कविता – अल्जेछ क्यारे पछ्यौरी

bhupi-serchan
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

आउँछे कि चेली भनेर आमा दोबाटो धाइथिन्
तीजमा पनि बिर्सेछ क्यारे गरीब माइती
सल्लाझै आमा सुसाइरहिन, एक्लै कोठामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

छोरीलाई आशीष हाल्न पाइन अन्तिम सासैमा
भन्थे नि बाबाले आँसु झारी टिकाको थालीमा
त्यै आँसु टिका पठाइदिऊँ कि, प्रवासको पातमा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा

भन्थे नि दाइले भाइटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो ईन्द्रेणी लर्केला
दिनभरि काग कराइरह्यो, बेलको ठुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा