै थियो
मान्छेहरूको पदचाप झन् झन् तेज हुँदै थियो।
अखन्ड नेपालको रक्षा गर्न
अव उसको सपनामा
हर्के पनि कुर्लदै सामेल भएको देख्यो
विर्खे पनि हर्के सँग जुर्रमुराएको पायो
एउटा सपना देख्ने मान्छे
उ पनि के काम थियो र?
संघीयता चाहिदैन भन्दै
सवैभन्दा अगाडि मोर्चामा
रातो कात्रो बाँधेर उभियो।

कविता – खै के भनु?

अन्धकार चिर्दै
बन्धनहरू तोड्दै
अगाडि बढिरहेको बेला
अनेकौं मोडहरू पार गर्दै
शिखर चढिरहेको बेला
चटक्क यात्रा छोड्नेहरूलाई
ईतिहासलाई हिलो छ्यापी
ल73य मोड्ने हरूलाई
खै के भनु?

विजारोपण दोषको
के नौलो भयो र?
समय–समयका बर्बरहाटहरू
जसको प्रतिवाद तिमी पनि गर्‍यौ
उही पुराना शैलीले
उस्तै अफवा फैलाउँदै
रक्त रञ्जित झन्डा छोड्नेहरूलाई
सहयात्रीको नाता तोड्नेहरूलाई
खै के भनु?

अवसरवादका लप्काहरूलाई
विचारको रातो टालोले छोप्दै
महल पजेरो खोज्नेहरूलाई
सरल बाटो रोज्नेहरूलाई
खै के भनु?

पदप्रतिष्ठाको निम्ति
ऐस आरामको निम्ति
भित्र–भित्र सडेर
गिद्ध घुमाउनेहरूलाई
यात्राको नियम तोडेर
साहसको गाथा सुनाउनेहरूलाई
खै के भनु ?
खैके भनु?